बाँके निकुञ्जबाट आएको बाघले कुसुम गाउँमा पसेर मान्छे खायो
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २८ सोमबार
1k
Shares
नेपालगन्ज । बाँके राष्ट्रीय निकुञ्जबाट आएको पाटेबाघले एक जनालाई मारेर खाएको छ। पाटेबाघले राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुम नजिकै रहेको गाभर गाउँमा भेरी राप्ती स्टाफ होटलमा काम गर्ने ब्यक्तिलाई मारेर खाएको हो।
आइतबार बेलुकीदेखि हराइरहेका अन्दाजी ४५ बर्षका ‘भैया’ भनेर सबैले माया गरेर बोलाइने ती ब्यक्तिको खोजीकार्य गर्दा सोमबार बिहान आधा शरीर पाटेबाघले खाइसकेको अवस्थामा राजमार्गबाट करिव पाँच सय मिटर उत्तरतर्फ निकुञ्जभित्र फेला परेको प्रहरीले जानकारी दिएको छ ।
बाघ आइतबार दिनभर गाभर गाउँ नजिक आएर कराइरहेको र सोही दिन साँझ नै गर्मी छल्न होटेलदेखि नजिकैको पुलमा आएर बसेको बेला ती ‘भैया’ भन्ने ब्यक्तिलाई झम्टेर जङ्गलभित्र लगेर बाघले मारेको प्रहरीले बताएको छ । त्यहाँका स्थानीयहका अनुसार दुई दिनअघि मात्र बाघले गाउँमा बाख्रा र बाच्छो मारेको हो। त्यस निकुञ्ज भित्र दुई जोडी पाटेबाघ रहेको समेत स्थानीयहरुले जानकारी दिएका छन् ।
त्यहाँका युवाहरुले समेत बाघ गाउँ नजिक दैनिक रुपमा आइरहेको बताए। ती ब्यक्तिको शव फेला परेको स्थानमा प्रहरी, जनप्रतिनिधि, स्थानीय जम्मा भएका छन् । बाघ यसरी दैनिक रुपमा गाउँ नजिक आउने भएका कारण त्यहाँका स्थानीय मात्र नभएर मोटरसाइकलमा यात्रा गर्ने यात्रुहरु पनि बाघको सिकार हुने सम्भावना बढेर आएको प्रष्ट देखिन्छ ।