काठमाडौं । विश्वकप छनोट फुटबलमा पोर्चुगलले कीर्तिमानी खेलाडी क्रिष्टियानो रोनाल्डो बिना नै शानदार जित निकाल्न सफल भएको छ । युरोपेली समूहको छनोटमा पोर्चुगलले रोनाल्डो बिना मंगलबार राति अजरबैजानलाई ३–० गोल अन्तरले हराएको हो ।
राष्ट्रिय टिमबाट कीर्तिमानी १११ गोल गर्ने विश्वकै एकमात्र खेलाडी रोनाल्डोले आयरल्याण्डविरुद्धको खेलमा २ गोल गरेर खुशी मनाउने क्रममा पहेँलो कार्ड खाएपछि दोहोरो पहेँलो कार्डसहित अजरबैजान विरुद्धको खेल गुमाएका हुन् ।
अजरबैजान विरुद्धको खेलमा बर्नार्डो सिल्भाले २६ औं मिनेटमा गोल गर्दै शुरुआती अग्रता दिलाए । आन्द्रे सिल्भाले ३१ औं मिनेटमा पोर्चुगलको अग्रता दोब्बर बनाए । ७५ औं मिनेटमा जोटाले गोल गर्दै पोर्चुगललाई जिताए ।
जितसँगै पोर्चुगल समूह ए को शीर्ष स्थानमा पुगेको छ । पाँच टिम सहभागी समूहमा ५ खेलबाट पोर्चुगलको १३ अंक छ । मंगलबार राति नै आइरल्याण्डले सर्वियासँग १–१ को बराबरी खेल्यो । बराबरीले सर्विया ११ अंकसहितन दोस्रो स्थानमा छ ।
लग्जेम्बरको ६, आयरल्याण्डको २ तथा अजरबैजानको १ अंक छ ।