अविरल बर्षाका कारण काठमाडौंमा ३८५ घर टहरा डुवानमा, २३२ को उद्धार
सात जिल्लाका सिडिओलाई गृहमन्त्रीको टेलिफोन
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २१ सोमबार
890
Shares
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सात जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई टेलिफोन गरेर जिल्लामा भएका घटनाबारे जानकारी लिएका छन् ।
उनले टेलिफोनमा निरन्तरको वर्षातका कारण आएको बाढी, पहिरो र भएको डुवानमा परेकाहरूलाई उपलब्ध स्रोत साधनको भरपुर उपयोग गरी उद्धार गर्न, राहत उपलब्ध गराउन र खतराको सम्भावना नभएको स्थानमा सार्न निर्देशन दिएका छन् ।
गृहमन्त्री खाँणले रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई टेलिफोन गरेर रातभर लगातार परेको वर्षातका कारण आएको पहिरो र बाढीको असरबारे जानकारी लिएका हुन् ।
प्रमुख जिल्ला अधिकारी सापकोटाका अनुसार जिल्लाको रोल्पा नगरपालिका १० बाम्लामा पूर्णबहादुर थापाको घर पहिरोले भत्काउँदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । प्रजिअ सापकोटाले ७० वर्षीय गौरी थापा र पाँच वर्षीय हिमाल रोकाको मृत्यु भएको जानकारी दिए । घटनामा हिमाका बाबु मनबहादुर रोका र आमा भिमकुमारी रोका घाइते भएका छन् । मनबहादुरको अवस्था गम्भीर रहेको र उहाँलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले अस्पतालसम्म पुर्याएको उनले बताए ।
त्यस्तै जिल्लाकै सुनिल स्मृति गाउँपालिका–४ मा फगाम खोला गाँउमा वीरबहादुर घर्तीको ग्यारेजमा पसेर रा१ख २०६८ नम्बरको बस बगाएको छ । त्यस्तै मन्त्री खाँणले काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई टेलिफोन गरेर रातभरको वर्षातपछिको अवस्थाबारे जानकारी लिए ।
प्रजिअ पराजुलीले अहिलेसम्म जिल्लामा ३८५ घर टहरा डुवानमा परेको, २३२ जनाको उद्धार गरिएको र एउटा झोलंगे पुलमा असर पुर्याएको जानकारी मन्त्रीलाई गराएको जानकारी दिए । मुख्यगरी जिल्लाका १० स्थान डुवानमा परेको जानकारी मन्त्री खाँणले गराएको जानकारी दिए ।
ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई टेलिफोन गरेर नख्खु कारागारमा भएको अवस्थाबारे जानकारी लिएका छन् । कारागारमा हिजो अपरान्ह चौकिदारले बेथिति मच्चाएको भन्दै कैदीबन्दीले नाराबाजी गरेको सूचना आएपछि गृहमन्त्री खाणले त्यसबारे जानकारी लिएका हुन् ।
प्रजिअ निरौलाले चौकिदारहरूको विरोधमा कैदीबन्दीले नारावाजी गरेको र रातभरमा दुवै समूहबीच सहमति गराएर अवस्था सामान्य बनाएको जानकारी मन्त्री खाणलाई गराएको बताए । ‘नख्खु कारागारमा देखिएको अवस्थाबारे मन्त्रीज्यूले जानकारी लिनुभएको थियो,’ प्रजिअ निरौलाले भने, ‘केही अवस्था असहज देखिएको थियो । अहिले सहमतिमा सामान्य बनाएको जानकारी गराए ।’
मन्त्री खाँणले निरन्तरको वर्षातका कारण आएको बाढी, पहिरो र भएको डुवानको असरबारे कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुली र भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईसँग जानकारी लिएका छन् ।
उनीहरुले जिल्लामा रहेको अवस्थाबारे जानकारी गराउनु भएको मन्त्रीज्यूको सचिवालयले जनाएको छ । सबै प्रजिअहरूलाई उनले प्राकृतिक विपत्तिमा परेका नागरिकलाई राहत, उद्धार उपलब्ध स्रोत साधनको उपयोग गरेर गर्न निर्देशन दिए ।