यौनिक तथा लैंगिक अल्पसंख्यकको समस्या समाधान गर्न गृहमन्त्री प्रतिबद्ध
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २१ सोमबार
1.3k
Shares
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले यौनिक तथा लैंगिक अल्पसंख्यक महासंघ नेपाल र निलहिरा समाजका समस्या समाधान गर्न पहल गर्ने बताएका छन् ।
गृह मन्त्रालयमा आएका महासंघ र समाजका प्रतिनिधिहरूसँग गृहमन्त्री खाणले माग पूरा गर्न के गर्न सकिन्छ छलफल गरेर अगाडि बढ्ने बताए । मन्त्रीसँगको भेटमा आफूहरूका माग राखेको र मन्त्रीले समस्याको समाधान गर्न पहल गर्ने बताएको निलहिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले बताइन ।
टोलीले गृहमन्त्रीसँग तेस्रो लिंगीलाई नागरिकता पाउन गाह्रो भइरहेको भन्दै सहज बनाइदिन आग्रह गरेको थियो । त्यस्तै वैवाहिक समानता दिने विषयमा सरकारले समिति बनाएर तयार भएको प्रतिवेदन महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा थन्किएकोले त्यसलाई अगाडि बढाउन प्रतिनिधिले आग्रह गरेका थिए ।
अल्पसंख्यकको परिभाषामा यौनिक तथा लैंगिक अल्यसंख्यकलाई नसमेटिएको भन्दै उनीहरूले ध्यानाकर्षण गराएका थिए । त्यस्तै आफूहरूले जनगणनाका सन्दर्भमा आगामी आइतबार र सोमबार जिल्ला–जिल्लामा कार्यक्रम गर्न लागेको भन्दै त्यसमा समन्वयन गर्न जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्न पनि आफूहरुले माग गरेको समाजकी कार्यकारी निर्देशक ढकालले जानकारी दिइन । टोलीको मागमा अवस्था के हो बुझेर समस्या समाधानका लागि पहल गर्ने मन्त्री खाणले बताए ।