सन् १९९३ पछि विश्वकप छनोटमा स्पेन पहिलो पटक पराजित
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १८ शुक्रबार
480
Shares
काठमाडौं । विश्वकप छनोट फुटबलमा स्पेनको लामो समयदेखिको अपराजित यात्रा तोडिएको छ । स्पेनले पछिल्लो २८ वर्षमा पहिलो हार व्यहोरेको हो । उसले बिहीबार राति युरोपियन छनोट अन्तर्गत स्वीडेनसंग २–१ गोल अन्तरको हार व्यहोरेको हो ।
स्पेनले ६६ खेलमा अपराजित यात्रा बनाएकोमा त्यो यात्राले विश्राम पाएको छ । स्पेन सन् १९९३ मा डेनमार्कसँग पराजित भएपछि निरन्तर जित या बराबरी खेल्दै आएको थियो ।
२८ वर्षमा पहिलो पटक विश्वकप छनोटको खेलमा पराजित भएको हो । सन् १९९३ यता स्पेनले विश्वकप छनोटमा ६६ मध्ये ५२ खेल जित्दा १४ खेल बराबरी गरेको थियो ।
स्वीडेन विरुद्धको खेलमा कार्लोस सोलरको गोलमार्फत स्पेनले प्रारम्भिक अग्रता लिएको थियो । तर कमजोर डिफेन्सको फाइदा उठाउँदै गोल खाएको १२ सेकेन्ड लगत्तै अलेक्जेन्डर इसाकले गोल गर्दै स्वीडेनलाई बराबरीमा ल्याए ।
५७ औं मिनेटमा डेजान कुलुसेवस्कीको पासमा विक्टर क्लेसनले गोल गर्दै स्वीडेनलाई कीर्तिमानी जित दिलाए । यो हारसँगै स्पेन समूह बीको दोस्रो स्थानमा छ ।