कास्की र तनहुँको पहिरोबारे गृहमन्त्रीद्वारा टेलिफोनमार्फत जानकारी
कास्कीमा पहिरोमा परी दम्पत्तिसहित पाँच जनाको मृत्यु, एक बेपत्ता
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १७ बिहिबार
915
Shares
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले कास्की, तनहुँ र दाङका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरी जिल्लामा भएका घटनाबारे जानकारी लिएका छन् ।
उनले कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यसँग लगातारको वर्षातपछिको पहिरोले पुर्याएको क्षतिबारे जानकारी लिएका हुन् भने दाङमा बिहान भएको कार दुर्घटनाबारे प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङसँग जानकारी लिएका हुन् ।
मन्त्री खाँणले प्राकृतिक बिपत्तिमा परेका नागरिकको जीवनको रक्षाका लागि उपलब्ध स्रोत साधनको उपयोग गरेर काम गर्न निर्देशन दिए । र अहिलेसम्मको अवस्थाबारे जानकारी लिएका हुन् । उनले अहिलेसम्मको कामको प्रशंशा गर्दै अब त्यो भन्दा राम्रो काम हुने आशा व्यक्त गरे ।
तनहुँका प्रमुख जिल्ला अधिकारी आचार्यले मन्त्रीले टेलिफोनमा जिल्लाको भानु नगरपालिकाको वडा नम्बर ११ मा मानेचौकामा गएको सुख्खा पहिरोबारे जानकारी लिएको बताए ।
प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार बुधबार गएको सुख्खा पहिरोबाट दलित परिवारका १२ घर जोखिममा परेका छन् । उनीहरूलाई सुरक्षित स्थानमा सारिएको आचार्यले जानकारी दिए । ती परिवारका लागि अस्थायी टहरा बनाउने काम सशस्त्र प्रहरीले गरिरहेको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले पोखरा महानगरपालिकाको वडा नम्बर २० र ११ मा गएको पहिरोमा परी पाँच जनाको निधन भएको जानकारी दिए । एक जना बेपत्ता भएका छन् । पहिरोले पुर्दा ढलानका दम्पत्ति कृष्ण श्रेष्ठ र सुन्तली तामाङको निधन भएको गौतमले जानकारी दिए । उनका अनुसार उनीहरूका छोरा सन्तोष श्रेष्ठ बेपत्ता छन् ।
त्यस्तै महानगरपालिकाकै वडा नं ११ नमुना टोलमा पहिरोले पुर्दा ४२ वर्षीय लक्ष्य नेपाली, अन्दाजी ४० वर्षीय विष्णु सार्की र उनका नाम नखुलेका छोराको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिए । पाँच जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । बेपत्ताको अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार कार्य जारी राखेको छ ।
दाङमा सिस्ने खोलाले ३–०१–०२४ च ४४४० नम्बरको कार बगाउँदा बिमला केसी घोराही उपमहानगरपालिका १५का बिमला केसी र राधा कुँवर तथा घोराही उपमहानगर पालिका १३ का नितामाया पुन र सुशीला श्रेष्ठको निधन भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । कारका चालक नरबहादुर पुन घाइते छन् ।