लहान नगरपालिकाका कार्यकारी अधिकृत भुसालविरुद्ध प्रधानमन्त्री समक्ष उजुरी, तत्काल दण्डित गर्न माग
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १६ बुधबार
615
Shares
काठमाडौं । सिरहाको लहान नगरपालिकाका कार्यकारी अधिकृत खेमानन्द भुसालले विगत दुई बर्षदेखि नगरपालिकामा चरम अनियमितता गरी ‘तान्डब’ मच्चाएको भन्दै विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दिएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट मेयरको ‘मतियार’ बनी भुसालले भ्रष्टाचार गरेको, कानुन विपरित र अनियमित रुपमा शिक्षकहरुको सरुवा गरेको, चार दल निकट शिक्षकहरुलाई अनावश्यक दुःख दिने गरेको, चार दलबाट विजयी भएको वडामा असमान बजेट विनियोजन गरेको, अनियमित रुपमा करारमा कर्मचारी भर्ना गरेको लगायतको आरोप लगाउँदै उजुरी दिएका हुन् ।
नगर समितिका तर्फबाट नेपाली कांग्रेसका नगर सभापति, सुनिल कुमार महतो, माओवादी केन्द्रका विजय कुमार गुप्ता, जनता समाजवादी पार्टीका नगर अध्यक्ष दिनेश महतो, नेकपा(एकीकृत समाजवादी)का विनोद साहको संयुक्त हस्ताक्षरमा मंगलबार प्रधानमन्त्री कार्यालयमा उजुरी दिएका हुन् ।
उनीहरुले नगरपालिका भित्रका विभिन्न नदीहरुमा नदीजन्य सामग्रीको निकासी चाइनिज कम्पनीलाई न्यून मूल्यमा दिइ मेयरलाई आर्थिक लाभ गराएको, नगरपालिकामा ३० बर्षदेखि कार्यरत स्थायी लेखा अधिकृत मायानाथ आचार्यलाई अनियमितताको विरोध गरेको निहूँमा जिम्मेवारीबाट हटाएको आरोप लगाएका छन् । उनीहरुले भुसालको चंगुलबाट नगरपालिकालाई मुक्त गराउन माग गरेका छन् । साथै भुसाललाई दण्डित गरी दुई दिनभित्र नयाँ कार्यकारी अधिकृत पठाइदिन सरकारसँग माग समेत गरेका छन् ।