स्थानीयको अवरोधले बुटवल बजार दुर्गन्धित, एक सातादेखि सडकमा फोहोर थुप्रिँदै
नारायण वली,
प्रकाशित २०७८ भदौ १६ बुधबार
1.1k
Shares
रुपन्देही । बुटवलको तीनकुने चोक स्थित शिव पथका महेश्वर श्रेष्ठ घरमा राखेको लामो समयको फोहोरले घर दुर्गन्धित भएको बताउँदै, नगरपालिका द्वारा सञ्चालन हुँदै आएको फोहोर उठाउने ट्याक्टरको पर्खाइमा छन् ।
तर उनको पर्खाइले सीमा पार गरिसकेको छ, घरमा राखेको फोहोरमा किरा पर्न थालिसकेको र गन्ध पनि दिनप्रति दिन बढ्दै गएकाले घरमा बस्न निकै गाह्रो भएको बताए ।
केहिदिन यता करिब एक हप्ता देखि बुटवल उपमहानगरले फोहोर उठाउने ट्याक्टर नगरमा नपठाउँदा अहिले बुटवलको मुख्य सडक महेन्द्र राजमार्गमा छरपस्ट फोहोरका थुप्राले बजारलाई दुर्गन्धित बनाएको छ ।
उपमहानगरले पछिल्लो समय फोहोर उठाउन छोडेपछि बजार तथा गल्ली र घरहरूमा राखेको फोहोर स्वास्थ्यका लागि हानिकारक बन्दै गएको स्थानीयहरूको भनाई छ ।
उपमहानगरपालिकामा दैनिक ५३ टन भन्दा बढी फोहोर उत्पादन हुने र सो फोहोरलाई स्थायी रूपमा फाल्ने उचित व्यवस्थापन नहुँदा अस्थायी रूपमा फाल्दै आइएको बुटवलको हात्ती सुँडका स्थानीयहरू दुर्गन्ध मात्रै नभई फोहोर बाट उत्पन्न ग्याँसका कारण आगलागी हुने समस्या बाट पनि पीडित हुँदै आएको स्थानीयहरू बताउँछन् ।
पछिल्लो समय पानी धेरै परेको र फोहोरले गर्दा हात्ती सुँडमा धेरै दुर्गन्ध फैलिएकाले अहिले त्यस क्षेत्रका स्थानीयहरूले फोहोर फाल्न रोक लगाए पछि बुटवल उपमहानगरमा झन्डै एक साता देखि फोहोर उठ्न सकेको छैन ।
लामो समय फोहोर उठ्न नसकेपछि व्यापारी, स्थानीय, पैदल यात्री र सवारीमा समेत हिड्डुल गर्नेहरू प्रभावित बन्न पुगेका छन् । स्थानीय तहको निर्वाचनका वेला स्थायी एवं उचित डम्पिङ साइडको निर्माण गरिने भनेर घोषणा पत्रमा प्रतिबद्धता समेत जनाइए पनि तर, हाल सम्म उक्त प्रतिबद्धता पुरा हुन् नसक्दा स्थानीयहरू बाध्य भएर अव्यवस्थित फोहोर फाल्ने कार्यलाई रोक लगाएको नाम नबताउने सर्तमा हात्ती सुँडका एक व्यक्तिले भने ।
बुटवल उपमहानगरले नगरलाई डिजिटल र नमुना सहरको रूपमा विकास गर्ने लक्ष्य अगाडी सारे पनि तर उपमहानगरले फोहोर व्यवस्थापन जस्ता कार्यलाई समाधान गर्न नसक्दा सो लक्ष्य प्राप्ति हुन कठिन हुने स्थानीयहरूको जिकिर छ ।
यस्तै, लामो समय नगरका प्रमुख एवं अन्य सडक र गल्लीहरूमा फोहोरको थुप्रो जम्मा भएको बारे बुटवल उपमहानगरकारलाई सम्पर्क गर्दा,फोहोर व्यवस्थापनका लागि गृहकार्य भइरहेको र समस्या समाधानका लागि विकल्प बारे छलफल भइरहेको जनाएको छ ।
बुटवल उप महानगरपालिका वडा ११ स्थित हात्तीसुडका स्थानीयहरूले अव्यवस्थित डम्पिङ साइडमा फोहोरको अत्यधिक मात्रामा दुर्गन्ध र बस्न नसक्ने समेत हुँदा पनि दीर्घकालीन व्यवस्थापन बारे उप महानगरले चासो नदिएको भन्दै, फोहोर फाल्न विरोध जनाए पछि अहिले फोहोर घर र गल्लीमा सीमित हुन पुगेको छ ।
अव्यवस्थित डम्पिङ साइडमा फोहोरलाई माटोले पुर्ने र दुर्गन्ध आउन नदिने गरे पनि, सो स्थानमा फोहोर फाल्नका लागि स्थानीय र उपमहानगर बिच गरिएको सम्झौता कार्यान्वयन नभएको स्थानीयहरूले बताएका छन् ।
२५ करोड ३२ लाख फिर्ता
उपमहानगरमा व्यवस्थित डम्पिङ साइड सञ्चालन गर्नका लागि २५ करोड ६२ लाख रुपैयाँ लागतमा एकीकृत फोहर मैला प्रशोधन केन्द्र परियोजना निर्माण गर्ने योजना अगाडी सारिए पनि, निर्माण स्थलको व्यवस्थापन गर्न नसक्दा सो रकम फिर्ता हुन पुगेको पाइएको छ ।
जेडआईईसी-पप्पु जेभी सँग बुटवल उपमहानगर र देवदह नगरपालिकाको सीमा क्षेत्र स्थानीय शिव नगर सामुदायिक वनमा बनाउने भनेर सम्झौता गरिए पनि सन् २०१४ डिसेम्बर सम्म १ वर्ष ७ महिना समय सीमामा तोकिए पनि तर काम हुन नसक्दा सो रकम अन्ततः फिर्ता भएको बताइएको छ ।