दार्चुला घटना छानबिन प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध: गृहमन्त्री खाँण
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १५ मंगलबार
1.7k
Shares
फाइल तस्विर।
काठमाडौं। दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनाको सत्य तथ्य पत्ता लगाउन गठित छानबिन समितिले आफ्नो प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको छ ।
पटक पटक म्याद थप हुँदासमेत प्रतिवेदन बुझाउन नसकेको भनेर आलोचना खेपेको समितिले आज गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझ्दै गृहमन्त्री खाँणले त्यसको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले प्रतिवेदन कार्यान्वयनको प्रक्रिया थाल्न गृह सचिव टेकनारायण पाण्डेलाई निर्देशन दिए ।
नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध रहेको भन्दै मन्त्री खाँणले स्थलगत रूपमा पुगेर तयार पारिएको प्रतिवेदनले नागरिकमा विश्वास जगाउनेमा आशावादी रहेको बताए । संवेदनशील विषयमा तयार पारिएको प्रतिवेदन आगामी दिनका लागि पनि मार्गदर्शन बन्ने मन्त्री खाँणको विश्वास थियो ।
प्रतिवेदनमा समेटिएका कतिपय सुझावलाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्ने भएमा त्यसका लागि मन्त्रालय तयार रहेको पनि उनले बताइ । मन्त्री खाँणले तत्काल कार्यान्वयन गर्न भन्दै उक्त प्रतिवेदन गृह सचिव पाण्डेलाई हस्तान्तरण गरे ।
उक्त घटनाको अध्ययनका लागि मन्त्रालयले सहसचिव जनार्दन गौतमको संयोजकत्वमा सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी सदस्य रहेको समिति गठन गरेको थियो ।
गत साउन १७ गते गठित उक्त समितिलाई सत्य तथ्य पत्ता लगाई प्रतिवेदन पेश गर्न मन्त्रालयले १० दिनको कार्यादेश दिएको थियो । साउन १८ गते टोली स्थलगत अध्ययनका लागि त्यसतर्फ गएको थियो । छानबिन नसकिएकाले मन्त्रालयले समितिको म्याद तीन पटक थप गरेको थियो । यसअघि गएको साउन २५ तथा भदौ १ र ८ गते समितिको म्याद थप गरिएको थियो ।
साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका–२ स्थित तुइन तरेर भारत जाने क्रममा खसेर धामी नदीमा बेपत्ता भएका थिए । पीडित पक्ष तथा स्थानीयवासीले भने भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिएका कारण खसेको आरोप लगाएका छन् भने कतिपयले डोरी फुस्काइदिँदा नदीमा खसेको बताउँदै आएका छन् ।