arrow

लागू औषधको ‘ट्रान्जिट प्वाइन्ट’ नेपाल : विदेशी गिरोह नै नेपालमा, फोनबाटै ओसार पसार

विद्यार्थीको आवरणमा दुई वर्षदेखि कोकिनको कारोबार

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ भदौ १५ मंगलबार
Cocaine-nepal-transit.jpg

काठमाडौं। लागू औषधको कारोबारमा संलग्न विदेशी नागरिकले नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाउँदै लगेका छन् । लागू औषधको कारोबारमा पछिल्लो समय विदेशी नागरिकको गिरोह नै नेपालमा सक्रिय हुन थालेको छ । मुख्यगरी कोकिन नामको लागू औषधलाई नेपालको ‘ट्रान्जिट प्वाइन्ट’ बनाउने गरिएको छ । 

हवाई यातायातमार्फत नेपाल आउन र आफूले ल्याएका पदार्थ नेपालबाट भारततर्फ निर्यात गर्न सहज हुने भएपछि विदेशी नागरिकले नेपाललाई लागू औषधको ट्रान्जिट प्वाइन्ट बनाउँदै लगेका हुन्। यस्तै पछिल्लो समय यसरी ल्याइएका पदार्थको खपत नेपालमासमेत बढ्न थालेको छ । 

नेपाल प्रहरीको लागू औषध ब्युरोका अनुसार पछिल्लो समय नेपालमा लागु औषध ‘कोकिन’को ओसारपसार बढी देखिएको छ । बोलिभिया, पेरु जस्ता दक्षिण अमेरिकी मुलुकमा उत्पादन हुने कोकिन ल्याउन विदेशी गिरोह नै सक्रिय हुँदै आइरहेका छन् ।

नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोका प्रवक्ता एसपी जीवन श्रेष्ठ नेपाल मुख्य ‘ट्रान्जिट प्वाइन्ट’ नभए पनि एउटा विन्दुका रूपमा भने विदेशी नागरिकले प्रयोग गर्दै आएको देखिएको बताउँछन् । 

‘नेपाल मुख्य ‘ट्रान्जिट प्वाइन्ट’ नभए पनि एउटा विन्दुका रूपमा भने विदेशी नागरिकले प्रयोग गर्दै आएका छन्, यो प्रक्रियामा ओसार पसारमा रहेको ‘क’ व्यक्तिले ‘ख’ लाई र ‘ख’ ले ‘ग’ लाई नचिन्न पनि सक्छ, तर तस्करीमा भने अनेक उपाय लगाउने गरेको देखिन्छ,’ ब्युरोका प्रवक्ता श्रेष्ठले भने । 

उनका अनुसार लागू औषध ल्याउने र पुर्‍याउने समयको अन्तराल भने उनीहरूले अनुकूल खोज्ने गरेका छन् । यस्तै ओसारपसारमा संलग्न व्यक्तिका बीच चिनजान र परिचय नभए पनि ओसारपसारका क्रममा उनीहरूले विभिन्न सङ्केतमार्फत फोन संवाद गर्ने गरेको पाइन्छ । 

यसरी नेपाल ल्याइने कोकिन ब्राजिलको साउपालो एयरपोर्ट हुँदै कहिले सिधै भारत र कहिले युएई र कतारमार्फत नेपाल ल्याइने गरिएको छ । लागू औषध कोकिन अत्यन्तै महँगो मध्येको लागू औषध पदार्थमा पर्दछ । 

यो पदार्थ विगतमा भने नेपाल ट्रान्जिट प्वाइन्ट हुँदै भारत निर्यात हुने गरेकोमा कमी आएको तर खपत बढेको नेपाल प्रहरीको आँकडाले देखाउँछ । तर पछिल्ला केही दिनदेखि फेरी निर्यातमा विदेशी गिरोह नै लागेको देखिन थालेको हो ।

नेपाल प्रहरीको आर्थिक वर्ष २०७७/०७८ को तथ्याङ्कले  कोकिनको बरामद ९१ दशमलव ६ प्रतिशतले घटेको देखाएको छ । प्रहरीले आर्थिक वर्ष २०७६/०७७ मा भने १४ केजी कोकिन बरामद गरेको तथ्याङ्क देखाउँछ । 

आइतबार भने ब्युरोले एकै दिन करिब तीन किलो कोकिनसहित तीन जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार सो कोकिन करिब ९ करोड नेपाली मूल्य बराबरको हो । 

यसअघि गत १८ साउनमा पनि एक किलो १२ ग्राम कोकिन सहित नौ जना नेपालीलाई ब्युरोले विभिन्न स्थानबाट पक्राउ गरेको थियो । त्यसअघि सोही समूहसँग जोडिएका चार जनालाई प्रहरीले पक्राउ गरेको थियो भने उक्त घटनामा अर्का एक जना पछि पक्राउ परेका थिए । पक्राउ परेका ती भने सबै नेपाली नागरिक नै थिए । तर, सो कोकिन ल्याउने मुख्य व्यक्ति भने विदेशी नै रहेको अनुसन्धानमा खुलेको थियो । 

‘अपरेसन कोक-२’

लागू औषध नियन्त्रण ब्युरोले आइतबार नियन्त्रणमा लिएको कोकिनको सर्च अपरेसनलाई ‘अपरेसन कोक-२’ नाम दिएको छ । सो अपरेसनमार्फत ब्युरोले करिब तीन किलो कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको थियो । 

पक्राउ पर्नेमा अफ्रिकी नागरिक ३० वर्षीय शीर्ले गामा र भारतीय नागरिक विजय सिंह र तान्जेनियन नागरिक गेट्यूड लिनर्ड किमारो छन् । 

पक्राउ परेकामध्ये गामाले गत ३ भदौमा लागू औषध कोकिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ल्याएको सो अपरेसनमार्फत प्रहरीले खुलासा गरेको हो । ब्युरोका प्रवक्ता एसपी जीवन श्रेष्ठका अनुसार उनी कतार एयरवेजमार्फत नेपाल आएकी थिइन् ।

उनले सुटकेसभित्र फल्स बटम बनाएर कोकिन ल्याएकी थिइन् । सो सूचनाकै आधारमा प्रहरी नायब उपरीक्षक (डीएसपी) फणिन्द्र प्रसाईँको नेतृत्वमा खटिएको टोलीले उनी विमानस्थलबाट कमलादीस्थित होटेलमा पुगेपछिसमेत निगरानी राखेको थियो । 

प्रहरीका अनुसार होटेलमा जब कोकिन लिन भारतीय नागरिक विजय सिंह पुगे त्यसपछि प्रहरीले गामा सहितदुवैलाई पक्राउ गरेको हो । यो अपरेसन प्रहरीले पाएको विशेष सूचनाका आधारमा गरिएको थियो ।

सोही क्रममा कोकिन कारोबारमा किमारो पनि संलग्न रहेको खुलेपछि प्रहरीले उनकोसमेत पिछा सुरु गरेको थियो । सो क्रममा प्रहरीले दुई वर्षदेखि काठमाडौं बस्दै आएकी किमारोलाई भारत भाग्न लागेको अवस्थामा ९ भदौमा सिन्धुलीको खुर्कोटबाट नियन्त्रणमा लिएको थियो । 

विद्यार्थीको आवरणमा कारोबार

किमारो दुई वर्षदेखि काठमाडौं बस्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनी विद्यार्थी भिसामा दुई वर्षदेखि काठमाडौंमा थिइन् । प्रदर्शनीमार्गस्थित विश्व भाषा क्याम्पसमा नेपाली भाषा सिक्ने आवरणमा उनी नेपाल रहँदै आएको प्रहरीले बताएको हो ।  

विश्व भाषामा नेपाली भाषा सिक्ने र भित्री रूपमा कोकिनको कारोबारमा गिरोह नै चलाउने उनी क्षेत्रपाटीको एक घरमा मासिक २० हजारमा फ्ल्याट भाडामा लिएर बस्दै आएको प्रहरीले बताएको हो । उनले यहाँ बसेर भारतीय तस्करहरूसँग कनेक्सन गर्ने गरेको पछिल्लो घटनाले पुष्टि गरेको हो । 

‘विद्यार्थीको आवरणमा उनी दुई वर्षदेखि कोकिनको कारोबार गरेर नेपाल बसिरहेको देखिएको छ, किमारोले नेपाललाई ट्रान्जिट बनाएर भारतमा कोकिन पठाउने गरेको देखिन्छ,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारी भन्छन् । 

कोही ल्याउने कोही पुर्‍याउने 

प्रहरीले पक्राउ गरेका मध्ये गामाले कतारबाट नेपालसम्म कोकिन ल्याइदिने काम गरेको देखिन्छ । त्यसपछि भारतमा मध्यस्थकर्ता बनेर सम्पर्क स्थापित गर्ने र त्यहाँसम्म पठाउने काम किमारोले गर्दै आइरहेको अनुसन्धानमा खुलेको छ । 

के हुन्छ कारबाही ?

प्रहरीले पक्राउ गरिएका विरुद्ध लागु औषध नियन्त्रण ऐन-२०३३ अनुसार म्याद लिएर अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार कोकिन कारोबारमा संलग्नलाई १५ वर्ष जन्मकैद र ५ देखि २५ लाखसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

२०१९ डिसेम्बर २१ को त्यो दिन

२०१९ डिसेम्बर २१ को दिन ‘थ्रि ब्रदर्श’ नाम गरेको एक होटेलमा विदेशीहरू आएर बसेका हुन्छन् । उनीहरू कोकिनको कारोबारमा संलग्न हुन्छन् । त्यसै होटेलमा एक महिला काम गर्छिन् । 

ती काम गर्ने महिलालाई कोठा सफा गर्ने समयमा ती विदेशीले लगाएको ज्याकेट मन पर्छ र घर लिएर जान्छिन् । घर पुर्‍याएपछि ती महिलालाई ज्याकेट गह्रुङ्गो लाग्छ खोतल्दा र केही वस्तु भेटिन्छ । त्यो वस्तु के हो भन्ने उनले ठम्याउन नसकेपछि आफन्तको सहारा लिएर उनीहरू सो वस्तु पत्ता लगाउन लाग्छन् । सो वस्तु कोकिन भएको पुष्टि हुन्छ   र ठुलो रकम हात पर्ने लोभमा उनीहरू बजारको खोजीमा पुग्छन् । 

सो सूचना प्रहरीले पाएपछि उनीहरू प्रहरीको निगरानीमा पर्छन् । सोही क्रममा पहिले चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको हुन्छ । त्यसपछि भने प्रहरीले उनीहरूबाटै सूचना लिएर अन्यको खोजी सुरु गर्दा थप नौ जना पक्राउ पर्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ