arrow

११ जना यादवबाट ३ जना छान्न उपेन्द्र यादवलाई तनाव 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १३ आइतबार
upendra-yadav-election-commission-jasapa.jpg

जनता समाजवादी पार्टीमा मन्त्रीका आकाङ्क्षीहरूमा यादव समुदायका मात्रै ११ जना छन् । उनीहरूमध्ये ३ जनालाई मात्र छान्नु परेपछि अध्यक्ष उपेन्द्र यादवलाई निकै हैरान भएको छ ।

जसपाका मन्त्रीका आकाङ्क्षीहरू पार्टी अध्यक्ष उपेन्द्र यादव सहित महेन्द्र यादव, रेणु यादव, रामसहाय यादव, राज किशोर यादव, मृगेन्द्रसिंह यादव, रामबाबु यादव, सुरेन्द्र यादव, प्रदीप यादव, सूर्यनारायण यादव, प्रमीला यादव छन् । यी मध्ये मृगेन्द्र सिंह र प्रमीला यादव राष्ट्रिय सभाका सदस्य हुन् । ११ जनाबाट ३ जना यादव छान्न उपेन्द्र यादवलाई निकै सास्ती परेको स्रोतको भनाइ छ । 

पार्टी उच्च स्रोतका अनुसार यस पटक अध्यक्ष यादवले जसपाबाट सरकारमा प्रतिनिधित्व गर्नेहरूमा यादव समुदायबाट ३ जना र गैर यादव समुदायबाट ३ जना लग्ने सोच बनाएका छन् । गैर यादव समुदायबाट ३ जना छान्न उनलाई त्यति गाह्रो छैन । राजेन्द्र श्रेष्ठ, इस्तियाक राई र प्रमोद साहको नाम करिब करिब टुङ्गिएको स्रोतको भनाइ छ । 'तर यादव समुदायबाट ३ जना छान्न महाभारत छ’पार्टी एक नेताले भने । 

यादव समुदायबाट महेन्द्र यादव, मृगेन्द्र सिंह यादव, रामसहाय यादव, रेणु यादवलाई मन्त्रीमा सिफारिस गर्नै पर्ने बाध्यता उपेन्द्र यादवलाई आएको छ । केपी ओली सरकारमा मन्त्री भएकाहरूलाई यस पटक सरकारमा नपठाउने जसपाले नीति बनाएको छ । यो नीति कार्यान्वयन भएमा राज किशोरलाई मन्त्री बन्नबाट रोकिनेछन्। 

यसबाट उपेन्द्रलाई अलिकति थोरै राहत भएको छ । एक जना महिलालाई छान्नै पर्ने भएको छ । त्यसमा रेणुलाई छान्ने कि प्रमीलालाई छान्ने, अर्को समस्या भएको छ । महेन्द्र यादव र मृगेन्द्र सिंह यादवले सुरुमै कित्ता फेरेर महन्थ ठाकुर पक्षबाट उपेन्द्र यादवतिर गएका छन् । उनीहरूलाई पनि मन्त्री बनाउनु पर्ने बाध्यता यादवलाई छ । रामसहाय यादव अहिलेसम्म सरकारमा गएका छैनन् । उनलाई पनि मन्त्री बनाउनै पर्ने अवस्था छ । 

प्रदीप यादवले पहिलेदेखि नै अध्यक्षलाई घुर्क्याएको घुर्क्याउने छन् । प्रदीपलाई पनि छाड्ने अवस्था छैन । रामबाबु यादव, सूर्य नारायण यादव तथा सुरेन्द्र यादवले मन्त्री हुन पार्टी अध्यक्षलाई सुरुदेखि नै हुनसम्म चाकडी गरेका छन् । उनीहरूलाई पनि मन्त्री बनाउनु पर्ने छ । स्रोत भन्छ, यादव समुदायबाट मन्त्रीका आकाङ्क्षी छान्न पार्टी अध्यक्ष उपेन्द्र यादवलाई निकै तनाव भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ