arrow

एनआरएनएलाई चुनाव लाग्यो, कुल आचार्यको टिममा पर्न अभियन्ताहरुको दौडधुप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १० बिहिबार
kul-acharya-nrn.jpg

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० औं विश्व सम्मेलनमा आगामी कार्यकाल २०२१-२०२३ को लागि नेतृत्व चयन हुँदैछ ।अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका पदाधिकारीहरुको निर्वाचन अनलाइन प्रणालीबाट अक्टोबरमा हुन गैरहेको छ। गैरआवासीय नेपाली  संघ (एनआरएनए) को १० औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन अक्टोबर २३-२५, २०२१ मा हुँदैछ । नेपाल सरकारले अधिवेशनलाइ ब्यबस्थापन गर्न परराष्ट्रमन्त्रीको अध्यक्षतामा एक समिति गठन पनि गरिसकेको छ ।

यसपटक एनआरएनएको अध्यक्षमा सल्लाहकार कुल आचार्य र उपाध्यक्ष बद्री केसीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । रविना थापाले पनि अध्यक्षका लागि तयारी गरिरहेकी छिन् । केसी समूहबाट उपाध्यक्षका उम्मेदवारहरुमा धर्मराज अधिकारी, शिव बरुवाल, हेमराज शर्मा र गौरी जोशी रहेका छन्। सचिवमा राम शरण सिम्खडा, गंगाधार गौतम लगायत रहेका छन्। यसमा पनि हाल संघको नेतृत्वमा रहेर विवादमा परेका व्यक्तिहरुको बाहुल्य छ । केसी आफैं खाडीका प्रवासीलाई आईएलओले दिएको सहयोग रकम हिनामिना गरेको आरोप खेपिरहेका छन् ।

बद्री केसीलाई  यो पटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले समर्थन गर्ने भनिएतापनि ओली पक्षको एक पक्ष आचार्यलाई रोक्न नसकिने बरु मिलेर जान केसीलाई दबाब दिइरहेको बुझिएको छ ।

आचार्यको टिममा हेभीवेट उम्मेदवार

आचार्यको टिममा सबै हेभीवेट उम्मेदवारले तयारी गरिरहेका छन् । उपाध्यक्षमा वर्तमान उपाध्यक्ष मन केसी, वर्तमान कोषाध्यक्ष महेश श्रेष्ठ, हिक्मत थापा, एसी शेर्पा, त्रिलोक गुरुङ, जानकी गुरुङ, हिमाल गुरुङ र राज रेग्मी रहेका छन्। महासचिवमा डा.केशव पौडेल, सचिवहरुमा नारायण आचार्य, प्रविण गुरुङ्ग, भोमा लिम्बु, नारायण काफ्ले लगायत मैदानमा देखिएका छन्।

कोषाध्यक्षमा लोक दाहाल र सोम सापकोटा मध्ये एक, सहकोषाध्यक्षमा नविन शेरचन (खुला), जानकी पौडेल (महिला तर्फ) देखिएका छन्। त्यसैगरी महिला संयोजक जुनु गुरुङ र युवा संयोजकमा मनोज कुमार श्रेष्ठ गोर्खाली र बिमला सापकोटा मध्ये एक रहेका छन्।

संघमा यो पटक हेवीवेट मानिएका आचार्यले यो पटकको ५९ सिट मध्ये प्रवक्ता बाहेक पुरै ५८ सिटमा उम्मेदवार उठाउने भएका छन। आचार्यको टिममा पर्न पाए सुरक्षित हुने भन्दै धेरै उम्मेदवारहरु उनको टिममा पर्न दौडधूप गरिरहेका छन् । दलगत समर्थनका हिसाबले हेर्दा यो पटक आचार्यलार्र्इ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतले समर्थन गर्ने बचन दिइसकेका छन् । 

आचार्यले आफु अध्यक्ष  निर्वाचित भएमा लामो समयदेखि बांकी रहेको गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन गरि छाड्ने, एनआरएनहरुको नेपालमा रहेको सम्पत्तीको सुरक्षा गर्न कानूनी व्यवस्था गराउने, एनआरएनहरुको सिप, ज्ञान र पूँजी योजनावद्ध रुपमा नेपालमा लग्ने तथा संघका राष्ट्रिय समन्वय परिषदहरुलाई स्वायत्त र आत्मनिर्भर बनाउने जस्ता एजेन्डा अगाडी सारेका छन्।

यसैबीच आचार्य बलियो बन्दै गएपछि बद्री केसी पक्षले अघिल्लो चुनावमा आचार्यको टिमबाट चुनाव लडेर उपाध्यक्ष पदमा जित्न सफल रबिना थापालाई अध्यक्ष पदको उम्मेदवारको रुपमा प्रचार प्रसार गरिरहेको छ।  तर थापा आचार्यकै टीममा बसेर अर्को पटक अध्यक्षको निर्विवाद उम्मेदवार बन्नुपर्ने दबाबमा छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ