arrow

एनसेललाई डण्डा

एनसेलले गरेको ठगीमा प्राधिकरणको अहिलेसम्मकै ठुलो कारबाही, एक अर्ब ११ करोड ३ महिनाभित्र ग्राहकलाई फिर्ता गर्न निर्देशन

गेमलोफ्ट र हुवाये एप ग्यालरी सञ्चालन गरी एनसेलले चलाएको थियो ठगी 

logo
अजयबाबु शिवाकोटी/माधव चम्लागाई,
प्रकाशित २०७८ भदौ ४ शुक्रबार
ncell-hq.jpg.jpeg
फाइल तस्बिर

काठमाडौँ। निजी क्षेत्रको सबैभन्दा ठुलो टेलिकम कम्पनी एनसेललाई सर्वसाधारण उपभोक्ताको जानकारी विना अनधिकृत रूपमा रकम ठगी गरेको विषयमा नेपाल दूरसञ्चार प्राधिकरणले अहिलेसम्मकै ठुलो कारबाही गरेको छ। 

सर्वसाधारण उपभोक्ताको मोबाइलबाट उनीहरूको स्वीकृति नै नदिई ठगी गरी रकम कटाएर लाभ लिएको एनसेललाई प्राधिकरणले अहिलेसम्मकै ठुलो कारबाही गरेको हो। प्राधिकरणको बोर्ड बैठकले एनसेललाई सर्वसाधारणको ठगी गरेको रकम फिर्ता गर्न निर्देशन दिएसँगै एनसेल आजियाटाको चोरी समेत उजागर भएको हो। 

प्राधिकरणको साउन ३२ गते बसेको बोर्ड बैठकले गरेको निर्णय भदौ ४ गते शुक्रवार प्रमाणीकरण भएको हो। सर्वसाधारण उपभोक्ताको ठगी भएको १ अर्ब ११ करोड भन्दा बढी रकम ३ महिनाभित्र उनीहरूको मोबाइलमा पठाउन निर्देशन प्राधिकरणको बोर्ड बैठकले गरेको अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए। यसरी रकम फिर्ता गर्दा विस्तृत विवरण प्राधिकरणलाई प्रत्येक महिना उपलब्ध गराउन समेत एनसेललाई निर्देशन दिइएको उनले बताए। ग्राहकको पहिचान नखुलेको अवस्थामा फिर्ता गर्नुपर्ने रकमलाई छुट्टै कोषमा जम्मा गरी प्राधिकरणलाई जानकारी गराउन पनि निर्देशनमा भनिएको छ। 

एनसेल आजियाटा लिमिटेडले सञ्चालन गरेको गेमलोफ्ट र हुवाये एप ग्यालरी नामका भ्यालु एडेड सर्भिस सञ्चालन गरी के कति रकम आर्जन गरेको हो सो को जानकारी पनि १५ दिनभित्र उपलब्ध गराउन प्राधिकरणले एनसेललाई निर्देशन दिएको छ।

एनसेल आजियाटा लिमिटेडले सञ्चालन गरेको गेमलोफ्ट र हुवाये एप ग्यालरी नामका भ्यालु एडेड सर्भिस स्वचालित रिन्यु गरी सर्वसाधारणको रकम उनीहरूको स्वीकृति विना अनधिकृत रूपमा कटाएपछि प्राधिकरणले एनसेललाई स्पष्टीकरण सोधेको थियो। यसमा एनसेलले चित्त बुझ्दो जवाफ नदिएपछि नियामक निकाय प्राधिकरणको बोर्ड बैठकले उनलाई कारबाही गरेको हो। 

गेमलोफ्टले ११ करोड ३७ लाख ४८ हजार ९८६ रुपैयाँ र हुवावे एप ग्यालरीले ९९ करोड ९२ लाख १८ हजार ८६३ रुपैयाँ २०७५ असोज १५ देखि २०७७ जेठ १८ सम्म उपभोक्ताहरूको स्वीकृति नलिई एनसेलले ठगी गरी कमाइ गरेको थियो। 

उपभोक्ताहरूको स्वीकृति विना अटो रिन्यु गरी रकम कटाएको उजुरी परेपछि प्राधिकरणले गठन गरेको छानबिन समितिले समेत एनसेल आजियाटालाई दोषी पाएको थियो। यस लगत्तै प्राधिकरणले २०७८ असार १७ गते स्पष्टीकरण सोधेको थियो। एनसेलले २०७८ असार ३१ गते प्राधिकरणमा बुझाएको स्पष्टीकरण पनि चित्तबुझ्दो नपाइएपछि प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको अध्यक्षतामा बसेको बोर्ड बैठकले एनसेल आजियाटालाई कारबाही गरेको प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले बताए । 

उपभोक्ताको मोबाइलबाट ठगी गरेको रकम उपभोक्ताको मोबाइलमै फिर्ता गर्न निर्देशन गरेको प्राधिकरणले एनसेललाई यो समग्र प्रकरणमा ५० हजार जरिवाना समेत गरेको छ। एनसेलले मौजुदा ऐन, नियम, निर्देशन र कार्यविधि पालना नगरी भ्यालु एडेड सर्भिस सञ्चालन गरी उपभोक्तालाई ठगी गरेको विषयमा प्राधिकरणले पटक पटक किन कारबाही नगर्ने भन्ने विषयमा एनसेल आजियाटालाई स्पष्टीकरण समेत सोधेको थियो। 

टेलिकम कम्पनी सञ्चालन गर्नुअघि लिएको अनुमति पत्रको सर्त बमोजिम समेत प्राधिकरणको स्वीकृति नै नलिई तथा प्राधिकरणको निर्देशन विपरीत सेवा सञ्चालन र अटो रिन्यु गरे उपर प्राधिकरणबाट दूरसञ्चार ऐनको दफा ४७(१) र ४७(२) बमोजिम कारबाही गर्दा पनि पुनः प्राधिकरणको निर्देशनको अवज्ञा गर्दै सेवा सञ्चालन गरेपछि प्राधिकरणको बोर्ड बैठकले एनसेललाई कारबाही गरेको हो। प्राधिकरणले गरेको कारबाहीको बारेमा बुझ्न खोज्दा एनसेल आजियाटाका अधिकारीहरू सम्पर्कमा आउन चाहेनन्।

प्राधिकरणले एनसेल आजियाटालाई कारबाही गरेको निर्णय यस प्रकार रहेको छ :

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ