काठमाडौँ । माधव नेपाल सहितका नेताहरू नेकपा एमाले (समाजवादी) नामको नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् । आफूनिकटका नेताहरूसँगको छलफलपछि नेता नेपाल एमालेबाट अलग हुने निर्णय गर्दै नयाँ दल दर्ताका लागि आयोगको कान्तिपथ स्थित केन्द्रीय कार्यालय पुगेका हुन् ।
सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत सदस्य सङ्ख्या पुर्याए दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए लगतै एमाले फुटेको हो । नेकपा एमाले समाजवादीको संयोजकमा नेता आफैँ रहने छन् भने ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ ।
सरकारले मङ्गलवारको मन्त्रीपरिषद् बैठकबाट राजनीति दल सम्बन्धी ऐन २०७३ लाई संशोधनको निर्णय गर्दै राष्ट्रपति कार्यालयमा अध्यादेश जारीका लागि सिफारिस गरी पठाएको थियो भने राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार दिउसो जारी गरेकी थिइन् ।