पाकिस्तानमा पत्रकारलाई यातना दिएको भन्दै प्रहरीहरूमाथि अनुसन्धान
एजेन्सी
प्रकाशित २०७८ साउन ३२ सोमबार
676
Shares
फाइल तस्बिर
पाकिस्तान। पाकिस्तानको हरिपुर जिल्लामा पत्रकारलाई यातना दिएको भन्दै तीन प्रहरीमाथि अनुसन्धान हुने भएको छ। पत्रकारलाई यातना दिएको आरोपमा खेबर पख्तुन्ख्वास्थित हरिपुर जिल्लामा तीन प्रहरीमाथि अनुसन्धान हुने भएको हो। रावलपिण्डीस्थित एक निजी टेलिभिजन च्यानलका क्यामेराम्यान जहिर अब्बासमाथि प्रहरीले यातना दिएको आरोप छ।
क्यामेराम्यान अब्बास खानपुर जलाशयबारे समाचार खिचेर फर्कने क्रममा सडक किनारमा प्रहरीहरूले मानिसहरूलाई कुटपिट गरिरहेको देखेपछि त्यो घटना पनि खिचेका थिए । त्यसपछि, प्रहरीले उनको क्यामेरा खोसेर उनीमाथि सार्वजनिक रूपमा कुटपिट गरी प्रहरी भ्यानमा कोचेका थिए ।
प्रहरी चौकीमा लगी प्रहरीहरूको गतिविधि र घटना खिचेको भन्दै अब्बासलाई यातना दिएको बताइएको छ ।
स्थानीय मिडियाकर्मीहरूको हस्तक्षेपपछि अब्बासलाई उपचारका लागि हरिपुर ट्रमा सेन्टरमा लगिएको थियो ।
पत्रकारहरूले घटनाबारे आवाज उठाएपछि, हरिपुर जिल्ला प्रहरी अधिकारी काशीफ जुल्फिकरले अनुसन्धानका लागि प्रहरी सिपाहीहरू सज्जाद खान, अलि रजा र हसन अलिमाथि अनुसन्धानका लागि डिएसपी तथा सोधपुछ अधिकारी अब्रर खान समक्ष पठाएका हुन् ।
हरिपुर प्रेस क्लब, हरिपुर युनियन अफ जर्नलिस्ट एण्ड इलेक्टोनिक मिडिया असोसिएसनका पदाधिकारीहरूले भने तीन प्रहरीमाथि एफआईआर दर्ता गर्नुपर्ने माग गरेको डनले लेखेको छ।