हिन्दु मन्दिरको तोडफोड : पाकिस्तानी प्रधानन्यायाधीशद्वारा दोषीलाई पक्राउ गर्न आदेश
एजेन्सी
प्रकाशित २०७८ साउन २९ शुक्रबार
1.3k
Shares
फाइल तस्बिर
इस्लामाबाद। पाकिस्तानका प्रधानन्यायाधीश गुलजार अहमदले पन्जाब प्रहरी प्रमुखलाई हिन्दु मन्दिरको तोडफोडमा संलग्नहरूलाई नियन्त्रणमा लिन आदेश दिएका छन्। मन्दिरको सुरक्षा खलल पुर्याउने र तोडफोड गर्नेहरूलाई नियन्त्रणमा लिई कारबाही अघि बढाउन प्रधानन्यायाधीशले आदेश दिएका हुन्।
प्रधानन्यायाधीश गुलजारले भोग गाउँको मन्दिरमा भएको आक्रमणको विषयमा स्वयम् नोटिस लिएर मन्दिर संरक्षक प्रमुख रमेश कुमार, पाकिस्तान हिन्दु परिषद्सँगको छलफलपछि उनले यस्तो आदेश दिएका हुन् ।
पाकिस्तानी सञ्चारमाध्यम जियो न्युजका अनुसार उक्त घटनामा संलग्न सबै दोषीहरूलाई पक्राउ गर्न प्रधानन्यायाधिशले निर्देशन दिएका हुन् । पाकिस्तानको रहिम यार खान जिल्लाको भोग सहरमा रहेको एक हिन्दु मन्दिरमा बुधवार एक उग्र भीडले आक्रमण गरेको थियो। पाकिस्तानी सांसद र हिन्दु समुदायका नेता रमेश कुमार वंकवानीले घटनाको भिडियो सार्वजनिक गरेका थिए ।
उक्त भिडियोमा एक मुस्लिम समुदायको भीडले मन्दिरको पूर्वाधार भत्काएको देखिन्छ । भीडले मन्दिरमा तोडफोड गरेको र मूर्ति लगिरहेकोसमेत देखिन्छ ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बिहीबार मन्दिरमा भएको आक्रमणको निन्दा गरेका छन् । उनले पन्जाब प्रहरी प्रमुखलाई दोषीलाई नियन्त्रणमा लिन पनि निर्देशन दिएका छन् ।
भारतले हिजो पाकिस्तानी चार्ज डिफेयरलाई बोलाएर मन्दिरमा भएको हमलाको कडा विरोध गरेको थियो ।
हालैका वर्षहरूमा पाकिस्तानमा धार्मिक अल्पसङ्ख्यकहरूको पूजा स्थलमा आक्रमणका घटनामा वृद्धि भएको छ । पाकिस्तानमा अल्पसङ्ख्यकहरूको हितको रक्षा नगरेको भन्दै अन्तर्राष्ट्रिय समुदायले बारम्बार निन्दा गरेको छ।
गत वर्ष डिसेम्बरमा खैबर पख्तुनख्वा प्रान्तको कारक जिल्लामा स्थानीय मुस्लिम धर्मगुरुहरूको नेतृत्वमा एक सय भन्दा बढी मानिसहरूको भीडले मन्दिर भत्काएर आगो लगाएको थियो । सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियो क्लिपमा हिंसात्मक भीडले मन्दिरको पर्खाल र छत भत्काएको देखिएको थियो।