arrow

श्री रामकृष्ण परमहंस

भाग दुई

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७८ साउन २८ बिहिबार
ramkrishna-paramhans-final.jpg

भारतमा गया एउटा तीर्थ हो । यस तीर्थमा फल्गु नदी बगेकी छिन् । यस नदीको किनारामा दिवङ्गत आफन्त (पितृ)हरूको नाममा श्राद्ध गर्नाले  पितृ मोक्ष हुन्छन् भन्ने मान्यता रहेकोले नेपाल तथा भारत लगायत अन्य देशमा बसोबास गरिआएका हिन्दु धर्मावलम्वीहरुले श्राद्ध गर्ने चलन छ । यस्ता तीर्थ हरू नेपालको कुना कुनामा पनि छन् जस मध्ये बेत्रावती, गोकर्ण उत्तर गया, विष्णु पादुका आदि तीर्थ नभएका होइनन् तापनि नेपाली समाजमा पनि घरमा श्राद्ध सम्पन्न हुने वेलामा पितृलाई अर्पण गरेको पिण्ड हातमा लिएर गया तीर्थ सम्झेर तीन कदम हिँड्ने प्रथा छदै छ । 

श्रीरामकृष्णका पिताजीको नाम खुदीराम थियो । उनी ६० वर्षको उमेरमा गयामा श्राद्ध गर्न गएका थिए । त्यहीँ नै उनले सपनामा विष्णु भगवान्ले दर्शन दिएका र आफू उनको कूलमा जन्म लिन आउने सङ्केत पाएका  थिए । नभन्दै यात्राबाट फर्केर आएको केही महिनापछि उनको कूलमा सन् १८३६ को फेब्रुअरी १८ का दिन एक वालकले जन्म लियो । गयाबाट फर्केर आएपछि जन्मेको हुनाले त्यस वालकको नाम गदाधर राखियो ।  गदाधर केटाकेटी देखिनै धार्मिक प्रवृत्तिका थिए । उनी शास्त्रहरू सुन्ने, भगवान्को पूजा गर्ने ध्यान गर्ने आदि कार्यमा रुचि राख्दथे । उनको गाउँ कामारकपुरको बाटो भएर जगन्नाथको यात्रामा हिँडेका साधु महात्माहरूलाई विशेष रूपले हेरिरहन्थे । उनको वालक काल देखिनै उनमा अनेक विलक्षण घटनाहरू घट्न थाल्यो । उनीलाई रामकृष्ण पनि भनिन थालियो ।
 
करिब ६ वर्षका हुँदा एक दिन उनी केही चिउरा लिएर खेतको डिलमा हिँडिरहेका थिए । अकस्मात् आकाश कालो नीलो भयो । मेघ पनि गर्जन थाल्यो । उनी बेहोस जस्तै भए, लगेको चिउरा पनि  पोखियो । तर उनले कालो बादलको बिचमा एक श्वेत दृश्य देखे । उनी बेहोस भए तर गाउँले हरूले उनलाई घरमा पुर्‍याइदिए । पछि होस आएपछि उनले त्यो दृश्य अलौकिक भएको कुरा बताए । उनको ७ वर्षको उमेर हुँदा पिता खुदीरामको देहावसान भयो । यस देहावसान पछि उनले मनुष्यको जीवन अस्थायी तथा कुनै पनि वेला नाश हुने रहेछ भन्ने कुराको बोध गरे ।
 
उनी स्त्री जाति प्रति मातृ भावको दृष्टिले हेर्दथे । उनी भन्दथे तराजुमा केही जोख्न पर्‍यो भने ढक राखिन्छ तर ढक मात्र राख्ने हो भने अर्को भाग कहिल्यै पनि तल झर्दैन । अर्को भागमा पनि बिस्तारै सामान हाल्दै गयो भने ढक भएको भाग बिस्तारै माथि आउँछ र कुनै समयमा दुवै बराबर हुन्छ अनि माथिको सियो स्थिर भएर बस्दछ त्यस्तै कर्तव्यमा नचुकीकन परमात्मा चिन्तन बढाउँदै जानाले साधकको मन स्थिर हुन्छ, यही नै योग हो ।
 
एक दिन तोतापुरी स्वामी उनी कहाँ आइपुगे । उनले आफू देवी प्रेरणाले दीक्षा दिन आएको र तीन दिन मात्र त्यहाँ रहने कुरा श्रीरामकृष्णलाई बताए । श्री रामकृष्ण कालीको उपासक थिए । उनी जे गर्नुपरे पनि कालीमातासंग नसोधी गर्दैनथे त्यसैले माताको आज्ञा नभईकन त्यो दीक्षा नलिने कुरा बताए र माताको चरणमा परे । माताको आज्ञा भएपछि मात्र उनी दीक्षा लिन तयार भए । दीक्षा दिइसकेपछि श्री तोतापुरीले भने,  'मैले चालीस वर्ष अमरकण्टकको जङ्गलमा तपस्या गरेर पाएको वस्तु श्रीरामकृष्णले तीन दिनमा पाए ।' 

श्री रामकृष्णलाई घाटीको क्यान्सर भएको थियो । अनेक उपाय गर्दा पनि रोग निको हुन सकेन र आखिर १६ अगस्ट १८८६ मा उहाँको भौतिक शरीरले अवसान लियो ।  
              
(तिमिल्सीना शिवपुरी बाबाको स्वधर्म पुस्तकका सङ्कलक हुन् ।)
इमेल :[email protected]  

यो पनि पढ्नुस् : 
गुरुको करुणा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ