arrow

काँग्रेसको इतर समूह आक्रामक :

जिल्ला सभापति ठमेल छलफलमा, केन्द्रीय सदस्यलाई महाराजगन्ज निम्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २५ सोमबार
Ramchandra-Poudel.jpg

काठमाडौँ । नेपाली काँग्रेसको निर्धारित १४औँ महाधिवेशन तोकिएको समयमा नहुने भएपछि काँग्रेस भित्रको संस्थापन इतर समूह आक्रामक बनेको छ । सोमबार बिहानै इतर समूहका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवामाथि चोटिलो प्रहार गर्दै असफल व्यक्ति सधैँ सत्तामा पुग्ने गरेको सामाजिक सञ्जालमार्फत लेखेका थिए । ‘यो देशकै विडम्बना हो, सर्वत्र असफल व्यक्तिहरू बारम्बार सत्ता सम्हाल्न पुग्छन्,’ पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 

सो समूहले महाधिवेशन तोकिएको समयमा नगर्ने पक्का भएपछि पार्टी सभापतिमाथि दबाब बढाउन आज र भोलिका लागि काठमाडौँमा आफू निकट जिल्ला सभापतिहरूलाई छलफलका लागि बोलाएको छ भने आज नै आफू निकट केन्द्रीय सदस्यहरूलाई महामन्त्री डा शशाङ्क कोइरालाको निवासमा डाकिएको छ । 

जिल्ला सभापति रणनीति बनाउँदै
पार्टीको पूर्व घोषित समयमा महाधिवेशन नहुने भएपछि वरिष्ठ नेता पौडेल समूहका जिल्ला सभापतिहरू काठमाडौँ आएका छन् । उनीहरू क्रियाशील सदस्यताको विवादका कारण महाधिवेशन धकेल्ने खेल सुरु भएको भन्दै सभापति देउवामाथि दबाब बढाउन काठमाडौँ आएका हुन् । जिल्ला सभापति बैठक ठमेलस्थित होटेल यात्रीमा सुरु भएको छ । 

भेलामा ३५ जिल्ला भन्दा बढीबाट सभापतिहरू सहभागी भएको नुवाकोट काँग्रेस सभापति जगदिशनरसिंह केसीले जानकारी दिए । उनका अनुसार अरू केही जिल्ला सभापतिहरूसमेत बैठकमा सहभागी हुन आउँदै छन् । क्रियाशील सदस्यताको विवादका कारण महाधिवेशन हुन नदिने अवस्थालाई रोक्न र समयमा नै महाधिवेशन हुने वातावरण बनाउनेतर्फ छलफल गर्न उपलब्ध जिल्ला सभापतिहरू एक ठाउँ छलफलमा बसेको उनले जानकारी दिए । 

छलफलमार्फत तत्काल महाधिवेशनको मिति तोक्न, सदस्यताको विषयमा देखिएको विवाद समाधान गर्न, पार्टी समायोजनका नाममा भएका मनपरी रोक्न नेतृत्वसँग माग गरिने अर्का एक जिल्ला सभापतिले जानकारी दिए । भेलाले वडा तहदेखि केन्द्रीय तहसम्मको महाधिवेशनको नयाँ कार्य तालिका ल्याउँदा पहिले तोकिएका मितिको अन्तर घटाएर सम्भव भएसम्मका तहका अधिवेशनलाई एकै दिन गर्ने गरी कार्य तालिका ल्याउनसमेत माग गर्ने बताइएको छ । 

३ बजे केन्द्रीय सदस्यको बैठक
पौडेल समूहले आज नै पार्टीको महाधिवेशन र हाल देखिएका क्रियाशील सदस्यताको विवादबारे छलफल गर्न आफू निकट केन्द्रीय सदस्यहरूलाई बोलाएको छ । 
दिउसो ३ बजे महामन्त्री डा शशाङ्क कोइरालाको निवासमा बस्ने बैठकमा महाधिवेशनमा भइरहेको ढिलाइका विषयमा छलफल हुने बताइएको छ भने सदस्यताको विवादका बारेमा समेत आफू निकट नेताहरूलाई जानकारी गराइने छ । 

खास विवाद के ?
सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनिसकेपछि पार्टीको काममा वास्ता नगरेको र महाधिवेशनतर्फ ध्यान नदिएको पौडेल समूहको गुनासो छ । यस्तै महाधिवेशन समयमा नगर्न र संविधान अनुसारको पार्टीको वैधानिकता सकिने अवस्था आउँदासम्म पनि काँग्रेसको छविमाथि नै प्रश्न उठ्ने गरी पार्टीलाई नै अवैधानिक बनाउने दिशामा नेतृत्व नै लागेको भन्ने पौडेल समूहको आक्रोश छ । 

खास गरी निर्वाचन आयोगसँग नै छलफल गरेर महाधिवेशनलाई धकेल्न खोज्ने नेतृत्वको नीति प्रति पौडेल समूह आक्रामक बनेको हो । काँग्रेसको संविधान अनुसारको वैधानिकता २३ भदौपछि सकिने वरिष्ठ नेता पौडेलले यसअघि नै बताइसकेका छन् । 

क्रियाशील विवाद नै मूल जड 
काँग्रेसमा क्रियाशील सदस्यताको विषय नै महाधिवेशनका लागि मूल जड बनेको छ । काँग्रेसले करिब साँढे आठ लाख क्रियाशील सदस्य पुर्‍याउँदा पुराना नवीकरणमा समस्या नदेखिए पनि नयाँ सदस्यतामा धेरै जसो स्थानमा विवाद देखिएको छ । त्यसमध्ये पनि १२१ वडाको सदस्यता विवादका कारण स्थगित गरिसकेको छ भने बारा र सप्तरी जिल्लामा जिल्लाभर विवाद हुँदा नयाँ सदस्यता टुङ्गिन सकेको छैन । यस्तै सर्लाही, धनुषा, रसुवा र सिन्धुपाल्चोकमा पनि केही क्षेत्रमा विवाद कायम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ