arrow

एनआरएनए युकेको अध्यक्षमा प्रेम गाहा मगर निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २३ शनिबार
NRNA-UK.jpg

लन्डन । गैरआवासीय नेपाली संघ युकेको अध्यक्षमा समावेशी समूहका प्रेम गाहा मगर निर्वाचित भएका छन्। युकेमा पहिलो पटक अनलाइन माध्यमबाट गरिएको चुनावको मतदान गत मंगलबार (३ अगष्ट) दिउंसो १२ बजे सकिएता पनि चार दिनपछि मात्रै शनिबार बिहान मतदानको नतिजा घोषणा गरिएको थियो।

निर्वाचन कमिटीका अनुसार गाहा मगरले ४,५७४  मत प्राप्त गरेका छन् भने अध्यक्ष प्रत्यासी दीपक श्रेष्ठले २,१९१ र अध्यक्ष पदकी प्रत्यासी रोजिना प्रधान राईले २,१४८ मत  मत प्राप्त गरेकी छन्।

त्यसै गरी उपाध्यक्षमा सुनिल बाबु खड्का, नारायण कंडेल, मोहन कार्की तथा गोविन्द खरेल निर्वाचित भएका छन्। महिला उपाध्यक्षमा शकुन्तला गुरुङ निर्वाचित भएकी छिन। त्यस्तै महासचिवमा खुसि लिम्बु र सचिवमा ज्ञानेन्द्र बहादुर आले तथा विष्णु चालिसे  निर्वाचित भएका छन्। यसै गरी युवा संयोजकमा तिर्थ बहादुर मल्ल (अनिल)तथा महिला संयोजकमा विमला लिम्बु निर्वाचित भएका छन्।

यसैगरी इंगल्याण्ड राज्य परिषदको अध्यक्षमा लाल बहादुर गुरुङ, उपाध्यक्षमा भक्त दर्जी, त्यस्तै स्कटल्याण्ड राज्य परिषदको अध्यक्षमा काशिराम भण्डारी र उपाध्यक्षमा उज्वल कार्की निर्वाचित भएका छन्। नर्दर्न आयरल्याण्डको राज्य परिषदको अध्यक्षमा बल बहादुर थापा निर्विरोध निर्वाचित भएका छन्।

प्रमुख निर्वाचन आयुक्त महेन्द्रराज कडेलले आफुले निर्वाचनमा सुधार गर्न खोजेको तर विश्वभरीबाट दबाब आएको बताए।  मिडिया र सामाजिक संजालमा निर्वाचन कमिटिको आलोचना गरिएको भन्दै उनले आक्रोश पोखेका थिए।

विवादको कारण
अध्यक्ष पदकी एक उम्मेदवार, रोजिना प्रधान राईले बुधबार राती एक पत्रकार सम्मेलन गरी झन्डै १,००० मत फर्जी परेको दावी गरे पछि विवाद चर्किएको थियो। एनआरएन युकेका ११,००० बढी मतदाता मध्ये कतिले मत खसाले भन्ने निर्वाचन समितिले खुलासा गरेन तर, २,१०० मत रद्द गरी बांकी मत मात्रै गणना गर्ने भनेपछि अध्यक्षका प्रत्यासी प्रेम गाहा मगरको टिमले त्यसको कडा विरोध गरेको थियो।

शुक्रबार बिहान एक पत्रकार सम्मेलन गरी गाहा मगरले जस्ताको तस्तै निर्वाचन परिणाम घोषणा गर्न माग गरेका थिए। त्यस्तै साविक उपाध्यक्ष तथा दोश्रो कार्यकालका लागि समेत उपाध्यक्षका प्रत्यासी नारायण कँडेलले  भेरिफिकेसनका चारवटा चरण पार गर्दै पन्जीकृत सदस्यहरुको सूची ब्रिटिश कम्पनीलाई पठाइएको खुलासा गरे।

‘आइसीसीले उपलब्ध गराएको एमआइएस सिस्टम अनुसार नै एनआरएनको सदस्यता उपलब्ध गराइएको थियो । त्यसलाई कार्यसमितिले प्रमाणीकरण गरी केन्द्रमा पठायो । केन्द्रले प्रमाणीकरण गरेको नामावली निर्वाचन समितिमा पठाइयो भने निर्वाचन समितिले फेरि छानबिन गरी भेण्डरलाई हस्तान्तरण गरेको हो । भेण्डरले पनि पुनः परीक्षण गरिसकेपछि मात्रै अनलाइन मतदाताको रुपमा निश्चित गरेको हो’ कँडेलले भने।

एनसीसी यूकेले आइसीसीलाई बुझाएपछि ती नामावलीमा एनसीसीको पनि पहुँच नरहेको र आइसीसीको मात्रै पहुँचमा पुगेको कँडेलले स्पष्ट पारे ।

हस्ताक्षर गर्न दबाब 
निर्वाचन समितिले बिहीबार अध्यक्षका तीनै जना पदाधिकारीहरु मध्ये दुई जनाले हस्ताक्षर गरिसकेका र अध्यक्षका अर्का एक पदाधिकारी प्रेम गाहा मगरले हस्ताक्षर नगर्दा मतपरिणाम घोषणा गर्न नसकिएको दाबी गरेको थियो  ।

तर, बिहीबार दिनभर निर्वाचन समितिको कार्यालयमा रहेका अध्यक्षका उम्मेदवार गाहा मगरले भेण्डरले पठाएको पत्रमा हस्ताक्षर गरिसकेको तर, निर्वाचन समितिले अलग्गै तयार पारेको, उनकै शब्दमा, ‘सुसाइड नोट’मा भने आफूले हस्ताक्षर नगरेको बताए ।

निर्वाचन सम्पन्न भएको तीन् दिन बितिसक्दा पनि मतपरिणाम सार्वजनिक नभएपछि नतिजा सार्वजनिक गर्न माग गर्दै कानुनी बाटो अपनाउने गाहा मगर टिमले घोषणा गरे पछि निर्वाचन कमिटि दबाबमा परेको थियो।  त्यसपछि शुक्रबार राती मतदानको नतिजा घोषणा गरिएको थियो।

यसै बीच नवनिर्वाचित अध्यक्ष प्रेम गाहा मगरले सबै मतदाता तथा  सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरेका छन्। उनले संस्थाको शुद्धिकरण र समुदायको एकीकरण नै आफ्नो मूल एजेंडा हुने बताएका छन्।-जीएनएन



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ