रुपन्देही । कसैलाई पनि आफ्नो ठाउँमा भौतिक निर्माण कार्यले विकास हुन थालेपछि कसको मन खुसी नहोला र ? तर विकास हुन थालेका रुपन्देहीको बभनीका स्थानीयहरू भने पुल निर्माण कार्यमा खुसी हुन सकेका छैनन् ।
बाटोको संरचना अनुसार पुल बन्नु पर्ने भए पनि रुपन्देहीको तिलोत्तमा नगरपालिका १३ बभनी स्थित पुरानो सडक जोड्ने सडकमा बन्न लागेको निर्माणाधीन पक्की पुल बाटो अनुसार नभई बाङ्गो नक्सामा निर्माण गर्दा त्यहाँका स्थानीयहरू मर्कामा परेको बताएका छन् ।
स्थानीयहरूले सडकको संरचना अनुसार सिधा हुनुपर्ने बताउँदै तर पुल बाङ्गो नक्सामा निर्माण गर्दा त्यस वरपरका स्थानीयलाई खोलाले बर्षातको समयमा कटानको चपेटामा पर्ने भन्दै विमति जनाएका छन् ।
स्थानीयहरूले भने हामीले हाल सम्म तिन पटक सम्बन्धित निकाय तिलोत्तमा नगरपालिकाको कार्यालयमा बभनीमा रहेको स्थानीय न्यु राईज यूथ क्लबले पत्र पेश गर्दै ध्यानाकर्षण गराउँदा समेत तिलोत्तमाका नगर प्रमुख वासुदेव घिमिरेले कुनै वास्ता नगरेको बताएका हुन् ।
पुलको डीपीआर अनुसार पुलको संरचना नहुँदा त्यस वरपरका घर र स्थानीयका खेतीयोग्य जमिन भूक्षयको मारमा पर्ने देखिएको न्यु राईज यूथ क्लबले जनाएको छ ।
क्लबका अध्यक्ष विष्णु पराजुलीले भने हामीले सुरु देखि नै भनेका हौँ बाङ्गो पुल नबनाऊ यसले स्थानीयलाई आगामी दिनमा असर पर्छ भनी नगरपालिकाका अमिन इन्जिनियर र निर्माण कम्पनीका ठेकेदारलाई समेत भन्दा पनि सुनुवाइ नगरेको बताउँदै यस बर्षको बर्षातले निर्माण गर्नका लागि लिएको नदीजन्य बालुवा बगाएर लगेको जनाए ।
क्लबले नगरपालिकालाई बुझाएको पत्रमा स्थानीयहरूको भनाइलाई ध्यान नदिएर निर्माण कार्य अगाडी बढाएमा कुनै पनि हालतमा निर्माण कार्यलाई अगाडी बढाउन नदिने उल्लेख गरिएको छ ।