पत्रकार शक्तिमायालाई कृष्णमाया लिलानाथ स्मृति पत्रकारिता पुरस्कार
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १५ शुक्रबार
2k
Shares
बिदुर । नुवाकोटकी क्रियाशील पत्रकार शक्तिमाया तामाङ कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि जनचेतनामूलक समाचारहरु संकलन र संप्रेषण गरेबापत यस बर्षको कृष्णमाया लिलानाथ स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित भएकी छिन् ।
शुक्रवार नुवाकोट सदरमुकाम बिदुरमा आयोजित उत्तरगया दैनिकको चौथो बार्षिकोत्सवको अवसरमा पत्रिकाका प्रकाशक एवं नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष शिव देबकोटाले आफ्ना स्वर्गीय मातापिताको नाममा स्थापना गरेको उक्त पुरस्कारबाट तामाङलाई सम्मानित गरिएको हो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पत्रकार तामाङलाई नगद २५ हजार रुपैयाँसहित सम्मानपत्रद्वारा सम्मानित गरे । बिगत आठबर्ष देखि नुवाकोटको पत्रकारीता क्षेत्रमा क्रियाशिल पत्रकार तामाङ बीबीसी नेपाली सेवाको नुवाकोट संवाददाताको रुपमा कार्यरत छिन् ।
कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य केसीले सत्ताको भन्दा सत्यको महत्वबोध गर्ने र समाजका बिकृती र बिसंगतीहरुको अन्त्यका लागि निरन्तर खवरदारी गर्ने भएकै कारण संचारक्षेत्रलाई राज्यको चौथो अंग मानिएको उल्लेख गर्दे सत्य, तथ्य र निष्पक्ष पत्रकारिताले मुलुकको समृद्धिको आधारशीला तयार गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । नेपाली काँग्रेस सदैब प्रेस स्वतन्त्रताको पक्षपाती रहेको बताउँदै नेता केसीले स्वतन्त्रताको नाममा देखिने स्वच्छन्दताले पार्नसक्ने नकारात्मक प्रभावका बारेमा संचारकर्मीहरु निरन्तर चिन्तनशील हुनुपर्नेमा समेत जोड दिए ।
संबिधानसभा सदस्य एवं नेपाली काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले संचार क्षेत्रको बिकास र संचारकर्मीहरुको हकहितका पक्षमा नेपाली काँग्रेस सदैब प्रतिबद्ध रहेको बताउँदै आग्रह र पूर्वाग्रहरहित पत्रकारीताबाट मात्र यस क्षेत्रप्रति सबैको अपनत्व रहने धारणा ब्यक्त गरे ।
कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा र बिदुर नगरपालिकाकी उपप्रमुख गीताकुमारी दहालले स्थानीयतहहरुको सुदृढीकरण र बिकास निर्माणका कामहरुमा प्रभावकारीता बृद्धी गर्न संचारक्षेत्रको सकारात्मक भुमिका अपेक्षित रहेको बताउँदै जिल्लाका संचारमाध्यमहरुको प्रबद्र्धन र संचारकर्मीहरुको क्षमता अभिबृद्धीका लागि सहकार्य गरेर अघि बढ्न तयार रहेको प्रतिबद्धता ब्यक्त गरेका थिए ।