arrow

जसपाको अडान, कम्तीमा ६ मन्त्रालय

logo
आकाश शर्मा,
प्रकाशित २०७८ साउन १४ बिहिबार
upendra-yadav-election-commission-jasapa.jpg
फाइल तस्बिर

काठमाडौँ। जनता समाजवादी पार्टीले कम्तीमा ६ मन्त्रालय आफूले पाउने पर्ने अडान राख्ने भएको छ। जसपाले मन्त्री छान्न जसपाको कार्यकारिणीले सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई,अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई लाई जिम्मेवारी दिएको छ। कार्यकारिणी समितिको बैठक बिहीबार पनि बस्दै छ।

जसपाका कार्यकारिणी सदस्य मृगेन्द्रसिंह यादवले कम्तीमा ६ वटा मन्त्रालय पाउनु पर्ने जसपाको अडान रहेको बताए। ‘७ वटा मन्त्रालय पाउनु पर्ने हाम्रो अडान हो। भागबन्डा मिलाउन केही समस्या छ भने कम्तीमा ६ वटा मन्त्रालय पाउनु पर्छ।’

सत्तारुढ दलहरूबिच बरावारिको आधारमा मन्त्रालय भागबन्डा गर्नु पर्ने उनको भनाइ छ। ‘यसको मतलब हो, नेपाली काँग्रेस र माओवादीले जति मन्त्रालय पाउँछन्, त्यति नै हामीले मन्त्रालय पाउनु पर्छ भन्ने भनाइ हो।’

यादवका अनुसार, जसपाले यसअघि केपी ओली नेतृत्व सरकारमा सहभागी भएकाहरूलाई यस पटक मन्त्रीमा सिफारिस नगर्ने भएको छ। केपी ओली नेतृत्वमा सहभागी भएका दुई नेता राज किशोर यादव र रेणुका गुरुङ कित्ता परिवर्तन गरी उपेन्द्र यादव पक्षमा पुगेका छन्। रेणुका गुरुङले फेरि मन्त्री हुन लबिङ सुरु गरेकी छन्। ‘ओली सरकारमा सहभागी भएकाहरूलाई हामीले हाम्रो पार्टीमा लियौ, यो नै उहाँहरूको ठुलो कुरा हो’यादवले भने‘यस पटक उहाँहरूलाई मन्त्रीमा सिफारिस गर्ने कुनै सम्भावना छैन।’

जसपाका अध्यक्ष उपेन्द्र यादव यस पटक सरकारमा जाने नजाने विषयमा टुङ्गो नलागेको अर्का नेता रमेश यादवले बताए। स्रोतका अनुसार उपेन्द्र यादव सरकारमा गएमा उनले उपप्रधानमन्त्री तथा परराष्ट्र पाउने सम्भावना छ। तर यादव सरकारमा गएनन् भने जसपाको हातमा न उपप्रधानमन्त्री आउँछ, न परराष्ट्र आउँछ। त्यसैले पनि उपेन्द्र यादवलाई सरकारमा पठाउनु पर्छ भन्ने एक थरी मत छ।

जसपाबाट राजेन्द्र श्रेष्ठ, महेन्द्र यादव, रेणु यादव, रामसहाय यादव, इस्तियाक राई, प्रदीप यादव, सूर्यनारायण यादव, मृगेन्द्रसिंह यादव, सुरेन्द्र यादव, रामबाबु यादव, प्रमोद साह,अमृता अग्रहरी लगायतका नेता मन्त्री हुनको लागि विभिन्न माध्यमबाट लबिङ गरिरहेका छन्। प्रतिनिधि सभामा अहिले यादवसँग कम्तीमा पनि २० जना सांसद छन्।

ठाकुरको पक्षमा १२ जना छन्। पछिल्लो समय ठाकुरको पक्षमा लागेका सांसदहरू कित्ता परिवर्तन गरी उपेन्द्र यादव तीर लागेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ