arrow

एक किलो सुन र १७ लाख रुपैयाँ काण्डबारे यसरी बोली फेरिरहेछ प्रहरी

logo
प्रकाश बम
प्रकाशित २०७८ साउन १० आइतबार
gold-ddl.jpg

डोटी । गत माघ १४ गते भारतबाट चोरी गरेर ल्याएको सुन र नगद रकम बरामत गरेको काण्डबारे डोटी प्रहरीले पटक पटक बोली फेरेको छ । घट्नाबारे प्रहरीले स्पष्ट र तथ्यपूर्ण जवाफ दिन सकिरहेको छैन् ।

प्रहरीले कहिले सुनकाण्डबारे सूचनाहरु दिन नसकिने जिकिर गरिरहेको छ भने कहिले कार्यालयमा आए सबै कागजात दिन सकिने भनिरहेको छ । यद्यपी सूचनाको हक प्रयोग गरी पत्रकारहरुले माग गरेको सूचना प्रहरीले अझै उपलब्ध गराउन सकेको छैन् । लिखित रुपमा सूचना माग्न गएका पत्रकारलाई अनुसन्धानमा असर पुग्ने भन्दै घटनासंग सम्बन्धित तथ्यहरु दिन नसकिने लिखित जवाफ दिएको छ ।

‘कहाँ गयो डोटी प्रहरीले बरामद गरेको एक किलो सुन र १७ लाख बढी पैसा ? प्रहरीको नियतमा शंका’ शिर्षकमा हाम्राकुरा डटकममा समाचार आएपछि प्रहरीले समाचारको खण्डन हुनेगरी जिल्लाका मिडियालाई सूचना दिन तयार रहेको भन्दै अन्तवार्ता दिएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशी र इलाका प्रहरी कार्यालय दिपायलका प्रहरी नायव निरीक्षक धर्मानन्द जोशी नेतृत्वको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा दिपायलबाट गत माघ १४ गते नगद पैसा बोकेर बोकेर तराइ जाने क्रममा दिसिनपा-४ कुलपातेबाट ६० वर्षीया काली भुललाई नगदसहित पक्राउ गरेको थियो ।

प्रहरीले नगदसहित पक्राउ परेकी केआईसिंह गाउँपालिका-६ भिताडीकी महिलाको घरमा छापा मारेर लुकाएर राखेको एघार सय ग्राम सुन पनि बरामद गरेको थियो । काली र गणेश भुललाई जिप्रका डोटीमा राखेर दोस्रो दिन बयानपछि छाडेको थियो ।

प्रहरीले चोरी भएको सुन र नगद रकम भारतीय नागरिकलाई भारतीय राजदुतावासमार्फत बुझाई सकेको दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी दान बहादुर मल्लले प्रहरी हेडक्वाटरले एक समारोह गरेर भारतीय दूतावासमार्फत सम्बन्धित व्यक्तिलाई बरामद गरिएको सुन र नगद बुझाइ सकेको जानकारी दिएका थिए ।

तर सो सामाग्री आफूले नपाएको पीडित भारतीय नागरिक स्वेता मिश्रा गुनासो गर्दै आएकी छिन् । उनले नेपाल प्रहरीबाट अनुसन्धानमा साथ नपाएको साथै अनुसन्धान ढाकछोप गरी सुन र नगद गायब गर्ने प्रयास भइरहेको आरोप लगाउँदै आएकी छिन् । प्रहरीले भारतीय राजदुताबास मार्फत सुन र नगद बुझ्न आएको ब्यक्ति को हुन् भन्ने सूचना भने दिन मानेको छैन् । ‘भारतीय प्रहरीलाई मैंंले उजुरी गरी नेपाल प्रहरीको सहायताले सुन जफत गराएकी हुँ’, मिश्राले टेलिफोनमा दुखेसो पोखिन, ‘मैले कसैबाट पनि सामान पाएकी छैन, मेरो सामान कसलाई बुझाएको रहेछ । चकित परेकी छु ।’

प्रहरीको नियतमाथि यही बिषयले शंका गराइरहेको केआईसिंह गाउँपालिका वडा नं.६ का बासिन्दाहरुको भनाइ छ । ‘भारतमा अनाहकमा निर्दोष ब्यक्ति अहिले पनि प्रहरी कार्यालयमा आफ्नो श्रीमतीलाई तारेखमा राखेर चोरीमा संलग्न ब्यक्तिहरुको खोजीमा गाउँ आएको छ’, स्थानिय नेता नारायण बलायरले भने, ‘सुन र नगद चोरी भएको भारतीय नागरिकले सामान नपाउँदासम्म आफू मुद्दा लडिरहने दावी गरिरहेका छन् ।’ प्रहरीले सुन र नगद मिलेमतोमा नाटकीय सूचनाहरु दिएकाले निर्दोष ब्यक्तिहरु दुःख भोगिरहेको बलायरले बताए ।

भारतीय दूताबासमार्फत चोरी भएको सो सुन र नगद बुझ्ने ब्यक्ति को हुन् भनेर सूचनाको हक प्रयोग गरि लिखित रुपमा जानकारी मागेको थियो । हाम्राकुरा डटकममा सोही कुरा उजागर गरी समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशित भए लगत्तै प्रहरीले गत साउन ७ गते प्रेस नोट जारी गरेको थियो ।

जसमा प्रकाशित समाचार भ्रामक भएको दाबी प्रहरले गरेको छ । समाचार प्रकाशित पछि जिल्ला प्रहरी कार्यालय डोटीले बरामद गरेको सुन र नगद दाबी गर्ने ब्यक्तीको सम्बन्धमा हालसम्म प्रहरी प्रधान कार्यालयबाट कुनै जानकारी प्राप्त नभएकोले जिल्ला कार्यालयलाइ जानकारी हुनासाथ सबैलाई जानकारी गराइने छ भन्दै जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी रबिन्द्र चन्दले साउन ७ गते साँझ ६ बजेर ५१ मिनेटमा प्रहरीसंग पत्रकार नाम दिएर खोलिएको फेसबुक ग्रुपमा जवाफ दिएका थिए ।

सोही जवाफ राति ९ बजेर ३५ मिनेटमा सूचना अधिकारी चन्द आफैंले हटाएका छन् । उता प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका एक अधिकारीका अनुसार सम्बन्धित व्यक्तिलाई सुन र पैसा बुझाइ सकेको बताए । ति अधिकारीले भने ‘जसले दाबी गर्‍यो त्यो व्यक्तिले इन्टरपोल मार्फत लगिसक्यो। नाम भन्न मिल्दैन । डोटीबाट सूचना माग्नुहोला ।हामी यताबाट जानकारी पठाइ दिन्छौं’ भन्दै कुरा टुङ्याए ।

भारतमा पक्राउ परेका व्यक्ति भन्छन् : सम्बन्धित व्यक्तिले सुन नपाउँदा मैंले दुःख पाउँदैछु

भारतमा पक्राउ परेका एक व्यक्तिले सम्बन्धित व्यक्तिले अहिलेसम्म सुन र नगद नपाउँदा आफुले अनाहकमा दुःख पाइरहेको बताएका छन् । हाम्राकुरासँग कुरा गर्दै केआसिंह गाउँपालिका-६ भिताडी डोटीका ती व्यक्तिले भने,‘आफू विगत लामो समयदेखि भारतमा काम गर्दै आएको थिएँ । सबैको विश्वास जितेको थिएँ ।’

उनले घट्नापूर्वको कहानी सुनाउँदै भने,’ मेरो सानीआमाको छोरा केआइसिंहगाउँ पालिका-३ झिगावस्ती बस्ने अन्दाजी ३० वर्षको नरी भुल म कहाँ पुगे । उनले पहिला पाँच वर्ष काम गरेका थिए । फेरि सोही ठाउँमा काम लगाइ दिन भने । मैंले म सक्दिन भनें । उसले जिद्धी गरे । अनि मैंले घरधनी श्वेता मिश्रासँग कुरा गराएँ ।

श्वेताले पनि पाँच वर्षपछि काम गर्ने मान्छे फेरि आयो भन्दै खुशी मानिन् । रोजगारी खोजीमाग्ने ति व्यक्तिले काम समेत उक्सान गाउँ ग्लोडेनग्लेज नजिक श्वेताको घरमा शुरु गरे । काम गरेको तीन दिनमा नरी र अछामकी उनकै साली पर्नेले घर धनीको खानामा निन्द्रा लाग्ने औषधि खुवाएको कुरा बाहिर आयो । त्यसै राति दुई २ बजे नगद, सुन गरगहना र मोबाइल चोरेर फरार भए छन् ।

घरधनीले खोजतलास गर्दै प्रहरी कार्यालय लगायतका निकायमा उजुरी गरे । चोरी गर्ने मेरो आफन्त हो भन्दै मलाई प्रहरीले पक्राउ गर्यो । उनले भने,‘डेढ महिना थुनामा बसें । फिर्ता हुने सर्तमा मलाई छाडियो । मैंले घरधनी र प्रहरीलाई चोरी गर्ने व्यक्तिलाई सम्र्पकमा ल्याउँछ भनेर कागज बनाएर आएको छु । नेपाल आए लगत्तै चोरी गर्ने व्यक्तिको घर पुगें । तर घर पुग्दा उनी फरार भए । घरमा उनको आमा र श्रीमतीले म सँग झगडा गर्यो भन्दै दुःख व्यक्त गरे ।

उनले थपे,’ प्रहरीले सुन र नगद बरामद गरेको भारतमा थाहा पाएका थिए । दुई दिन भारतबाट उजुरी गरेको पत्र जिप्रका डोटीमा आयो । उल्टै प्रहरीले सम्बन्धीत व्यक्तिलाई बुझाइ सकेको भनेर जवाफ दियो । चोरी गर्ने ब्यक्तीलाई प्रहरीले सोधपुछ पश्चात छोडेको उनी बताउँछन् । यो सुन र नगद कता गयो ? यसमा सबै लागेर अनुसन्धान गरिदिन उनले अनुरोध गरे ।’

उनले दुःखी मुद्रामा भने,’ म त सँधैभरी जेल बस्थें होला । तर मेरो घरपरिवार छोराछोरीको कसले पालण पोषण गरिदेला भन्ने चिन्ताले निक्कै पिरोलिरहेको छ । अहिले श्रीमती दुई छोरी र एक छोरा उतै राखेर आएको छु । मलाई छाडेपछि उनीहरुलाई निगरानीमा राखेको उनले बताए । अहिले कसैले एक हजार, कसैले दुई हजार दिएर रासनपानी किनेर उनीहरुले गुजारा चलाइरहेको छन् । यताको प्रहरीले सुन, नगद, गरगहना र मोबाइल भारतमा सम्बन्धित ब्यक्तीलाई नबुझाएर म उता गएर दुःख पाउने हुँ’ उनले गहभरी आँसु निकाल्दै भने ।

अहिलेसम्म मैंले केही पाएको छैन: पीडित महिला

पीडित महिला श्वेता मिश्राले नगद, सुन, गरगहना र मोबाइल चोरी भएको भन्दै पुणे जिल्लाको कामसेत टाँकसे पुलिस स्टेशनमामा सन् २०२० मार्च १५ तारिखमा उजुरी दिइन् । उनले आफ्नो घरमा काम गर्ने भारतका दिपक हरिलाल सिंह तथा नेपालका नरी भुलको नाम उल्लेख गरेकी छन ।

पीडित महिला श्वेताले हाम्राकुरासंग भनिन्, ‘मैंले दिपक नाम गरेका र नरी भन्नेलाई सरसफाइ र खाना पकाउने काममा लगाएको थिएँ । त्यो चोरी गर्न नेपालबाट योजना बनाएर आएको रैछ । काम लगाएको तेस्रो दिन आफुहरुलाई खानामा निन्द्रा लाग्ने औषधि हालेर खुवाएछन् । त्यसै राति मेरो घरमा भएको सुन ,गरगहना नगद र मोबाइल लगायतका सामग्री चोरी गरेर भागे ।’

उनले थपिन, मैंले ती दुबै जनाको नाममा जाहेरी दिएको छु । तर अहिलेसम्म आफ्नो नगद, सुन मोबाइल लगायतका कुनैपनि सामग्री हात परेको छैन् । नेपाल प्रहरीले बरामद गरेको सुन नगद सम्बन्धित ब्यक्तीलाई बुझाएको भने पनि आफुले नपाएको उनले बताइन् ।

आफू पीडामा रहेको बताउँदै उनले भनिन्,‘आमाको सिलिन्डर पड्किएर केही बर्ष अगाडि मृत्यु भयो । बुवा सुरेश नारायण मिश्राको पनि घरमा चोरी भएको केहि महिनापछि बिरामीका कारण मृत्यु भयो । अहिले म र मेरो भाइ छौँ । हामी निक्कै दुखी छौं । घट्नाको गहिरो अनुसन्धान गरी सामान उपलब्ध गराइदिन अनुरोध गर्दछु ।’

सुन नगद र गरगहना कसरी चोरी भयो ?

जिल्लाको केआइसिंह गाउँपालिका-३ झिगावस्ती बस्ने नरी भुल रोजगार लागि भारत गए । उनी भारतको पुणे जिल्ला ग्लोडन ग्लेडस निर्ब उक्सान गाउँमा रोजगारी गर्न पुगे । उनले उक्त ठाँउमा पाँच बर्ष पहिले रोजगारी गरेका थिए ।

पाँच बर्ष पश्चात उनी दाइ नाता पर्ने धनुवा भुल कहाँ ठोकिन पुगे । उनले दाइलाइ पहिले काम गरेको घरमा काम लगाइ दिन अनुरोध गरे । दाइका अनुसार तिमी आफैं कुरा गर, म नम्बर दिन्छु भने । उनले घरधनी श्वेता मिश्रालाइ कुरा गरे । धेरै बर्षपछि फेरि काम गर्न आएकाले हुन्छ भन्दै मिश्राले रोजगारी दिइन् । उनले आफूसंगै श्रीमतीलाई समेत काम शुरु गरेको तेस्रो दिन सोही घरमा लगे । विभिन्न सेटिङ मिलाउने नाममा साँझको खानामा निद्रा लाग्ने औंषधि हालेर खुवाएछन् ।

बेहोस भएर घरधनी सुतिरहेको बेला राति २ बजे घरधनीको बहुमूल्य सामग्री राखेको ढोका फोडेर भित्र पसे । त्यस लगत्तै सुन, गरगहना नगदसहित उनी र अछामकी निर्मला नाम गरेकी महिला भागे । दुबैले मोबाइल स्वीच अफ गरे बेपत्ता भए । चोरी भएको दोस्रो दिन निक्कै हल्लिखल्ली भयो । काम गर्ने दुबै जना चोरी गरेर फरार भए । घर धनीले चोरी भएको भन्दै पुणे जिल्लाको कामसेत टाकवे पुलिस स्टेशनमा उजुरी दिइन् । उजुरी पश्चात चोरी गर्नेका दाजु नाता पर्ने समातिए । उनी डेढ महिनाको थुनापछि तारेखमा छुटे । सुन गरगहना र नगद चोरी गर्ने ब्यक्ती डोटी पुगे ।

उनीहरु केही दिन गुप्तबास बसेको श्रोतको भनाइ छ । गुप्तबास पश्चात चोरी गरेर भारतबाट आयो भन्ने गाउमा हल्ला चल्यो । हल्ला चले लगत्तै घरमा लगेको सुन उनले केआसिंह गाउँपालिकाको स्याला भन्ने ठाउँमा मामा टीका भुलको घरमा रातो कपडा बेडेर राख्न दिएको स्रोत बताउँछ ।

श्रोतका अनुसार उक्त सामान मामाघरबाट फेरि आमा नाता पर्ने काली भुलको घरमा ‘यो अमूल्य सामान हो राम्रोसंग राख्नु’ भन्दै राख्न दिए । राख्न दिएको रातो कपडा भित्र ३० वटा सुनका बिस्कुट रहेको श्रोतको भनाइ छ । केही समय पछि चोरी गर्ने नरी भुल र उनकी आमाले मागेको भन्दै उनका मामाले १५ बिस्कुट सुन लगेको श्रोतको भनाइ छ । अब बाँकी रहेको १५ बिस्कुट सुन महिलाको घरमा रह्यो ।

स्रोतका अनुसार केही सातापछी फेरि नरीले मामालाई राति १२ बजे ट्याक्टरमा आठ जना मानिस सहित बाँकी सुन लिन पठाए । ट्याक्टरमा राति पुगेको उक्त समूहले मार्ने समेत धम्की दिएको उनका आफन्तको भनाइ छ । तर ती महिलाले आफ्नो छोरा भारतमा प्रहरी हिरासतमा भएको भन्दै दिन मानिनन् ।

त्यसपछि  भिताडी गाउँमा समेत सुन भित्रिएको कुरा बाहिर आउन शुरु भयो । महिलाले ११ बिस्कुट सुन अगेनामा खाल्डो खनेर लुकाएर राखिन् । चार बिस्कुट सुन डोटी कै सुन पसलमा बिक्री गरेको श्रोत बताउँछ । बिक्री गरेको केही दिनपछी गोप्य सूचनाका आधारमा महिलालाइ नगद रुपैयाँसहित पक्राउ परेसंगै प्रहरीले घरमा लुकाएर राखेको सुन समेत बरामद गर्‍यो  । बयान पश्चात पक्राउ परेको दोस्रो दिन उनी छुटिन् । चोरी गर्ने नरी भुललाई जिल्ला प्रहरी कार्यालयले  पक्राउ गरे पनि कुनै प्रमाण नभएको भन्दै रिहाइ गरेको खुल्न आएको छ ।

कहाँ गयो डोटी प्रहरीले बरामद गरेको एक किलो सुन र १७ लाख बढी पैसा ?


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ