भारतमा निर्मित कोभिशिल्ड खोपलाई बेल्जियममा पनि मान्यता
रासस-एएनआई,
प्रकाशित २०७८ असार २५ शुक्रबार
796
Shares
नयाँ दिल्ली। बेल्जियमले भारतको सेरम इन्स्टिच्यूट (एसआईआई) द्वारा निर्मित तथा एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयद्वारा विकसित गरिएको कोभिड–१८ विरुद्धको कोभिशिल्ड खोपलाई मान्यता दिएको भारतस्थित बेल्जियमको राजदूतावासले शुक्रवार जानकारी गराएको छ ।
“अस्ट्रोजेनेकाले विकास गरेको र सेरम इन्स्टिच्युट अफ इन्डियाले बनाएको तथा कोभ्याक्सले वितरण गरेको कोभिशिल्ड खोपलाई बेल्जियमले मान्यता दिएको छ । बेल्जियमको यो निर्णय खोपको प्रभावकारितामाथि प्रश्न उठाइरहेका कतिपय एसियाली मुलुकका लागि पनि खोप चयनको महत्त्वपूर्ण आधार बनेको छ ।
भारतस्थित बेल्जियमको राजदूतावासले सामाजिक सञ्जाल ट्विटर मार्फत जारी सन्देशमा भनिएको छ, “निर्णय खोप असमान वितरणका कारण कोभिड–१९विरुद्धको अभियानमा पछि देखिएका भारत, नेपाल, भुटान, श्रीलङ्का, मालदिभ्स, बङ्गलादेशको लागि महत्त्वपूर्ण हुनेछ ।”
यस हप्ताको सुरुमा नेदरल्याण्ड्सले यात्रीहरूको लागि कोभिशिल्ड खोपलाई अनुमोदन गरेको थियो ।
यसैबीच स्विट्जरल्याण्ड, आइसल्याण्ड र सात ईयू देशहरूले पनि सेरम इन्स्टिच्युटद्वारा निर्मित अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपलाई जुलाई १ मा प्रयोगका लागि अनुमति दिएका थिए । भारतका परराष्ट्र मामिला मन्त्री एस जयशंकरले युरोपेली समूह राष्ट्रहरूलाई कोभिड–१९ खोप प्रयोगका लागि अनुमति दिन पत्राचार गरेको एक दिनपछि खोपले मान्यता पाएको हो ।
विश्वसनीय स्रोतहरूका अनुसार अस्ट्रिया, जर्मनी, स्लोभेनिया, ग्रीस, आइसल्याण्ड, आयरल्याण्ड, इस्टोनिया र स्पेनले कोभिशिल्डलाई यात्रा प्रवेशका लागि स्वीकारेको पुष्टि गरेको छन् । कोभिशिल्डलाई स्केन्जेन राज्य स्वीजरल्याण्डले पनि अनुमति दिइसकेको छ ।
भारत सरकारले ईस्टोनियाको यात्राका लागि आधिकारिक सबै खोपहरूलाई मान्यता दिन यो निश्चित गरेको भारतीय अधिकारीले बताएका छन् ।
कोभिशिल्ड र कोभ्याक्सिन लिने व्यक्तिलाई छुट दिन बिचार गर्न भारतले ईयूका सदस्य राष्ट्रहरूलाई अनुरोध गरेका थिए । ईयू डिजिटल कोभिड सर्टिफिकेटको मान्यताका लागि यसले पारस्परिक नीति स्थापना गर्ने बताइएको छ ।