arrow

महामन्त्री शशाङ्कको जिल्लामा कसले हाँक्ला काँग्रेसको बागडोर ?

चौधरीको भूमिका समेत निर्णायक हुने

logo
सञ्जय भट्टराई,
प्रकाशित २०७८ असार २५ शुक्रबार
nawalpur-congress.jpg

नवलपुर। मुलुक सङ्घीय संरचनामा गएपछि कान्छो जिल्लाको रूपमा परिचय बनाएको नवलपुरमा पनि यति बेला काँग्रेसको आगामी महाधिवेशनको जोड घटाउ सुरु भएको छ। विशेष गरेर काँग्रेस महामन्त्री डा. शशाङ्क कोइरालाको निर्वाचन क्षेत्र समेत रहेको र उनी आफै केन्द्रीय सभापतिको उम्मेदवार बन्ने बताई रहँदा जिल्लामा काँग्रेसको बागडोर कसले हाँक्ने भन्ने विषय यति बेला चर्चाको रूपमा रहेको छ।

जिल्ला अधिवेशनको मिति नजिकिए पनि औपचारिक रूपमा कसैले पनि जिल्ला सभापतिमा उम्मेदवारीको घोषणा भने गरेका छैनन् । आधिकारिक रूपमा उम्मेदवारी कसैले घोषण नगरे पनि जिल्लाका पुराना नेता पूर्व सांसद एवं संविधान सभा सदस्य महेन्द्रध्व्ज जिसी, हालका जिल्ला सभापति एवं प्रदेश सांसद विष्णुप्रसाद लामिछाने, जिल्ला सचिव बालकृष्ण घिमिरे, महासमिति सदस्यहरू मदन भक्त अधिकारी र गजेन्द्र आले मगर जिल्ला सभापतिको उम्मेदवार हुन सक्ने काँग्रेस वृत्तमा चर्चा चल्न सुरु गरेको छ । जिल्ला सभापतिमा आकाङ्क्षी भनिएका नेता जिसी वरिष्ठ नेता रामचन्द्र पौडेल र अन्य ४ जना महामन्त्री कोइराला निकट हुन ।

सभापति शेरबहादुर देउवा निकटका नेताहरूले जिल्ला सभापतिमा उम्मेदवारी दिने विषयले भने जिल्लामा चर्चा पाएको छैन । आफ्नो समूहले उम्मेदवार नदिने भए पछि देउवा समूहले जिल्लामा कोइराला या पौडेल समूह कसलाई सहयोग गर्ने भन्ने विषय छलफलमै रहेको देउवा समूहका नेता एवं विघटित प्रतिनिधि सभा सदस्य सत्यनारायण खनालले बताए। यस अघि पनि १३ औँ महाधिवेशनमा देउवा समूहले जिल्ला सभापतिमा कोइराला निकट मानिएका विष्णु लामिछानेलाई  मत दिएको थियो।

पछिल्लो समय उद्योगी विनोद चौधरीले पनि केन्द्रीय राजनीतिमा समेत चासो राख्न थालेसँगै जिल्लामा पनि उनको प्रभाव देखिन थालेको छ। जिल्लामा आउँदा चौधरीले सामाजिक तथा राजनीतिक भेटघाटलाई पनि बढाएसँगै जिल्लाको राजनीतिमा पनि चौधरीको चासो बढ्न सुरु भएको काँग्रेस नेताहरू बताउँछन्। चौधरी पनि जिल्लाको राजनीतिमा एउटा फ्याक्टरको रूपमा देखिन थालेका छन्। यद्यपि उनी जिल्लाबाट प्रतिनिधित्व गर्ने नेता कोइराला र केन्द्रीय सभापति शेर बहादुर देउवासँग समदुरीमा रहेका छन् । चौधरीको पछिल्लो सक्रियतालाई आफूहरूले पनि चासोका साथ हेरेको काँग्रेस जिल्ला सभापति विष्णु लामिछानेले बताए।

कुल १६ हजार ७ सय ७९ जना क्रियाशील सदस्य रहेको जिल्लामा आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन हुने र आफू नेतृत्व सर्वसम्मत बनाउने पक्षमा रहेको जिल्ला सभापति विष्णु लामिछानेले बताए। “हामी अन्तिम सम्म सर्वसम्मतको पक्षमा छौ, महामन्त्रीले पनि जिल्ला सर्वसम्मत बनाउने विषयमा छलफल सुरु गर्नु होला,” सभापति लामिछानेले भने।

महामन्त्री कोइराला आफै सभापतिमा लड्ने पक्का पक्की हो भने जिल्लामा सर्वसम्मत रूपमा पौडेल समूहका उम्मेदवारलाई सभापति बनाउनु पर्ने दबाब भने उनलाई हुनेछ। जिल्लामा सर्वसम्मत नेतृत्व चयन नहुँदा भने वरिष्ठ नेता पौडेल र महामन्त्री कोइराला समूह बिच प्रतिस्पर्धा हुने प्रस्ट छ । यसरी प्रतिस्पर्धा भयो र निर्वाचन हुने अवस्थामा देउवा निकट जिल्लाका नेताहरू र उद्योगी विनोद चौधरीको भूमिकाले समेत जिल्लाको आगामी नेतृत्व चयनमा प्रभाव पार्ने भने देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ