arrow

जवेगु र दाहाल पाँचथर काँग्रेसको सभापतिमा भिड्दै

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७८ असार २५ शुक्रबार
panchtar-jabegu-dahal-congress.jpg

पाँचथर । मुलुकको प्रमुख प्रजातान्त्रिक तथा लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको मिति तय भएसँगै जिल्ला तथा गाउँ गाउँमा समेत अधिवेशनको चुनावी सरगर्मी बढेको छ । पटक पटक मिति तोकिँदै सर्दे आएको अधिवेशनको मिति पुन तोकिएपछि अहिले चिया पसल देखि चोक चोकमा समेत पार्टीमा नयाँ नेतृत्व छनोटका लागि अधिवेशनको चुनावी सरगर्मी वढेको हो ।

आगामी साउन १२ गतेदेखि गाउँ तथा नगर वडा अधिवेशन, साउन १६ गते गाउँ तथा नगरपालिका अधिवेशन हुँदै छ ।  साउन २० गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन श्रावण २३ गते, एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन श्रावण २६ गते , प्रदेश अधिवेशन भदौ १ र ३ गते हुँदै छ, यस्तै केन्द्रीय महाधिवेशन भदौ १६, १७, १८ र १९ गते काठमाडौँ हुँदै छ ।

महाधिवेशनको मिति नजिकिँदै जाँदा पूर्वी पहाडी जिल्ला पाँचथरका नेताहरू पनि विभिन्न पदमा उम्मेदवारी दिन आकाङ्क्षी देखिएका छन् । अहिले पार्टीको पाँचथर जिल्ला सभापति पदमा उम्मेदवारको रूपमा पार्टीका जिल्ला सचिव रूपनारायण जवेगु,  र पूर्व पार्टी जिल्ला सचिव तथा नेपाली काँग्रेस महासमिति सदस्य सुरेन्द्र कुमार दाहाल चुनावी मैदानमा उत्रने तयारी गरेका छन् । दुवै सभापति पदका उम्मेदवारहरुले प्यानल नै खडा गरेर चुनावमा उठ्ने तयारी गरेको बुझिन्छ ।

जवेगुको राजनीतिक तथा सामाजिक पृष्ठभूमि
पाँचथरको फिदिम नगरपालिका वडा न. १० याङनाममा वि.स. २०२८ साल भदौ १४ गते बुवा नर प्रसाद र आमा नरमाँया जवेगुको माइलो सुपुत्रको रूपमा रूपनारायण जवेगुको जन्म भएको हो । मध्यम वर्गीय परिवारमा जन्मका जवेगुको बाल्यकाल गाउँमै बित्यो,  याङनाम बाटै एस.ई.ई गरे ।

सानै उमेर देखि सामाजिक र राजनीतिक क्षेत्रमा क्रियाशील जवेगु वि.स.२०४८ सालमा पाँचथर बहुमुखी क्याम्पसको नेविसंघ  इकाई कमिटी सदस्य हुँदै राजनीतिक यात्रा सुरुवात गरेका हुन् । पाँचथर बहुमुखी क्याम्पसको नेविसंघको इकाई कमिटी सदस्य भएर उनले २०४८ देखि २०५० सालसम्म सक्रिय रूपमा सङ्गठनमा काम गरे, यस्तै उनले २०४६ साल देखि २०५० साल सम्म नेपाल रेडक्रस सोसाइटीमा खरिदारको रूपमा काम गरे । त्यसपछि उनले शिक्षण पेशामा प्रवेश गरे, सिद्धदेवी निमाविमा लामो समय प्रअ भए । 

वि.स. २०५३ सालमा नेपाली काँग्रेसको क्रियाशील सदस्य भई पार्टीमा सक्रिय रूपमा लागे, यस्तै २०५३ सालमै नेपाल शिक्षक सङ्घको सदस्य भए, वि.स.२०६१ देखि २०६४ साल सम्म नेपाल शिक्षक युनियन पाँचथरको अध्यक्ष भए । यस्तै नेपाल शिक्षक सङ्घको सल्लाहकार पनि भए,  ९ वर्ष सम्म जिल्ला शिक्षा समितिको सदस्य भएर काम गरे । काँग्रेसको १२ औ महाधिवेशनमा पार्टीको निर्वाचित जिल्ला सदस्य पदमा सर्वाधिक मत ल्याएर विजयी भए, १३ औ महाधिवेशन बाट नेपाली काँग्रेस पाँचथर जिल्ला सचिव निर्वाचित भए ।

जवेगुको उम्मेदवारी किन ?
पार्टीमा भावनात्मक एकताको कायम गर्दे पार्टीका अग्रज नेताहरूलाई सम्मान र नयाँ युवाहरूलाई प्रोत्साहन गराउँदै पार्टीलाई क्रियाशील बनाई चलायमान गराउन, पार्टीको भातृभँगिनी, सुवेच्छुक सङ्गठनलाई क्रियाशील बनाउन, पार्टीको आफ्नै भवन निर्माणको निम्ति, पार्टीलाई विधि प्रक्रिया अवलम्बन गराउँदै अघि बढाउन, नेपाली काँग्रेसको साङ्गठनिक, वैचारिक रूपमा बलियो बनाउन आफ्नो सभापति पदको उम्मेदवारी रहने काँग्रेस पाँचथर जिल्ला सचिव तथा अव १४औ अधिवेशनका पाँचथर जिल्ला सभापति पदका उम्मेदवार जवेगुको भनाई छ ।

दाहालको राजनीतिक तथा सामाजिक पृष्ठभूमि
पाँचथरको तुम्वेवा गाउँपालिका वडा न. १ आङनामा स्वर्गीय बुवा चन्द्र बहादुर दाहाल र आमा सुभद्रा दाहालको कोखबाट वि.स. २००९ साल कार्तिक २३ गते जेठो सुपुत्रको रूपमा जन्म भयो, सानै उमेरदेखि सामाजिक र राजनीतिक क्षेत्रमा क्रियाशील दाहालको बाल्यकाल गाउँमै बित्यो, गाउँबाटै उनले एस.ई.ई उर्तीण गरे । 

वि.स. २०२९ सालमा पंचायतकालमा बचत सदस्य भए, वि.स. २०३२ सालमा वडा अध्यक्ष निर्वाचित भए,  वि.स. २०३६ सालमा बहुदल प्रचार समिति जिल्ला सदस्य भए, वि.स. २०३९ सालमा स्थानीय निकायमा प्रधानपञ्च भए, यस्तै वि.स. २०४७ सालमा नेपाली काँग्रेस पाँचथर जिल्ला सदस्य भए, यस्तै पार्टीको आठौँ, नवौँ, दशौँ,  अधिवेशनमा महाधिवेशन प्रतिनिधि र एघारौँ, बाह्रौँ, तेह्रौँ अधिवेशन बाट महासमिति सदस्य बने ।  यस्तै वि.स. २०५४ सालमा जिल्ला विकाश समितिको सदस्य बने, यस्तै गरिब सँग विश्वेश्वर कार्यक्रमको जिल्ला अध्यक्ष बने, बिपी चिन्तन प्रतिष्ठान पाँचथरको अध्यक्ष भए । 

२०६१ सालमा नेपाली काँग्रेसको पाँचथर जिल्ला सचिव निर्वाचित भए, यस्तै पार्टीको १२ औ र १३ औ अधिवेशनमा पार्टी जिल्ला सभापति पदमा पराजित भए । वि.स. २०७५ सालको प्रदेश सभाको ख क्षेत्रको उम्मेदवार भएर उठेका थिए, त्यहाँ पराजित हुन पुगे, अहिले पनि उनी निरन्तर राजनीतिक यात्रामै छन् ।

दाहालको उम्मेदवारी किन ?
गुटगत रहित पाँचथर जिल्लामा एउटै काँग्रेस निर्माण गर्नको निम्ति, पार्टीमा रहेका नेता कार्यकर्ताहरूमा समन्वयात्मक ढङ्गबाट काम गर्नको निम्ति पनि, पार्टीको सङ्गठन सुदृढीकरणमा जोड दिँदै पार्टीको सबै तह र तप्का, भातृभँगिनी संठगनलाई चुस्त दुरुस्त रूपमा सञ्चालन गर्नको निम्ति आफ्नो उम्मेदवारी रहने पार्टीका पूर्व जिल्ला सचिव तथा सभापति पदका उम्मेदवार दाहालको भनाई छ ।

प्रतिस्पर्धा
प्रतिस्पर्धा दुवै टिमको कडा रूपमा हुने देखिएको छ । पार्टीमा अहिले पनि बहालवाला सचिव भएर काम गरिरहेका जवेगु निरन्तर पार्टी र कार्यकर्ताको काममा खटिरहने इमानदार नेताको रूपमा कार्यकर्ता र नेताले हेरेका छन् । जसले गर्दा पनि जवेगुले दाहाललाई कडा टक्कर दिने सम्भावना बलियो देखिएको छ ।

धेरै दुख गरेको, र अब अन्तिम पल्ट उठ्ने भन्दै सभापति पदमा उठ्न लाग्नुभएका दाहालको निम्ति सहानुभूति मत बढी झर्ने काँग्रेसका नेता कार्यकर्ताहरू बताउँछन्, जसले गर्दा चुनाव जित्न सहज हुने उन निकटका नेताहरूको बुझाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ