arrow

भारतको इतिहासमै सबैभन्दा ठूलो मन्त्रिमण्डल, यसरी बनाइएको छ सन्तुलित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २४ बिहिबार
modi-cabinet.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतकै इतिहासमा सबैभन्दा ठूलो मन्त्रिमण्डल विस्तार गरेका छन् । उनको मन्त्रिमण्डल ७८ सदस्यीय भएको छ । बुधबार स्थानीय समयअनुसार साँझ ६ बजे सर्वार्थ सिद्धि योगमा प्रधानमन्त्री मोदी मन्त्रिमण्डलका ४३ जनाले शपथ लिए । शपथ लिनका लागि ३४ जनाले हिन्दी र ९ जनाले अंग्रेजी भाषा चुनेका थिए । 

डेढ घण्टासम्म चलेको शपथग्रहण कार्यक्रममा ३६ जना नयाँ मन्त्रीले शपथ लिए । मौजुदा रहेका ७ मन्त्रीको पदोन्नति भयो भने १२ जनाले राजीनामा दिए । 

मोदीले अनुराग ठाकुर, जीके रेड्डी, मनसुख मन्डाविया, किरन रिजिजू, आरके सिंह, हरदीप सिंह पुरी र पुरुषोत्तम रुपालाको पदोनन्नति गरेका छन् । उनीहरु राज्यमन्त्रीबाट मन्त्री भएका हुन् । 

नयाँ ३६ मन्त्रीमध्ये सबैभन्दा बढी उत्तर प्रदेशका ७ जना हुन् । जसमा अनुप्रिया पटेल, पंकज चौधरी, भानुप्रताव सिंह वर्मा, सत्यपाल सिंघ बघेल, कौशल किशोर, बीएल वर्मा र अजय कुमार हुन् । 

गुजरातबाट दर्शना विक्रम जरदोश, देवसिंह चौहान र महेन्द्र भाइमुन्जापारा मन्त्री भएका छन् । कर्नाटकबाट राजीव चन्द्रशेखर, शोभा कन्दरलाजे, ए नारायण स्वामी र भगवन्त खुबा मन्त्री भएका छन् । 

महाराष्ट्रबाट नारायण राणे, कपिल पाटिल, भगवत कृष्ण राव करान्ड र भारती प्रवीण पवार मन्त्री भएका छन् । 

पश्चिम बंगालबाट सुभाष सरकार, शान्तनु ठाकुर, जोन बारला र निशीथ प्रामाणिक मन्त्री भएका छन् । 

बिहारबाट पशुपति कुमार पारस र आरसीपी सिंह तथा मध्यप्रदेशबाट ज्योतिरादित्य सिन्धिया र वीरेन्द्रकुमार मन्त्री भएका छन् । 

ओडिशाबाट अश्विनी वैष्णव र विश्वेश्वर टुडू तथा असमबाट सर्बानन्द सोनोवाल मन्त्री भएका छन् । राजस्थानबाट भुपेन्द्र यादव, दिल्लीबाट मीनाक्षी लेखी, झारखण्डबाट अजय भट्ट, मणिपुरबाट राजकुमार रन्जन सिंह, त्रिपुराबाट प्रतिमा भौमिक र तमिलनाडुबाट एल मुरुगन मन्त्री भएका छन् । 

मोदीको टिममा ११ महिला, ७ नयाँ मन्त्री सात राज्यबाट रहेका छन् । 

उत्तर प्रदेशबाट अनुप्रिया पटेल, कर्नाटकबाट शोभा करन्दलाजे, गुजरातबाट दर्शना विक्रम जरदोश, दिल्लीबाट मीनाक्षी लेखी, झारखण्डबाट अन्नपूर्णा देवी, ओडिशाबाट प्रतिमा भौमिक, महाराष्ट्रबाट भारती प्रवीण पवार रहेका छन् । 

मन्त्रिमण्डलमा पहिले नै चार जना महिला मन्त्री रहेका थिए । जसमा वित्तमन्त्री निर्मला सीतारमण, कपडा मन्त्री स्मृति ईरानी, खाद्य मन्त्री साध्वी निरन्जन ज्योति र आदिवासी मामला राज्यमन्त्री रेणुका देवी हुन् । 

७७ मन्त्रीहरुलाई जातिगत रुपले विभाजन गर्दा ८ राज्यबाट १२ दलित मन्त्री भएका छन् । ८ राज्यबाट ८ आदिवासी मन्त्री भएका छन् । १५ राज्यबाट २७ ओबीसी मन्त्री भएका छन् र ५ राज्यबाट ५ अल्पसंख्यक मन्त्री भएका छन् । 

मन्त्रिमण्डलको औषत आयु ६१ वर्षबाट घटेर ५८ भएको छ । १४ मन्त्री ५० वर्षभन्दा कम उमेरका हुन् । ४६ मन्त्री पहिलेदेखि नै केन्द्रमा मन्त्री भइसकेका हुन् । 

२३ मन्त्री कम्तीमा ३ पटक सदस्य रहेर कमसेकम संसदीय कामकाजमा १० वर्षको अनुभव लिइसकेका हुन् । त्यस्तै ४ पूर्व मुख्यमन्त्री, १८ जनाले पहिले राज्यमा मन्त्री भइसकेका र ३९ पूर्व विधायक हुन् जसले राज्यमा विधायी कामकाज देखिसकेका छन् । 

व्यवसायीक रुपले पनि मोदी सरकारको मन्त्रिमण्डल सन्तुलित देखिएको छ । जसमा ६८ जना स्नातक हुन् । १३ जना वकिल हुन् । ७ पूर्व प्रशासक हुन् । ७ मन्त्री विद्यावारिधि प्राप्त हुन् । ६ जना डाक्टर हुन् । ५ जना इन्जिनियर हुन् । ३ मन्त्रीले व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ