arrow

जितको कीर्तिमान थप्दै इटाली युरोकपको फाइनलमा, स्पेन पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २३ बुधबार
euro-2020-italy.jpg

काठमाडौं । जितको कीर्तिमान थप्दै इटाली १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा पुगेको छ । इङ्गल्याण्डको बेम्बली रंगशालामा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै इटाली फाइनलमा प्रवेश गरेको हो ।

स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै इटाली दोस्रो उपाधि नजिक पुगेको हो । एक पटकको च्याम्पियन इटालीले उपाधिका लागि फाइनलमा ११ जुलाई राति इङ्गल्याण्ड र डेनमार्क बीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

स्पेन विरुद्धको खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा इटालीका आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको र जोर्गिन्होले गोल गरे । म्यानुएल लोकाटेली भने पहिलो प्रहारमै गोल गर्न चुके ।

स्पेनका मोरेनो जेरार्ड र थियागो अल्कान्टाराले मात्र गोल गर्दा डानियल ओल्मो र अल्भारो मोराटा गोल गर्न असफल भए ।

यसअघि ९० मिनेटको खेलको पहिलो पहिलो हाफमा गोलरहित बराबरी हुँदा दोस्रो हाफमा इटालीले शुरूआती अग्रता बनाएको थियो । ६० औं मिनेटमा फेडेरिको चिएसाले गोल गरेका हुन् । 

८० औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १–१ गोलको बराबरीमा फर्काए । त्यसपछि ९० मिनेटसम्म गोल भएन । थपिएको समयमा पनि गोल भएन र पेनाल्टी सुटआउटमा इटालीले बाजी मार्यो । 

क्वार्टरफाइनलमा स्पेनले स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराएको थियो । इटालीले बेल्जियममाथि २–१ गोल अन्तरको जित हासिल गरेको थियो । 

इटालीको जितको कीर्तिमान 
युरोकपको सेमिफाइनलमा हासिल गरेको जितसँगै सन् २०१८ को विश्वकपमा सहभागीता जनाउन नसकेको इटालीले त्यसयताका सबै खेलमा जित निकालेको छ । 

इटाली ३३ खेलमा अपराजित रहन सफल भएको छ । इटालीले यसअघि ८२ वर्ष अगाडिको आफ्नै कीर्तिमान भङ्ग गर्दै त्यसलाई थप फराकिलो बनाएको छ । इटालीले सन् १९३५ को अक्टोबरदेखि १९३९ को जुलाईसम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो ।  

युरोकपको दोस्रो सेमिफाइनलमा बुधबार राति इङ्गल्याण्ड र डेनमार्क खेल्दैछन् । खेल राति १२ः४५ बजे हुनेछ । इङ्गल्याण्ड पहिलो पटक उपाधि जित्न चाहन्छ भने डेनमार्क एक पटकको विजेता हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ