arrow

मुस्ताङमा पनि कोइलाखानीको अध्ययन तयारी

logo
प्रकाशित २०७३ असार २३ बिहिबार
ccccccccccccc.jpg.jpeg
मुस्ताङ । मुस्ताङको जोमसोमस्थित ठिनीमा पर्ने ताङ्दुङ भन्ने ठाउँमा रहेको कोइलाखानीको सरकारले अध्ययन गर्ने तयारी थालेको छ । 
 
उद्योगमन्त्री सोमप्रसाद पाण्डे नेतृत्वमा खानी तथा भूगर्भ विभागका विज्ञसहितको टोलीले हालै मुस्ताङका विभिन्न स्थानमा रहेको युरेनियम, पेट्रोल र नुनखानीको अध्ययन गरेसँगै कोइलाखानीको पनि अध्ययन हुन लागेको हो । जोमसोमबाट ठिनी हुँदै ताङ्दुङ जान सकिन्छ । 
 
विश्वको सबैभन्दा उच्च स्थानमा रहेको तिलिचो ताल जाने बाटोमै पर्ने कोइलाखानीमा बाहिरबाटै कोइलाका भाग देखिन्छ । त्यसलाई स्थानीयवासीले आगो बाल्नसमेत प्रयोग गर्दै आएको ठिनीका आशबहादुर थकालीले बताए ।
 
“बाहिरबाटै कोइला देखिन्छ, तर त्यसको अन्वेषण भएको छैन, यसको अध्ययन जरुरी छ”, उनले भने । विभिन्न खानीको अध्ययन गर्न आएको सरकारी टोलीले समय अभावका कारण कोइलाखानीको अनुसन्धान गर्न नपाएको भन्दै त्यसका लागि थप टोली पठाउने तयारी थालेको खानी तथा भूगर्भ विभागले जनाएको छ । 
 
उद्योगमन्त्री पाण्डेले कोइलाखानीको अध्ययनका लागि सरकारले प्राथमिकता दिएको बताए । “मुस्ताङमा विभिन्न स्थानमा रहेका खानीका अध्ययन गर्न सरकार योजनाबद्ध तरिकाले अघि बढ्छ, युरेनियम र कोइलाखानीका लागि थप टोली पठाउने योजना छ”, उनले भने । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ