arrow

पौडेलले निधिलाई भने, ‘पहिले काम सक्नुस्’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १६ बुधबार
poudel-nidhi-ram.jpg

काठमाडौं ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उपसभापति विमलेन्द्र निधिलाई पार्टी समायोजन र क्रियाशील सदस्यताको काममा ध्यान दिन आग्रह गरेका छन् । उपसभापति निधि बुधवार बिहान नेता पौडेललाई भेट्न उनकै निवास बोहेराटार पुगेका थिए । सो क्रममा निधिले १४औं महाधिवेशनका लागि आफू पार्टी नेतृत्वका लागि अघि बढेको भन्दै सहयोगको अपेक्षा गरेको बताएका थिए । 

जवाफमा पौडेलले नेतृत्वको कुरा सदस्यताको विवाद सकेपछि गर्न निधिलाई सुझाएका थिए । सो क्रममा पहिले समायोजनको काम र सदस्यताको विवादको काम मिलाउनेतर्फ अघि बढ्न निधिलाई पौडेलको आग्रह थियो । 
‘निधिजी भेटघाटका लागि आउनु भएको थियो, उहाँले महाधिवेशनमा आफूलाई सहयोग गर्न आग्रह गर्नु भयो, वरिष्ठ नेता पौडेलले सदस्यताको छानबिनको काम सकेर नेतृत्वबारे छलफल गर्न सकिने भन्नु भयो,’ पौडेल निकट स्रोतले भन्यो । 

कांग्रेस भित्र अहिले विजयकुमार गच्छेदारले नेतृत्व गरेको तत्कालीन लोकतान्त्रिक फोरम र सुनिल थापासँगै राप्रपा परित्याग गरेर आएकाहरूलाई दिएको क्रियाशील सदस्यताको विषयमा विवाद देखिएको छ । यस्तै कतिपय स्थानमा पार्टी समायोजनको काम पनि अन्योल हुँदै आइरहेको छ । 

कांग्रेसले समायोजनको काम गर्ने जिम्मेवारी भने उपसभापति निधि नेतृत्वको समितिलाई दिएको थियो । 

यस्तै क्रियाशील सदस्यताका विषय पनि पछिल्लो समय कांग्रेस भित्र पेचिलो बन्दै आइरहेको छ । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार हालसम्म पार्टीले बनाएको अनलाइन प्रणालीमा ८ लाख २० हजार सदस्यता इन्ट्री भएको बताउँदै आइरहेको छ । यस्तै बर्दिया, सिन्धुपाल्चोकसहितका केही जिल्लाले भने अझै पनि विवादका कारण सदस्यता पार्टीले बनाएको प्रणालीमा पठाएका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ