ओली पक्षले बुधवारको बैठकमा माधव नेपालसहित ११ नेतालाई नबोलाउने
हाम्रा कुरा
प्रकाशित २०७८ असार १५ मंगलबार
2.4k
Shares
फाइल तस्विर।
काठमाडौं। नेकपा एमालेको भोलि बस्ने भनिएको बैठकमा माधव नेपालसहित ११ नेतालाई नबोलाइने भएको छ ।एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक भोलि (बुधवार) बस्दै छ । सो बैठकमा नेपाल समूहका केही नेतालाई बोलाइएको भए पनि ११ नेतालाई भने बोलाइएको छैन ।
एमाले पार्टी कार्यालय स्रोतका अनुसार नेता नेपालसहित झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्कासहितका ११ नेतालाई बैठकका लागि खबर गरिएको छैन । नेता खनाल भने उपचारका लागि भारतमा छन् ।
यसअघि कारबाहीमा परेकाबाहेक अरु नेताहरूलाई बैठकमा बोलाइएको प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतले जनाएको हो । भोलि बस्ने बैठकमार्फत यसअघि बनाइएको एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी विघटन गर्ने तयारी छ ।
एमाले अध्यक्ष ओलीले गत २८ फागुनमा ओलीले दशौं महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए । सो कमिटीलाई सर्वोच्च अदालतले भने अस्वीकार गरिसकेको छ ।
भोलि बस्ने बैठकले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गर्नेसमेत तयारी छ ।
केन्द्रीय कमिटी रूपान्तरण भएपछि नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू स्वतः सक्रिय हुने छन् ।
महाधिवेशन आयोजक कमिटीका एजेण्डा तय गर्न र राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यहरूको बारेमा टुङ्गो लगाउन एमाले स्थायी कमिटी बैठक आज साँझ बस्ने बताइएको छ ।