arrow

विश्वकप विजेता फ्रान्सको युरो यात्रा समाप्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १५ मंगलबार
Euro-swi-fra.jpg

काठमाडौं। गत युरोको उपविजेता एवं २०१८ विश्वकप फुटबलको विजेता फ्रान्स दोस्रो चरण (राऊण्ड अफ सिक्सटिन)बाट बाहिरिएको छ। स्विजरल्याण्ड विरुद्धको खेलमा टाई ब्रेकरमा ४-५ले पराजित हुँदै युरोकपको यात्रा टुङ्गिएको छ।

फ्रान्सका स्टार खेलाडी काईलिन एमबाप्पेले टाई ब्रेकरमा गोल गर्न नसक्दा फ्रान्स पराजित भएको हो। पहिलो चार पेनाल्टीमा दुवै टोलीले गोल गरेका थिए। एमबाप्पेको पेनाल्टीलाई स्विस गोलकिपर यान सोमरले बचाउ गर्दा स्विजरल्याण्ड विजयी भएको हो।

निर्धारित ९० मिनेटमा तीन तीनको स्थिति पछि थपिएको आधा घण्टामा कुनै गोल हुन नसक्दा खेल टाई ब्रेकरमा पुगेको थियो। निर्धारित ९० मिनेटको खेल निकै रोमाञ्चक रहेको थियो।

खेलको १५औं मिनेटमा स्विजरल्याण्डले अग्रता लिएको थियो। उसका लागि ह्यारिस सेफेरोविचले गोल गरेका थिए। पहिलो हाफ सकिंदा स्विजरल्याण्डले १-०को अग्रता कायमै राखेको थियो।

राम्रो लयमा रहेका फ्रान्सका स्ट्राईकर करिम बेन्जेमाले २ मिनेटमा दुई गोल गर्दै दोस्रो हाफमा फ्रान्सलाई अग्रता दिलाएका थिए। उनले ५७औं र ५९औं मिनेटमा गोल गरेपछि फ्रान्सको जित निश्चित जस्तो देखिएको थियो। एक गोलको अग्रतालाई फ्रान्सका पल पोग्बाले ७५औं मिनेटमा दोब्बर पारेका थिए।

खेलको ५५औं मिनेटमा स्विजरल्यण्डका रोड्रिग्वेजले पेनाल्टीमा गोल गर्न  सकेका थिएनन्। उनको प्रहार फ्रान्सका किपर ह्युगो लोरिसले रोकेका थिए। दुई गोलको अग्रता रहको फ्रान्स ८०औं मिनेटसम्म ढुक्क देखिन्थ्यो। ८१औं मिनेटमा ह्यारिस सेफेरोविचले दोस्रो गोल गर्दै खेल ३-२को स्थितिमा ल्याएका थिए। खेलको ९०औं मिनेटमा मारिओ गाव्रानोविचले गोल गर्दै खेल ३-३को बराबरीमा पुर्‍याएका थिए।

सन् २०१८को विश्वकप विजेता फ्रान्सले क्वार्टरफाइनलको यात्रा गर्न नपाएकोलाई फ्रान्सको पत्रपत्रिकाले 'धेरै माथिबाट खस्यो' भनेर टिप्पणी गरेका छन्। उक्त विश्वकपमा एमबाप्पेले प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीको उपाधि जितेका थिए भने तीन वर्षमा उनले पेनाल्टीमा गोल गर्न नसक्दा टोली राउण्ड अफ सिक्सटिन बाट बाहिरिनु परेको छ। यो प्रतियोगिता एमबाप्पेका लागि बिर्सन लायक रहने छ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ