भविष्यमा फ्लोरक्रस, पार्टी विभाजन, अपवित्र गठबन्धन वैधानिक हुने देखियो : कमल थापा
हाम्रा कुरा
प्रकाशित २०७८ असार १३ आइतबार
753
Shares
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विद्यमान चुनाव प्रणालीको कारण साधारणतया एउटै दलले पूर्ण बहुमत पाउने संभावना कम भएको औंल्याएका छन् ।
अध्यक्ष थापाले आइतकार सामाजिक संजालमार्फत प्रतिक्रिया जनाउँदै संविधानको धारा ७६(५)लाई निर्दलीय आधारमा प्रयोग गर्न पाइने नजिर कायम भए भविष्यमा फ्लोरक्रस, पार्टी विभाजन, अपवित्र गठबन्धन र अस्थिरता नियमित र वैधानिक हुने पनि बताएका छन् ।
उनले लेखेका छन्, ‘विद्यमान चुनाव प्रणालीको कारण साधारणतया एउटै दलले पूर्ण बहुमत पाउने संभावना कम छ। त्यस अवस्थामा संविधानको धारा ७६(५)लाई निर्दलीय आधारमा प्रयोग गर्न पाईने नजिर कायम भयो भने भविष्यमा फ्लोरक्रस, पार्टी विभाजन, अपवित्र गठबन्धन र अस्थिरता नियमित र वैधानिक हुनेछ। के संविधानको आशय त्यही हो ?’
त्यस्तै थापाले हालको अस्थिरता र संकट समाधानको सहज, प्रजातान्त्रिक र संवैधानिक बाटो चुनाव भएको पनि बताएका छन् ।
उनले प्रतिगमनको त्रास देखाएर चुनावको विरोध गर्नेहरूले प्रजातन्त्र र संविधानलाई बलियो बनाउन होईन, बिदेशीलाई ‘कम्फर्टेबल’सरकार बनाई भ्रष्टाचार, सर्वसत्तावाद र अस्थिरताको नयाँ श्रृङ्खला चलाउन खोजेको पनि आरोप लगाएका छन् ।