arrow

निधिको सक्रियता: समकालीनलाई ‘लन्च’ युवा नेतालाई ‘डिनर’ 

नौ युवा नेताले भने शीर्ष नेता ‘डीपार्चर’ हुनु पर्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ७ सोमबार
Bimlendra-nidhi-youth.jpg

काठमाडौं। नेपाली कांग्रेस भित्र महाधिवेशनको सरगर्मी शुरु भएसँगै उपसभापति विमलेन्द्र निधिले आफूलाई उम्मेदवारको रूपमा व्यस्त बनाउँदै लगेका छन् । 

आज बिहान आफ्नो विवाह वर्ष उत्सव पारेर पार्टीका वर्तमान महामन्त्री डा. शशाङ्क कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहलाई मध्य बानेश्वरस्थित निवासमा बोलाएर लन्च मिटिङ गरेका निधिले आजै साँझ कांग्रेसका नौ युवा नेतालाई ‘डिनर’ सहितको मिटिङ राखेर आगामी महाधिवेशन बारे छलफल गरेका हुन् । 

बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको साँझको छलफलमा कांग्रेसका युवा नेताहरू डा चन्द्र भण्डारी, गगन थापा, गुरुराज घिमिरे, धनराज गुरुङ, दिपक गिरी, सरिता प्रसाइ, बद्री पाण्डे, प्रदिप पौडेल र जीवन परियार सहभागी थिए । 

सो छलफलमा निधिले युवा नेताहरूमाझ आफू आगामी महाधिवेशनमा पार्टी नेतृत्वका लागि अघि बढेको सन्देश दिएका थिए । 

‘उपसभापति ज्यूले म सभापतिका लागि अघि बढे., तपाइहरूको सहयोग आवश्यक छ भनेर युवा नेताहरूलाई भन्नु भयो, युवा नेताहरूले पार्टीलाई नयाँ पुस्ता चाहिएको छ, शेरबहादुर दाइ र रामचन्द्र दाइले ‘डीपार्चर’ हुनु पर्छ,’ भन्ने धारणा राख्नु भयो,’ छलफलबारे जानकारी दिंदै निधिका प्रेस सल्लाहकार रामजी दाहालले हाम्राकुरासँग भने । 

छलफलमा सहभागी युवा नेताहरूले भने पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अब पार्टी संरक्षकका रूपमा बसेर ‘डीपार्चर’ हुनु पर्ने धारणा राखेका हुन् । 

बैठकमा बोल्ने सबै जसो युवा नेताहरूले देउवा र पौडेलले अब पार्टीको नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्नु पर्ने भन्दै आगामी नेतृत्व सर्वसम्मत गर्न दुवै शीर्ष नेता समर्थक र प्रस्तावक बस्नु पर्ने धारणा राखेका थिए । 

युवा नेताहरूले निधिलाई सभापतिमा दाबी गर्दै आएका नेता डा. शेखर कोइरालासँगसमेत भेटेर सल्लाह गर्न सुझाएका छन् । 

यसअघि निधिले २ असारमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र शनिवार नेता बलबहादुर केसीलाईसमेत भेटेर सहयोग गर्न आग्रह गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ