arrow

भण्टावारीबाट तस्करी भएको ३ ट्रक स्याउ भारतमा बरामद, एसपी थापा शंकाको घेरामा

एसपी थापाको भतिजको सिमा नाकामा पोष्टिङ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ७ सोमबार
sp-kamal-thapa.jpg

सुनसरी । भारतसँग सिमा जोडिएको तराईको रणनीतिक महत्वपुर्ण जिल्ला सुनसरी सुरक्षा संवेदनशिलता तथा राजस्व छली गरी सीमाबाट हुने चोरी पैठारी जस्ता घटनाले सुरक्षाको उच्च प्राथमिकतामा पर्ने गर्दछ ।

तर लगभग १ बर्ष यता सुनसरी प्रहरीको फितलो उपस्थितिले सुनसरी हुँदै भारतबाट विभिन्न उपभोग्य वस्तु तथा नेपालबाट पेट्रोलियम पदार्थ, हरियो मटर, सुपारी तथा मरिच जस्ता खाद्य वस्तु भारततर्फ तस्करी बढेको पाइएको छ ।

सुनसरी जिल्लामा सरुवा भएर आएपछि नेपाल प्रहरीका एसपी कमल थापामाथि आर्थिक चलखेलको आरोप लागेको थियो । एसपी कमल थापा आर्थिक प्रलोभनमा परी कमाउ धन्दामा लागेको भन्दै १ नं. प्रदेश प्रहरी कार्यालय बिराटगर र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा समेत उजुरी परेको थियो ।

पटक पटक आर्थिक प्रलोभनमा परी विवादमा परेका एसपी थापाकै कार्यकालमा सुनसरीको खुल्ला सिमा हुँदै ३ ट्रक चाईनिज स्याउ भारत लगिएपनि भारतीय प्रहरीले पक्राउ गरेपछि सुरक्षाको नाममा भइरहेका चलखेल उदाङ्गो भएको हो।

निषेधाज्ञाको समयमा सिमामा समेत कडाई भईरहेको अवस्थामा जिल्ला स्थित प्रहरीको उच्च अधिकारीको संलग्नता बिना ठूलो परिमाणमा स्याउ कसरी भारत निकासी हुन सक्छ भन्दै सीमावर्ती स्थानीय बासिन्दाले सुरक्षा निकायलाई प्रश्न गरेका छन्।

प्रहरीको संरक्षण र संलग्नता बिना यति ठुलो परिमाणमा गाडी सहित स्याउ भारत पुर्याउन कल्पना समेत गर्न नसिकने भण्टाबारीका स्थानीय दिलिप कामतले बताए ।

भारतसँग सिमा जोडिएको सुनसरीको प्रमुख व्यापारिक नाकाको रुपमा रहेको भण्टाबारी कमाईका हिसाबले आर्कषक स्थान भएकाले एसपी कमल थापाले उक्त स्थानमा गत जेठ १७ गते आफ्नै भतिज पर्ने सई गंगा थापालाई खटाएको स्रोतले जनाएको छ ।

सुनसरीमा कार्यभार सम्हालेदेखि नै एसपी थापाले आफु आईजीपीको खास व्यक्ति भएको र सत्तारुढ एमालेका प्रभावशाली केन्द्रीय नेतासँग सिधा सम्पर्क भएको भन्दै भित्री हिसाबले आर्थिक चलखेल गर्नकै लागि भन्दै आफुसँगै ल्याएका घुमुवा परिचालन गरी कमाउधन्दाको बन्दोबस्त मिलाएको प्रहरी भित्रै चर्चा हुने गरेको छ।

एसपी थापाले केही जनप्रतिनिधिसँगको मिलेमतोमा भारतसँग सिमा जोडिएका नाकाको मासिक शुल्क नै तोकेको र तस्करले मासिक १५ लाख देखि २० लाख रुपैंयासम्म सुनसरी प्रहरीलाई बुझाउने गरेको स्रोतले जानकारी दियो ।

कोरोना कहर नियन्त्रणका लागि लगाईएको निषेधाज्ञाकै समयमा नेपाली नम्बर प्लेटका ३ वटा ट्रकमा ३ हजार ३ सय ५० कार्टुन चाईनिज स्याउ भारतीय भुमिमा पुग्नु सानो तस्करी नभएको कोशी गाँउपालिका ७ का बासिन्दा बिरेन्द्र यादवले बताए ।

उनले भने प्रहरीसँगको मिलेमतोमै यो सबै घटना भएको हो भन्ने प्रष्ट हुन्छ । लकडाउनका बेला कसैले थाहा नपाउन भनी सिसिटीभि समेत बन्द गरि माल भारततर्फ कटाएको तर भारतीय प्रहरीले पक्राउ गरेपछि घटना सार्वजनिक हुनुले यसभन्दा अघि पनि दैनिक विभिन्न मालवस्तु तस्करी गरेको त प्रष्टै भएको यादवको तर्क छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र १ नं. प्रदेश प्रहरी कार्यालयको छानबीन समेत भोगिसकेका एसपी थापाले मोलमोलाई नमिलेका र भनेजति रकम बुझाउन नसक्ने व्यापारीहरुको माल पक्राउ गरी काम गरेजस्तो देखाउन प्रचारबाजी समेत गर्ने गरेको स्रोतको भनाई छ । तर हरेक सिमा नाकामा एसपी थापाले आफु अनुकुल नजिकका जुनियर प्रहरी अधिकृत खटाई असुली धन्दा जारी राखेको स्रोतको दाबी छ ।

सुनसरी प्रहरी कमाउ धन्दामै लागेको संकेत गर्दै केही दिन अघिमात्र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा सुनसरीका पत्रकार ईक्बाल अहमदले सुनसरीमा राष्ट्रिय अनुसन्धान कार्यालय पनि छ के गर्दैछ ? सिमा क्षेत्रमा देखिएको लापरबाही बारे जानकारी थिएन कि तस्करीमा भागबण्डाका मतियार तिनी पनि हुन । खोजीको गम्भीर विषय बनेको छ भन्दै जिल्लामा चोरी तस्करी मौलाएकोमा सामाजिक सञ्जाल फेसबुकमै असन्तुष्टि पोखेका थिए ।

पत्रकार अहमदले सामाजिक सञ्जाल फेसबुकमै सिमा सुरक्षामा सुनसरीका सुरक्षा निकाय असफल बनेको टिप्पणी गर्दै सिमा शिल भएको अवस्थामा पनि तीन ट्रक स्याउ बोकेका नेपाली ट्रक भारतीय सहर बिरपुर कसरी पुग्यो भनि प्रश्न तेस्र्याएका थिए । उनले तस्करीमा मतियारहरुलाई खोजी खोजी कारबाही गर्न माग गरेका थिए ।

अहिले सम्मका यि सबै तथ्यलाई हेर्ने हो भने सुनसरी प्रहरी कमाउ धन्दामा लागेको प्रष्ट छ । सुनसरीमा दिनदहाडै पेट्रोलियम पदार्थ तस्करी हुने गरेको तस्वीर नेपाल सरकारका पूर्व सचिव भीम उपाध्याय समेतले सार्वजनिक नगरेका होइनन् । यी सबै घटनाक्रमलाई हेर्दा सुनसरीका एसपी कमल थापाको ध्येय जसरी हुन्छ कमाउ धन्दालाई टिकाईराख्ने नै देखिने गरेको उनीमाथी आरोप लाग्दै आएको छ।

पटक पटक विवादमा तानिएको र ठूलो परिमाणमा तस्करी गरि भारत पुर्याईएको स्याउ समेत भेटिईसकेको अवस्थामा सुनसरी प्रहरी प्रमुख थापामाथि प्रहरीले छानविन गरी कारवाही गर्नुपर्ने दवाव प्रहरीभित्रै परेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ