arrow

कांग्रेसमा नेतृत्वको दावेदारी

जब देउवाले निधीलाई ‘महाधिवेशनमा जो पनि उठ्न पाउँछ, उठ्नुस्’ भने

होला त कांग्रेस सभापतिमा संस्थापन भित्रै भिडन्त ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ६ आइतबार
deuba-nidhi-congress.jpg
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसले गत शुक्रबार मात्रै पार्टीको १४औं महाधिवेशनको संशोधित कार्यतालिकालाई अनुमोदन गर्यो । कार्यतालिका अनुमोदन भएलगत्तै कांग्रेसभित्र महाधिवेशनको माहोल शुरु भएको छ । कांग्रेसका हालका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १६ देखि १९ भदौसम्म हुने १४औं महाधिवेशनमा फेरि एक पटक आफू सभापतिको उम्मेदवारका रुपमा मैदानमा उत्रने आन्तरिक उद्घोषसमेत गरेका छन् ।
 
सभापति देउवाले शनिबार प्रदेश १ र २ बाट पार्टी केन्द्रमा प्रतिनिधित्व गर्ने आफू निकट नेताहरुलाई आफ्नै निवास बुढानीलकण्ठ निवासमा बोलाएर महाधिवेशनमा पुनः एक पटक आफू सभापतिको उम्मेदवार बन्ने बताएका हुन् । सो क्रममा देउवाले महाधिवेशन निर्धारित मितिमा नै हुने र आफू पार्टीको नेतृत्वका लागि सभापतिमा एक पटक पुनः उठ्ने भन्दै महाधिवेशन प्रतिनिधिहरु समक्ष आफ्नो सन्देश पुर्याइदिन भनेका छन् ।
 
‘अब महाधिवेशन निर्धारित मितिमा नै हुन्छ, म एक पटक पुनः सभापतिमा उठ्छु, महाधिवेशन प्रतिनिसिमक्ष पनि तपाईहरुले यो सन्देश पुर्याउनु होला,’ देउवाले आफू निकट प्रदेश १ र प्रदेश २ का नेताहरुलाई शनिबारको भेटमा भनेका छन् । 

बिहान प्रदेश १ का नेताहरुलाई भेटेका देउवाले दिउँसो प्रदेश २ का आफू निकट नेताहरुलाई निवास बोलाएका थिए । प्रदेश २ बाट पार्टी केन्द्रमा प्रतिनिधित्व गर्ने उपसभापति विमलेन्द्र निधी, नेता आनन्दप्रसाद ढुंगाना र जंगिलाल राय यादव छलफलका लागि देउवा निवास पुगेका थिए । प्रदेश २ बाट केन्द्रमा प्रतिनिधित्व गर्ने अर्का नेता रमेश रिजाल भने गृह जिल्ला पर्सा रहेकाले बैठकमा पुगेका थिएनन् ।
 
सो छलफलमा समेत देउवाले आफू महाधिवेशनमा पार्टी नेतृत्वका लागि उठ्ने बताएपछि उपसभापति निधीले देउवालाई ‘मलाई सघाउनुस्’ भन्दै आग्रह गरेका थिए । निधीको सो आग्रहपछि देउवाले यस पटक आफू उठ्ने र अर्को पटक सघाउने भन्दै निधीलाई आफूलाई सघाउने गरी वातावरण बनाउन भनेका थिए । 

देउवाको सो आग्रहलाई भने निधिले ‘तपाईलाई प्रधानमन्त्रीमा सघाउँछु, मलाई यसपटक सभापतिमा सघाउनुस्, तपाईकै सहयोगमा म सभापति उठ्छु यसो गर्दा पार्टी पंक्तिमा राम्रो सन्देश जान्छ’ भन्दै आग्रह गरेका थिए । 

निधीको सो आग्रहपछि देउवाले भने ‘महाधिवेशनमा जो पनि उठ्न पाउँछ, उठ्नुस्’ भन्दै असहज जवाफ दिएका थिए । गत वर्ष पनि निधिले एक्कासी सभापतिमा आफू उठ्ने भन्दै देउवालाई सघाउन आग्रह गरेका थिए । 

कांग्रेस सदस्य मीन विश्वकर्माले नेताहरुले सभापतिमा उम्मेदवारी दिने दाबी गर्नु स्वभाविक भएको बताए । ‘उम्मेदवारी बन्छु भन्नु स्वभाविक हो, त्यो विषयमा फेरि छलफल हुन्छ, सभापतिमा यस पटक देउवाजीलाई नै उठाउनु पर्ने अवस्था छ, देशको राजनीतिक अवस्था पनि त्यस्तै छ,’ नेता विश्वकर्माले हाम्राकुरासँग भने । 

उनले देउवालाई नै टक्कर दिन सोही समूहबाट अर्को उम्मेदवार भने बन्ने सम्भावना नरहेको बताए । विश्वकर्माले पार्टी भित्र सहमति गरेरै सभापतिमा देउवा निर्विरोध हुने सम्भावना पनि रहेको दाबी गरे । 

‘छलफल बहस त हुन्छ नै, तर मलाई यस पटक सहमतिमा नै सभापति छानिन्छ भन्ने लाग्छ, सभापतिमा देउवा नै सर्वसम्मत बन्ने सम्भावन पनि छ, आगामी निर्वाचनलाई ध्यान दिन पनि यसपटक हामीले देशलाई नै नयाँ सन्देश दिनु पर्ने छ,‘ विश्वकर्माले भने । 

इतर पक्ष भने अहिले मौन देखिएको छ । अब तात्ने बेला आएको छ । इतर पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आफै कस्सिएका छन् । तर महामन्त्री डा. सशांक कोइराला पनि प्रमुख दावेदार हुन् । प्रकाशमान सिंह पनि इच्छा गरिरहेका छन् । त्यस्तै यसपालि कोइरालाको विरासत जोगाउनु पर्छ भन्दै सुजाता कोइराला र डा. शेखर कोइराला पनि सभापति बाहेक अन्य पदमा नलड्ने बताइरहेका छन् । 

यस्तै सभापतिका लागि कृष्णप्रसाद सिटौला सदावहार प्रतिस्पर्धी हुन् । 

कांग्रेसले शुक्रबार मात्र पार्टीको १४औं महाधिवेशनको संशोधित कार्यतालिकालाई केन्द्रीय समिति बैठकमार्फत अनुमोदन गरेको थियो । जसअनुसार गाउँ– नगर वडा अधिवेशन १२ साउन, गाउँ–नगरपालिका अधिवेशन १६ साउन, प्रदेश सभा क्षेत्रीय अधिवेशन २० साउन, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन–एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २३ साउन, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउन र प्रदेश अधिवेशन १ र २ भदौमा हुने छ । केन्द्रीय महाधिवेशन १६ देखि १९ भदौसम्म हुने तय भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ