arrow

ग्रुप अफ डेथको रोमाञ्चकता, हंगेरीले फ्रान्सलाई रोक्यो, अन्तिम खेलबाटै छिनोफानो 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ६ आइतबार
euro-2020-france-hungary.jpg

काठमाडौं । हंगेरीले १६ औं संस्करणको युरोकप फुटबलमा फ्रान्सलाई बराबरीमा रोकेको छ । ग्रुप अफ डेथको खेलमा फ्रान्सलाई रोकेसँगै हंगेरीले राउन्ड अफ सिक्सटिनमा पुग्ने सम्भावना जिवितै राखेको छ । 

हंगेरीको बुडापेस्टस्थित पुस्कास एरिनामा शनिबार राति सम्पन्न भएको खेलमा हंगेरीले फ्रान्ससँग १–१ गोलको बराबरी खेलेको हो । रोमान्चक बनेको खेलमा शुरूआती अग्रता घरेलु टिम हंगेरीले लियो । 

पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा एट्टिला फिओलाले गोल गर्दै हंगेरीलाई अग्रता दिलाए । 

६६ औं मिनेटमा एन्टोनियो ग्रीजम्यानले गोल फर्काए । अत्यन्त शान्त लागेको खेलमा दुवै टिमका एक एक खेलाडीले पहेंलो कार्ड खाएका थिए । 

विश्वकप विजेता फ्रान्सले एकतर्फी पकड जमाएको भए पनि थप गोल गर्न नसक्दा बराबरीमै रोकिन पुग्यो । 

गोलका लागि गरेका प्रयास खेर गए । फ्रान्सले ४ वटा गोलका प्रयास गरेकामा एउटामात्र सफल भयो । 

पहिलो हाफमै करिम बेन्जिमा र केलियन एमबाप्पेले पाएको मौकामा गोल गर्न सकेनन् भने दोस्रो हाफमा ओसुमाने डेम्बेलेको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

फ्रान्सले खेलभर ६१ प्रतिशत बल नियन्त्रणमा लिएको थियो । दुवै टिमले फाउल भने निकै गरे । ३२ फाउल भएको खेलमा हंगेरीले १७ तथा फ्रान्सले १५ फाउल गरेको थियो । 

ग्रुप अफ डेथको रोमाञ्चकता र अंक तालिका
यो बराबरीले ग्रुप अफ डेथको खेल रोमाञ्चक बनेको छ । पहिलो खेलमा जर्मनीलाई १–० ले हराएको फ्रान्सलाई दोस्रो खेल जित्न गाह्रो भयो । 

पहिलो खेलमा पोर्चुगलसँग ३–० ले हारेको हंगेरीले फ्रान्समाथि बराबरीको दम बनायो । तर जर्मनी भने पोर्चुगललाई ४–२ ले पराजित गर्न सफल भयो । 

समूहका अन्तिम खेलमा अब फ्रान्स र पोर्चुगल तथा जर्मनी र हंगेरी खेलेपछि राउन्ड अफ सिक्सटिनमा पुग्ने टिमको टुंगो लाग्नेछ । 

अहिले फ्रान्स २ खेलबाट ४ अंकसहित पहिलो, जर्मनी ३ अंकसहित दोस्रो, पोर्चुगल ३ अंकसहित तेस्रो तथा हंगेरी १ अंकबाट चौथो स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ