arrow

पार्टीको वैधानिकता दाबी गर्दै उपेन्द्र यादव पक्ष निर्वाचन आयोगमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ४ शुक्रबार
election-commission1-1618997712.jpg
फाइल तस्विर

काठमाडौँ । जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र यादव पक्ष पार्टीको वैधानिकता माग दाबी गर्दै निर्वाचन  आयोग गएको छ ।  अध्यक्ष यादवसहितका नेताहरू पार्टीको वैधानिकता दाबी गर्दै शुक्रवार आयोग पुगेका हुन् ।

बिहीबार बसेको जसपाको यादव पक्षीय कार्यकारिणी समितिको बैठकले निर्वाचन आयोग गएर पार्टीको वैधानिकता दाबी गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार ३० जना कार्यकारिणी सदस्यको हस्ताक्षरसहित यादव पक्ष आयोग गएको हो । यो समूहले यसअघि १७ जेठमा अर्का अध्यक्ष महन्थ ठाकुर सहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको थियो भने सो निर्णय आयोगमा अभिलेखीकरण गरिदिन भन्दै पत्र पठाइएको थियो । 

त्यसपछि जसपाको महन्त ठाकुर पक्षले पनि यादव पक्षलाई कारवाही गर्ने निर्णय गर्दै आयोगलाई अभिलेखीकरण गर्नका लागि पत्र पठाएको थियो ।  त्यसपछि आयोगले ३० जेठमा दुवै पक्षको कारबाही पार्टीको विधान अनुसार नभएको र दल दर्ता किताबमा अभिलेखीकरण गर्न नमिल्ने भन्दै पत्र खारेज गरिदिएको थियो । 
आयोगको सो निर्णयपछि यादव पक्षले फेरी राजनीतिक दल सम्बन्धी ऐन-२०७३ को दफा ४३ अनुसार दलको वैधानिकता दाबी गरेको हो । 

यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राउतलगायत शीर्ष नेताहरू आधिकारिकता दाबी गर्न आयोग पुगेका थिए । आयोगमा यादव पक्षका ३० जना कार्यकारिणी सदस्यहरूले हस्ताक्षरसहित निवेदन दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ