arrow

चुरेको व्यथा

चुरे दोहनले त्रास, बर्खासँगै थपियो चिन्ता

चुरे नियन्त्रणको लागि छुट्टै ऐन कानून छैन, पहिरोले मालिक बने सुकुम्वासी

logo
विवेक मिश्र, 
प्रकाशित २०७८ जेठ ३० आइतबार
chure-pahiro.jpg

मोरङ । नेपालमा पूर्व इलामदेखि पश्चिम कन्चनपुरसम्म ३७ वटा जिल्लाहरुमा फैलिएको र कुल भूभागको १२.७८ प्रतिशत चुरे क्षेत्रमा पर्दछ । तर लगातारको चुरे दोहनका कारण पूर्वी नेपालका सयौं बस्ती पहिरोको चपेटामा छन् । 

स्थानीय तहहरुले आफ्नो भरपर्दो आम्दानीको श्रोतको रुपमा लिएको खोला नदी ठेक्का पनि एक हो । जसको दीर्घकालीन र प्रत्यक्ष असर चुरे पहाडमा पर्छ । बर्सेनि बर्खाको समयमा पहिरो जाँदा गाउँ नै विस्थापित हुनुपर्ने बाध्यता आएको छ । 

चुरे दोहनका कारण पहिरोको मात्र होइन, जमिन भासिने समस्या पनि उत्तिकै छ । सामान्यतया पूर्ण रुपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट बग्ने नदीहरु यही चुरे क्षेत्र भई तराईतर्फ बग्ने हुँदा प्राकृतिक रुपले यो क्षेत्र अत्यन्त संवेदनशील रहेको छ ।

सरकारले केही वर्ष अघिमात्र राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति नै बनाएको छ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति अन्तर्गत मोरङको सुन्दरहरैचास्थित कार्यक्रम कार्यान्वयन इकाई रहेको छ । 

यस प्रकारका इकाई देशभरमा ५ स्थानमा रहेका छन् । सुन्दरहरैचामा रहेको यस कार्यालयको इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा र उदयपुर गरी ७ जिल्ला कार्यक्षेत्र रहेको छ । तर चुरे नियन्त्रणको लागि छुट्टै ऐन कानून नभएको कारण व्यवस्थापनका कठिनाई देखिन्छ ।

इलाम रोङ गाँउपालीका ४ प्युरेका भीमबहादुर मगर तीन वर्षअघिसम्म २८ रोपनी जग्गा र एउटा घरका मालिक थिए । धनीपुर्जाका आधारमा २८ रोपनी जग्गा अझै उनकै नाममा छ । तर पहिरोले उनी सुकुम्बासी भएका छन् । सबै जग्गा र घर पहिरोसँगै बग्यो । 

अहिले उनी अर्काको घरमा शरण लिएर बसेका छन् । ३ वर्षअघि मोरङको लेटाङ नगरपालीका १ स्थित अँधेरी खोलामा आएको पहिरोले २ घर पुरिएको थियो जसमा एक जनाको ज्यानसमेत गएको लेटाङ १ का वडाध्यक्ष विष्णु मगरले बताए ।

त्यसैगरी मोरङको केराबारी गाँउपालीका २ नम्बर वडास्थित गत साउनमा गएको पहिरोले ३ घर विस्तापित हुन पुगे जसमा एक महिलालाई पहिरोले पुरेर मृत्यु भएको केराबारी गाँउपालिकाकी उपाध्यक्ष शान्ति कुमारी लिम्बु बताउँछिन् । 

उपाध्यक्ष लिम्बु केराबारीस्थित रहेको चुरे क्षेत्रका थुप्रै खेतियोग्य जमीन बर्सेनि पहिरोले बगाउने गरेको बताउँछिन् । बैशाखमा सोही गाउँपालिकाको चुरे क्षेत्रस्थित अनुगमनमा जाने क्रममा आफ्नै गाडी पहिरोले पुरेको उनी बताउँछिन् । ‘धन्न गाडी रोकेर सबै बाहिर निस्किएको समयमा पहिरो गयो र मात्र हामी बाँच सफल भयौँ’ उपाध्यक्ष लिम्बुले भनिन् । 

विकासका नाममा जथाभावी खनिएका सडक र त्यही सडकले छियाछिया बनेको पहाड चुरे दोहनको प्रमुख कारण हुन सक्छ । त्यसैले जिम्मेवार निकाय समयमै सचेत नबने चुरे सकिएर खेतीयोग्य तराईका जमीन बगरमा परिणत नहोला भन्न सकिँदैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ