arrow

एनसेलले परिमार्जन गर्‍यो १९ देशको अन्तर्राष्ट्रिय कल शुल्क

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २५ मंगलबार
ncell-axiate-company-logo.jpeg
फाइल तस्बिर

काठमाडौँ। एनसेल आजियाटा लिमिटेडले जेठ २१ देखि लागु हुने गरी विश्वका १९ देशहरूको अन्तर्राष्ट्रिय कल शुल्क परिमार्जन गरेको छ। नयाँ शुल्कहरू नेपाल दूरसञ्चार प्राधिकरणले अन्य दूरसञ्चार सेवा प्रदायकलाई प्रदान गरेको स्वीकृत शुल्क तथा कल दर अनुसार नै रहेका छन्।

गत जेठ ९ गते  नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई इटाली, माल्टा, जर्मनी, ताजिकस्थान, जोर्डन, थाइल्याण्ड, लाटभिया, स्लोभेनिया, माल्दिभ्स, बेल्जियम, इस्टोनिया, क्रोएशिया, फिनल्याण्ड, नेदरल्याण्ड, बुल्गेरिया, सिरियन अरब रिपब्लिक, लिथुआनिया र साइप्रस गरी १९ देशहरूका लागि नयाँ अन्तर्राष्ट्रिय कल शुल्कको स्वीकृति प्रदान गरेको थियो। प्राधिकरणबाट प्राप्त यो स्वीकृतिसँगै यी देशहरूका लागि एनसेलको अन्तर्राष्ट्रिय कल शुल्क अब अरू सेवा प्रदायकहरूले प्राधिकरणको स्वीकृति बमोजिम लिइरहेको न्यूनतम शुल्कसँग बराबर भएको छ।

नयाँ परिमार्जित अन्तर्राष्ट्रिय कल शुल्क अनुसार माथि उल्लेखित १८ वटा देशहरूको शुल्क कर बाहेक प्रति मिनेट रु ३० निर्धारण गरिएको छ भने माल्दिभ्सको प्रति मिनेट कल शुल्क कर बाहेक रु ३०.६५ निर्धारण भएको छ । यस अघि यी देशहरूमा कल गर्दा गन्तव्य देश अनुसार प्रति मिनेट रु ४.९९ देखि रु १५ सम्म लाग्ने गरेको थियो । अझै पनि माल्दिभ्सको लागि एनसेलको प्रति मिनेट कल शुल्क अरू सेवा प्रदायकले लिने शुल्क भन्दा निकै नै कम रहेको छ।

अन्तर्राष्ट्रिय कलका लागि कम्पनीलाई लाग्ने खर्चको तुलनामा खुद्रा दर निकै नै कम भएको र सम्बन्धित देशका साझेदारहरूले सन् २०१६ देखि आफ्नो शुल्क बढाएको कारणले गर्दा विगत ५ वर्ष देखि एनसेलले अन्तर्राष्ट्रिय कल बापतको राजस्वमा ठुलो नोक्सानी व्यहोर्दै आएको छ । साथै यस अघि एनसेलले यी देशहरूका लागि प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय शुल्क अन्य सेवा प्रदायकहरूको स्वीकृत कल शुल्क भन्दा ६ गुणा कम दरमा ग्राहकहरूलाई अन्तर्राष्ट्रिय कल सुविधा प्रदान गर्दै आएको थियो।

सन् २०१६ देखि अप्रिल २०२१ सम्ममा एनसेलले अन्तर्राष्ट्रिय कल सेवामा अव्यवहारिक नोक्सानी व्यहोरेको छ। विगत ५ वर्षमा एनसेलले अन्तर्राष्ट्रिय कलबाट हुने आयमा रु २७.५ करोड भन्दा बढी नोक्सान भोगेको छ । केही युरोपियन गन्तव्यहरूमा कल गर्दा लाग्ने शुल्क अझै पनि स्वीकृत दरभन्दा निकै बढी रहेकोले हाल यी देशहरूका लागि गरिएको शुल्क परिमार्जन पश्चात् पनि ग्राहक सेवा सुनिश्चित गर्ने क्रममा एनसेल अझै पनि घाटामै रहने छ । प्राधिकरणबाट स्वीकृत कल शुल्क प्रति मिनेट रु ३० रहे पनि कल गरिने गन्तव्य देश अनुसार कुनै—कुनै युरोपियन  गन्तव्यहरूको कल शुल्क कर बाहेक रु १,१७०.३० सम्म रहेको छ।

गुणस्तरीय सेवा सुलभ दरमा प्रदान गर्न र डिजिटल कनेक्टिभिटी अझ बढाउँदै यसले दिने लाभहरूसँग सबैलाई जोड्न एनसेल प्रतिबद्ध छ । एक जिम्मेवार कपोर्रेटको रूपमा एनसेलले सबै नियम तथा कानुनको पूर्णपुरमा परिपालना गर्दै आएको छ।

स्थापनाकाल देखि गत आर्थिक वर्ष २०७६/७७ सम्ममा एनसेलले कर तथा शुल्कहरू बापत रु २४२ अर्ब भन्दा बढी राजस्व सरकारलाई बुझाएको छ । देशको एक सबैभन्दा ठुलो करदाताको रूपमा नेपालमा सामाजिक तथा आर्थिक विकासको लागि एनसेलले उल्लेखनीय भूमिका रहेको छ र देशको हितको लागि दिगो व्यवसाय सञ्चालनलाई निरन्तरता दिँदै जानेछ।

एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी पहल अन्तर्गत हालसम्म रु १ अर्ब २७ करोड भन्दा बढी रकम खर्च गरिसकेको छ र देशको आर्थिक सामाजिक विकासमा योगदान पुर्‍याउँदै स्वास्थ्य, शिक्षा र वातावरणका क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरू गदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ