arrow

प्रदेश २ मा ठाकुर पक्षका ६ सांसद यादव पक्षमा, पुगे ३६

यादव पक्षले लालबाबुलाई बनायो संसदीय दलको नेता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २३ आइतबार
jasapa-rajpa.jpg

काठमाडौं । प्रदेश २ मा जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष महन्थ ठाकुर पक्षभन्दा धेरै बलियो भएको छ । प्रदेश २मा यादव पक्ष बहुमतमा छ । त्यसमा पनि पूर्व राष्ट्रिय जनता पार्टीका ६ प्रदेश सांसदले कित्ता परिवर्तन गरी यादव पक्षमा पुगेका छन् ।

प्रदेश २ मा पूर्व समाजवादीको ३० र पूर्व राजपाको २५ सिट हो । पूर्व राजपाका ६ सांसदले कित्ता परिवर्तन गरी यादव पक्षमा पुगेका छन् । यसबाट प्रदेश २मा यादव पक्षको ३६ र ठाकुर पक्षको १९ सिटमा रहेको छ ।

१९ सिट मध्ये पूर्व राजपाका सरोज यादव प्रदेश २ का सभामुख भएका छन् । पूर्व राजपाबाट प्रतिनिधित्व गरेको दुई मन्त्री नबल किशोर साह र रामनरेश राय यादवले कित्ता परिवर्तन गरी यादव पक्षमा पुगेका हुन् । साह र राय यादव जसपाको कार्यकारिणी समितिका सदस्य पनि हुन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादव अहिले जनकपुरमा छन् । जनकपुरमा पुगेको बेला उनले आइतबार जसपाका ३६ सांसदहरुको बैठक गराइ मुख्यमन्त्री लालबाबु राउतलाई दलको नेता घोषणा गर्न लगाए । केन्द्रमा पूर्व राजपा र पूर्व समाजवादीको एकीकरण पछि प्रदेश २मा संसदीय दलको नेता चयन गरिएको थिएन ।

राउतलाइ दलको नेता घोषणा गर्ने बैठकमा ठाकुर पक्षका सांसदहरुलाई भने बोलाइएको थिएन । राउतलाई संसदीय दलको नेता घोषणा गरिएको भन्ने समाचार आफूले मिडियाबाट मात्र थाहा पाएको ठाकुर पक्षका सांसद जिनेन्द्र सोनालले बताए ।

कित्ता परिवर्तन गरेका नवल किशोर साहले जसपाका ३६ जना सांसदहरुको उपस्थितिमा राउतलाई दलका नेता चयन गरिएको बताए । पूर्व राजपाका ६ सांसदले कित्ता परिवर्तन गरी यादव पक्षमा पुगेको पनि उनले बताए । कित्ता परिवर्तन गरेका सांसदहरुको बारेमा भने उनले खुलाउन चाहेनन् ।

कित्ता परिवर्तन गरेका ६ सांसद मध्ये दुई जना मन्त्री नवल किशोर साह र रामनरेश राय हुन् । बाँकी ४ जना सांसदहरुको नाम यादव पक्षले खुलाएको छैन । जसपाका ३६ प्रदेश सभा सदस्यहरुको हस्ताक्षरबाट राउतलाई दलको नेता घोषणा गरिएको साहले दावी गरे ।

जनकपुरमै रहेको बेला यादवले प्रदेश २ सरकारबाट ठाकुर पक्षका ४ मन्त्री जितेन्द्र सोनाल, डिम्पल झा, सुरेश मण्डल र अभिराम शर्मालाई सरकारबाट हटाउने लागेका छन् । कित्ता परिवर्तन गरेकाहरुलाई भने यादवले यथावत राख्ने भएका छन् ।

पूर्व राजपालाई प्रदेश २ सरकारबाट हटाएर त्यसको ठाउँमा नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा ल्याउन यादवले प्रयास गरेका छन् । यसकोलागि यादवले जनकपुर जानु अघि नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र विमलेन्द्र निधिसँग कुराकानी गरेका थिए । उनी सोमबार काठमाडौमा फर्कने कार्यक्रम छ ।

मुख्यमन्त्री राउतले पनि नेपाली कांग्रेस प्रदेश २का संसदीय दलका नेता रामसरोज यादवसँग छलफल गरेका छन । कांग्रेसले प्रदेश २सरकारमा जाने संकेत देखाएको छ । प्रदेश २मा जसपाको उपेन्द्र यादव पक्ष, नेपाली कांग्रेस र माओवादी मिले प्रष्ट बहुमत पुग्ने अवस्था छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ