arrow

कांग्रेस संस्थापन इतरको बैठकः महाधिवेशन गर्न दुई विकल्प प्रस्ताव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १९ बुधबार
congress-leader-poudel-sitoula.jpg

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १४औं महाधिवेशन कसरी गर्ने भन्ने विषयमा विकल्प खोज्न थालेको छ ।

कांग्रेस भित्रको संस्थापन इतर मानिएको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले कोरोना महामारीका कारण महाधिवेशन नै नहुने अवस्था आएपछि विकल्पबारे छलफल गरेको हो ।

नेता पौडेलले अब पनि तोकिएको समयमा महाधिवेशन गर्न नसकिए पार्टी वैधानिक र संवैधानिक रुपमा नै संकटमा पर्ने बताउँदै आइरहेका छन् ।

उनले १४औं महाधिवेशनका लागि हालसम्म वितरित क्रियाशिल सदस्य मध्येबाट महाधिवेशन गर्न सकिने एउटा विकल्प देखाएका छन भने अर्को १३औं महाधिवेशनमा प्रतिनिधि रहेकाहरुबाट नै तत्कालका लागि केन्द्रीय समिति निर्वाचित गर्न सकिने प्रस्ताव गर्दै आइरहेका छन् ।

अहिले जारी भर्चुअल बैठकमा यही विषयमा छलफल भइरहेको नेता अर्जुननरसिंह केसीले जानकारी दिए । बैठकमा वर्तमान राजनीतिक अवस्था र सरकारका गतिविधिहरुबारे पनि छलफल भइरहेको छ ।

कोरोना महामारी र क्रियाशील सदस्यताको काममा भएको ढिलाइले आगामी भदौ ७ देखि १० गतेसम्मका लागि निर्धारित महाधिवेशन प्रभावित हुने परिस्थिति बन्दै गएपछि पौडेलले छलफल अघि बढाएका हुन् ।

गत १३ जेठमा प्रेस युनियनको स्थापना दिवसमा आयोजि भर्चुअल कार्यक्रममा पनि पौडेलले सो प्रस्ताव गरेका थिए । पौडेलको सो प्रस्तावमासभापति शेरबहादुर देउवाले छलफल गर्न तयार रहेको जवाफ दिएका थिए ।

नेपालको संविधानको धारा २६९ को उपधारा ४ ‘ख’ अनुसार पाँच वर्षभित्र दलले आफ्नो अधिवेशन गर्न नसकेमा ६ महिना म्याद थप्न गर्न सक्ने व्यवस्था छ । कांग्रेसले संविधानले दिएको सो सुविधा प्रयोग गरिसकेको छ । सोही व्यवस्था अनुसार कांग्रेसको वर्तमान कार्यसमितिको म्याद भदौसम्म तोकिएको हो ।

कांग्रेसले १५ जेठमा सार्वजनिक गरेको विवरण अनुसार हालसम्म करिब ८ लाख क्रियाशिल सदस्यता अनलाइन प्रणालीमा समावेश भइसकेको छ । कांग्रेसले आगामी निर्वाचनसम्म पार्टीको क्रियाशिल सदस्यता १० लाख पुर्याउने लक्ष्य राखेका छ । यसअघि कांग्रेसको क्रियाशिल सदस्यता ४ लाख ८० हजारले लिएको तथ्यांक छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ