arrow

'नवीन्द्रराज जोशीको अभाव आगामी दिनमा खड्किनेछ'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २६ आइतबार
ramchandra-poudel-1618230382.jpg

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका नेता नवीन्द्रराज जोशीको निधनले नेपालको प्रजातान्त्रिक आन्दोलनलाई ठूलो नोक्सान पुगेको बताएका छन् । 

पूर्वउद्योगमन्त्री जोशीको ४५औँ पुन्यतिथिका अवसरमा गणेशमान सिंह अध्ययन प्रतिष्ठानले आइतवार यहाँ आयोजना गरेको ‘श्रद्धाञ्जलिसभा’मा उनले जोशीको निधनले देशले होनहार र उदीयमान नेता गुमाएको बताए । 

“लगनशील, सिर्जनशील र इमान्दार नेता जोशीको अभाव आगामी दिनमा देश र कांग्रेसभित्र खड्किनेछ”, उनले भने । पछिल्लो समय जनप्रतिनिधिका हैसियतले जनताका घरघरमा पुगेर जनसम्बन्ध राखेर अनुकरणीय काम गर्ने नेता जोशीबाट कांग्रेसका नेताले पाठ सिक्नुपर्ने उनको भनाइ थियो । 

नेता पौडेलले उद्योगमन्त्री हुँदा जोशीले बन्द हुन लागेका उदयपुर सिमेन्ट उद्योग, हेटौँडा सिमेन्ट उद्योग र औषधि व्यवस्था विभागलगायतमा कुशलतापूर्वक नेतृत्व गरेर पुनर्जीवन दिएको स्मरणसमेत गरे । बौद्धिक, विचारशील र कर्मशील व्यक्तित्व जोशीको निधनमा कांग्रेसले ठूलो क्षति व्यहोर्नुपरेको नेता पौडेलले बताए । 

कांग्रेस नेता प्रकाशमान सिंहले जोशी पार्टीका नेता मात्र नभएर प्रजातान्त्रिक आन्दोलनको सशक्त व्यक्ति भएको बताए । “ जोशी मूल्यमान्यता र आदर्शको राजनीतिमा अडिग र प्रतिकूल अवस्थामा नझुक्ने नेता हुनुहुन्थ्यो”, उनले भने । नेपाली कांग्रेस मात्र नभएर देशलाई नै नेतृत्व गर्ने क्षमता जोशीमा रहेको उनको भनाइ थियो । 

नेता सिंहले गणेशमान सिंहलाई जीवन्त राख्न जोशीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । गणेशमान सिंह अध्ययन प्रतिष्ठानलाई निरन्तर रुपमा अगाडि बढाए मात्र उनप्रति सच्चा श्रद्धाञ्जलि हुने उनले बताए । 

प्रतिष्ठानका उपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले जोशीको निधनले पार्टी र देशले एक योग्य नेता गुमाएको बताए । जोशीको योजनानुसार नै प्रतिष्ठानलाई अगाडि बढाइने उनको भनाइ थियो । प्रतिष्ठानका सचिव डा भूपेन्द्र बस्नेतले जोशी इमान्दार र असल नेतृत्वकर्ता भएको बताए । प्रतिष्ठानका सदस्य एवम् त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा केदारभक्त माथेमाले जोशी युवा जोश भएको जाँगरिलो नेता भएको बताए । 

स्व जोशीकी धर्मपत्नी सपना जोशीले नेता जोशी परिवारभन्दा पनि देश र जनतालाई माया गर्ने व्यक्ति भएको बताए । कांग्रेस नेता राजुराज जोशीले स्व जोशीको योगदान पार्टीले मूल्याङ्कन गर्नुपर्ने बताए । प्रजातन्त्रका लागि कोहीसँग नझुक्ने नेता जोशी भएको उनको भनाइ थियो । विसं २०१९ मा काठमाडौँमा जन्मनुभएका जोशीको विसं २०७७ चैत १३ गते नर्भिक अस्पताल थापाथलीमा निधन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ