arrow

अडियो भाइरल गरी आफू र देउवालाई डिस्टर्भ गरिएको आरजूको जिकीर 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ९ मंगलबार
arzu-rana-deuba-2080-04-09.jpg

धनुषा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य डा आरजू राणा देउवाले देशमा देखिएका नयाँ पार्टीहरुसँग केही पनि नरहँदा नरहँदै पनि चुनाव जितेको देख्दा आश्चर्य लागेको बताएकी छिन् । 
 
मंगलबार पार्टीको मधेस प्रदेश कार्यालय जनकपुरधाममा आयोजित सम्मान कार्यक्रममा बोल्दै देउवाले भनिन्, ‘मलाई त डर पनि लाग्यो कि यो के भइरहेको छ, जनता कता जाँदैछ ? भनेर ।’ मर्ने र मार्ने बेलामा पनि देशमा एक मात्र पार्टी कांग्रेस नै रहेको स्मरण गर्दै उनले कांग्रेसको लगानी र योगदान मिडिया र समाजिक सञ्जालमा न्यून आउने गरेको बताइन् ।

विपक्षी पार्टीहरुले आफूहरुविरुद्ध मिडिया र सामाजिक सञ्जालको दुरुपयोग गरिरहेको भन्दै उनले दुरुपयोगकै परिणाम स्वरुप आफू विरुद्वको अडियो भाइरल गरी आफू र पति शेरबहादुर देउवालाई ‘डिस्टर्व’ गर्ने काम भएको बताइन् । 

नक्कली भुटानी शरनार्थी प्रकरण सम्बन्धित त्यस्ता धेरै अडियोहरु रहेछन् भन्दै उनले एउटा अडियोमा नियोजित रुपमा आफ्नो नाम लिइएको पनि उनले दाबी गरिन् । 

त्यसलाई प्रोपगण्डा बनाएर राजनीतिक तनाव दिनका लागि त्यो गरिएको उनको आरोप छ । 

कांग्रेसका युवा दस्तालाई प्रविधिमा सक्रिय बनाइ मिडिया र सामाजिक सञ्जालमा पार्टीको गतिविधि बढाउन उनले नेता कार्यक्रताहरुलाई आग्रह गरेकी छिन् । 

पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजूले कांग्रेस एक्लै चुनावहरु नलडुन्जेलसम्म संगठन निर्माण असम्भवसमेत रहेको बताइन् ।

कार्यक्रममा मधेस प्रदेश सभापति एवम् भौतिक पूर्वाधार मन्त्री कृष्णप्रसाद यादव, स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्रप्रसाद सिंह, प्रदेश सांसद शेषनारायण यादव, कुमरकान्त झा सहित प्रदेश सांसद, विभिन्न जिल्लाका पार्टी सभापति, पालिकाका मेयरहरुसहित नेता कार्यक्रताहरुको उपस्थिति थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ