arrow

मदन भण्डारीका हत्यारा किन खोज्दैनन् विद्या र केपी ?

logo
बिश्वबन्धु भण्डारी,
प्रकाशित २०७३ जेठ २ आइतबार
madan-bidhya-ncp.jpg

काठमाडौं। आज जेठ दुई गते। विहान उठेर क्यालेण्डर हेर्दा जेठ दुई देख्ना साथ संझे मैले उनै नेपाली भुमीका महान जननेता मदन भण्डारीलाई। त्यतिवेला म जहाँ थिएँ, त्यहीबाट तत्काल उठेर एक मिनेट मौन धारण गरेँ उनको आत्माको चिर शान्तिको लागि। भोली जेठ तिन गते उनको हत्या भएको दिन।

अनि आफ्सेआफ मनमा जवरजस्त र स्वभाविक एउटा जिज्ञासा उठ्यो। “विद्यादेवी भण्डारी राष्ट्रपति र केपी शर्मा ओली प्रधानमन्त्री हुदाँ पनि किन खोजिदैन जननेता मदन भण्डारीको हत्यारा ?” अहिलेकी राष्ट्रपति अर्थात् मुलुकको सर्वोच्च व्यक्ति उनै मदनकी जीवनसंगीनी र राजनीतिक सहयात्री  विद्यादेवी भण्डारी छिन् भने मुलुकको सवै भन्दा शक्तिशाली व्यक्ति उनै मदनका राजनीतिक सहकर्मी केपी शर्मा ओली छन्। 

प्रधानमन्त्री ओली मदनको हत्याको छानवीन गर्न त्यतिवेला गठित आयोगका अध्यक्ष समेत हुन्। ओलीले कुनै बेला भनेका थिए– म सरकारमा गएभने भण्डारीका हत्यारा अवश्य पत्ता लगाउँछु। आज ओली मात्रै नभएर विद्या समेत राज्यको सर्वोच्च पदमा छिन्। प्रश्न उठ्नु स्वभाविक छ– के मदन भण्डारीका हत्यारा पत्ता लाग्लान ?

मदनको हत्याले सवै भन्दा बढी असर कसैलाई परेको थियो भने यीनै राष्ट्रपति विद्यादेवीलाई परेको थियो। मदनका हत्यारा पत्ता लगाएर कारवाही गराउन उनको मनले नखोजेको त पक्कै होईन। तर पनि व्यवहारमा हत्याराको खोजी किन हुन सकेन ? फेरी उही प्रश्न आयो मनमा। मनमा एकोहोरो पटक पटक आईरहेको प्रश्नको उत्तर खोज्न एमालेकै केही नेता र विश्लेषक तथा पत्रकारहरुसंग जिज्ञासा राखेँ। तर उत्तर पाउन सकिन। उनीहरु पनि नाजवाफ पाएँ। उनीहरुमा पनि प्रश्नप्रतिको स्वभाविकता देखिएपनि उत्तर नभेटिएको अस्वभाविकता पनि झल्कीयो। 

मदन भण्डारी नेपाली राजनीतिका एक अद्भुत जननेता हुन्। पार्टीगत रुपमा एमालेका महासचिव भएपनि उनी मुलुककै आशालाग्दा नेताका रुपमा उदाएका थिए।  प्रखर वक्ता मदन भण्डारीको प्रसंशा नगर्ने सायद कोही थिएन। काँग्रेसका जननायक विपी कोईराला र एमालेका जननेता मदन भण्डारी नेपालमा सवैले पुज्ने नेताहरु हुन अहिले पनि। 

उनी देशको मुहार फेर्ने खाका र राष्ट्रियताका सवालमा वैचारिक रुपमा सुस्पष्ट थिए। एमालेको महासचिव रहेकै बेला तिनै अद्भुत नेताको रहस्यमय हत्या भएको आज २३ बर्ष भईसक्यो। वि.सं. २०५० साल जेठ ३ गते चितवनको दासढुङगामा जिप दुर्घटनामा परी उनको निधन भएको थियो। तर त्यो दुर्घटनालाई भने रहस्यमय र मदन भण्डारीको हत्या योजना अनुरुप भएको मानिएको छ। दुर्घटनामा मदनसंगै रहेका एमालेका संगठन विभाग प्रमुख जिवराज आश्रितको पनि निधन भएको थियो। तर जिपका चालक अमर लामा भने दुर्घटनामा परेर पनि जिवितै फर्किन सफल भए।

उनको पनि २०६० सालमा रहस्यमय हत्या भयो। ति तिनै जनाको हत्याको रहस्य अझै सम्म पनि पत्ता लागेको छैन। मदनकी पत्नी तथा नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले गत कात्तिक १३ गते बिहीबार राष्ट्रपतिको पद तथा गोपनीयताको सपथ र पदभार ग्रहण गरिकी छन्। विद्याले २०३९ सालमा तत्कालिन नेकपा मालेका महासचिव मदन भण्डारीसित भूमिगत रुपमै विवाह गरेकी थिइन्।

मदन र विद्यादेवीका दुई छोरीहरु उषाकिरण र निशाकुशुम भण्डारी छन्। विद्याले राष्ट्रपतिको जिम्मेवारी सम्हालेको दिन पनि मदन र विद्याकी जेठी छोरी उषाकिरण भण्डारीले आफ्नो पिताको मृत्युलाई हत्या भएको बताएकी थिईन्। भण्डारीको हत्यामा चालक अमर लामाको संलग्नता रहेको तथ्य सार्वजनिक भयो। अमर लामा जेल परे जेलबाट छुटेपछि पनि घटनाका एकमात्र जीवित साक्षी लामाले यसबारेमा रहस्य खोलेनन्। पछि लामाको पनि हत्या भयो।

उनको हत्या माओवादी लडाकुहरुले गरेको सार्वजनिक भयो। तर किन लामाको हत्या भयो भन्ने कुरा खुलेन। न त एमालेले नै माओवादीसँग यसबारेमा सोधीखोजी गर्यो‍, न कसैले यसमा चासो नै दियो। भण्डारी तथा जीवराज आश्रित चढेको जीप दुर्घटना भएपछि नेताद्वयको हत्या भएको भन्दै एमालेले आन्दोलन चर्कायो। आन्दोलन चर्किंदै गएपछि सरकारले पूर्व न्यायाधीश प्रचण्डराज अनिलको नेतृत्वमा छानवीन आयोग गठन गर्यो‍। अनिल आयोगको प्रतिवेदनमा एमालेले चित्त वुझाएन र आन्दोलन झन चर्कियो।

त्यसपछि तत्कालीन वहालवाला न्यायाधीश त्रिलोकप्रताप राणा आयोग बनाइयो। तर यो आयोगले पनि मदन आश्रितको जीप दुर्घटना वा हत्याकाण्ड खुलाउन सकेन। त्यहीविचमा एमालेले दासढुंगा काण्डको छानवीन गर्न तत्कालिन स्थायी समिति सदस्य केपी ओली आयोग गठन गरियो। जनस्तरबाट पनि पद्मरत्न तुलाधर आयोग गठन भयो। पद्मरत्न तुलाधर आयोगले घटनालाई षडयन्त्रमूलक हत्या भएको ठहर गर्यो‍।

भण्डारीको हत्या भएको अर्को बर्ष २०५१ सालमा एमालेको अल्पमतको एकमना सरकार गठन भयो। नेकपा एमालेका अध्यक्ष रहेका स्व. मनमोहन अधिकारी प्रधानमन्त्री निवर्वाचित भए। त्यही बेला पनि दासढुंगा हत्याकाण्डको छानवीनको चर्को माग फेरी उठ्यो। नौ महिना सरकार चलाएको एमालेले मदन आश्रितको रहस्यमय घटनाको बारेमा खासै कुनै प्रयत्न गरेन। नौ महिनामात्रै सरकारमा बिताउनु परेको र अल्पमतको सरकार भएकोले सो सम्बन्धी केही प्रगति हुन नसकेको भन्दै एमालेले स्पष्टिकरण दियो। पार्टीले गठन गरेको आयोगका संयोजक ओलीले एमालेको बहुमतको सरकार भए हत्यारा पत्ता लाग्ने दावी गरे।

उक्त घटनालाई हत्या भएको ठहर गर्दै कांग्रेसी सरकारका विरुद्धमा गरेको आन्दोलनपछि बनेको एमालेको सरकारले कांग्रेसी सरकारका विरुद्धमा अघि सारिएको प्रमुख मागका रुपमा रहेको दासढुंगा छानविनको बुँदा आफ्नो मागपत्रबाट एकाएक गायव पारिदियो। न त त्यसले आफैँले हत्या घोषित गरेको घटनाको छानविनलाई अघि बढायो न त जेलमा रहेको अमर लामासँग एक पटक पनि बयान लिने प्रयास गर्यो। त्यसैले एमालेका कार्यकर्ता सहित संपुर्ण नेपालीको मनमा अहिले पनि एउटै प्रश्न छ–किन मदन भण्डारीका हत्यारा खोजिदैन ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ