arrow

वीरगञ्जका मेयर राजेशमानलाई कारबाही नगरेको भन्दै विरोध, आरोप गृहमन्त्री लामिछानेमाथि

logo
दिपेन्द्र चौहान, 
प्रकाशित २०८१ जेठ ५ शनिबार
birjung-agitation-81-2-4.jpg

वीरगञ्ज । कीर्ते नागरिकता सम्बन्धी मुद्दामा अनुसन्धानको दायरामा रहेका वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि कारबाहीमा ढिला सुस्ती भएको आरोप लगाउँदै वीरगञ्ज माइस्थानचोक अगाडि भएको सर्वदलीय मशाल जुलुश र कोणसभामा अवरोध भएको छ । 

सो जुलुशमा मेयरले आफ्ना समर्थकहरुलाई पठाएर विथोल्न खोज्दा भएको झडपमा नेविसंघ पर्साका अध्यक्ष रमेश यादवसहितका युवाहरु घाइते भएका छन् ।

नेपाली कांग्रेस पर्सा क्षेत्र नं २ का सभापति मोहम्मद शाहाबुद्धिनले वीरगञ्जका मेयर राजेशमान सिंहविरूद्ध दिएको मुद्दामा तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा दबाइएको थियो। 

गत वर्षको साउन २३ गते उपप्रधान मन्त्री एवं गृहमन्त्री नियुक्त भएका रवि लामिछानेको प्रत्यक्ष निर्देशनमा सरकारी कागज कीर्ते जालसाजी गरेको अभियोगमा साउन २४ गते मुद्दा दर्ता भयो । 

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदमा मेयर सिंहले कीर्ते नागरिकता बनाएर नक्कली छोरी रुबिना श्रेष्ठलाई नागरिकता दिलाई अस्ट्रेलिया पठाएको सम्बन्धमा कुरा उठाएपछि तत्कालीन उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले छानबिनको लागि उपसचिव पुष्कर राणा र शाखा अधिकृत परशुराम पोखरेललाई पर्सा पठाएका थिए । 

गृहको टोलीले मेयर राजेशमान सिंहको बयान लिएको थियो। सो बखत मेयर सिंहले ऋतिका भट्टराई आफ्नी कान्छी श्रीमती भएको र रुबिना श्रेष्ठ आफ्नी छोरी भएको साविती बयान दिएर रुबिना श्रेष्ठको जन्मदर्ता सम्बन्धी कागज दिएका थिए।

सो जन्मदर्ताको कागजमा हस्ताक्षर गरेका तत्कालीन पञ्जिकाधिकारी भिखारी यादवले आफ्नो हस्ताक्षर नक्कली भएको जिल्ला प्रहरी कार्यालय पर्सामा बयान दिसकेका छन्।

यसको बावजुद प्रहरी प्रशासनले कारबाहीमा प्रक्रिया अगाडि नबढाएपछि शुक्रबार बेलुकी वीरगञ्जमा सर्वदलीय मशाल जुलुश निकालिएको थियो। 

सो जुलुशमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरूद्धसमेत नारा लागेको थियो । जुलुशको नेतृत्त्व गरेका नेपाली कांग्रेस पर्सा क्षेत्र नं २ का सभापति मोहम्मद शाहाबुदिनले घण्टाघरमा कोणसभा भइरहेको बखत मेयर सिंहले आफ्ना समर्थकहरुलाई पठाएर सभा विथोल्न खोज्दा झडप भएको थियो।

सो झडपमा परी नेविसंघ पर्साका अध्यक्ष रमेश यादव उपाध्यक्षद्वय राहुल पटेल र बर्कत अली घाइते भएका छन् ।

अध्यक्ष यादवको उपचार अहिले नारायणी अस्पतालमा भइरहेको छ। नेविसंघका केन्द्रीय अध्यक्ष डोजाङ शेर्पाले विज्ञप्ति निकालेर दोषीमाथि कारबाहीको माग गरेका छन् ।

गृहमन्त्री रवि लामिछानेको निर्देशनमा मुद्दा दर्ता भए पनि अहिले आएर कारबाही प्रक्रिया अगाडि नबढ्नुमा गृहमन्त्रीको नियतमाथि प्रश्न उठाउँदै मोहम्मद शाहाबुदिनले आफ्ना स्वकीय सचिव दीपक बोहरामार्फत ५५ लाख रुपैयाँ नजराना लामिछानेले लिएको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ