arrow

को बन्छ करोडपति

ग्यालेक्सीविरुद्ध हिमालयन बैंकको मुद्दाले नैतिक बन्धनमा रवि लामिछाने 

कार्यक्रम रद्द भएको पाँच महिनासम्म पनि देखाएनन् पैसा फिर्ता गर्ने नैतिकता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३ बिहिबार
ravi-lam-press-meet.jpg

काठमाडौँ । ग्यालेक्सी फोरके टेलिभिजनविरुद्ध हिमालयन बैंकको मुद्दाले गृहमन्त्री रवि लामिछानेको चरित्र थप उदाङ्गो भएको छ । गोर्खा मिडिया नेटवर्कको सञ्चालनमा रहेको उक्त टेलिभिजनलाई कार्यक्रमको प्रायोजनका लागि भन्दै दिएको रकम अपचलन भएको भन्दै हिमालयन बैंक यतिबेला उक्त टेलिभिजनविरुद्ध अदालत पुगेको हो । 

२०७८ माघ २८ गते ग्यालेक्सी फोरके टेलिभिजनले ‘को बन्छ करोडपति’ नामक कार्यक्रमको ‘सिजन–२’ सञ्चालनमा लागि भन्दै तत्कालीन सिभिल बैंकसँग वार्षिक १ करोड २० लाख रुपैयाँको सम्झौता गरेको थियो । टेलिभजनका तर्फबाट उनैले हस्ताक्षर गरेका थिए । त्यतिबेला रवि लामिछाने उक्त टेलिभिजिनको प्रबन्ध निर्देशक र स्टेशन म्यानेजर समेत थिए । 

त्यसरी गरिएको सम्झौतामध्ये कार्यक्रम शुरु हुनु अगावै बैंकले ६ महिना बराबरको रकम अग्रिम रुपमा भुक्तानी गरिदिएको अभियोजनपत्रमा उल्लेख गरिएको छ । बैंकले त्यतिबेला अग्रिम रुपमा ६० लाख रुपैयाँ भुक्तानी गरेको थियो । यसअनुसार फागुनदेखि टेलिभिजन कार्यक्रम शुरु हुनुपर्दथ्यो । तर तोकिएबमोजिम कार्यक्रम सञ्चालन भएन । 

शर्त बमोजिम कार्यक्रम नचलेपछि उक्त रकम फिर्ता गर्नुपर्ने भए पनि नगरेपछि बैंकले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । उक्त मुद्दामा अदालतले कम्पनी रजिष्ट्रारको कार्यालयबाट शेयर लगत झिकाउन र शेयर रोक्का भए नभएकोबारे जानकारी मागेको छ । 

अहिले उक्त बैंक हिमालयन बैंकमा मर्ज भइसकेको छ । त्यसरी निर्णय गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ अहिले कृषि विकास बैंकमा छन् । तत्कालीन जनसम्पर्क विभागका प्रमुख विजय कसजू भने अहिले हिमालयन बैंकमै कार्यरत छन् ।

कसजू त्यतिबेला टेलिभिजनसँग भएको सम्झौता बमोजिम नै उक्त रकम पेश्कीस्वरुप भुक्तानी गरिएको बताउँछन् । तर कार्यक्रम सञ्चालन नभएपछि फिर्ता गर्नुपर्नेमा नभएपछि प्रक्रियाअनुसार गएको हुनसक्ने उनी बताउँछन् । 

आफू सेल्स विभागमा रहेकोले अहिलेको अवस्थाबारे भने आफूलाई थाहा नभएको उनको भनाइ छ । 

रविकै कारण रोकिएको थियो कार्यक्रम
न्यूज–२४ टेलिभिजनमा विवाद भएपछि राजीनामा दिएका रवि लामिछानेले जीबी राईसँग मिलेर आफू समेतको लगानीमा ग्यालेक्सी टेलिभिजन खोलेका थिए । रविप्रतिको क्रेजलाई हेरेरै जीबीले अर्बौं लगानी गर्ने विश्वास गरेका थिए । त्यही विश्वासको आधारमा गैरकानूनी रुपमा आफू अध्यक्ष रहेको सहकारीबाट अवैध रुपमा गोर्खा मिडिया नेटवर्कलाई पैसा दिएका थिए । 

टेलिभिजन खोलेको शुरुमा ग्यालेक्सीले राम्रा कार्यक्रम र सामग्रीहरु उत्पादन गर्न सफलसमेत भएको थियो । तर लामिछानेको राजनीतिक मोहसँगै टेलिभिजन विस्तारै खस्किँदै गयो । 

२०७८ माघमा ‘को बन्छ करोडपति’ को सिजन चलाउने निर्णय गर्ने बेलासम्म रविलाई राजनीतिमा आउँछु भन्ने थिएन । स्थानीय तहको निर्वाचनमा स्वतन्त्रहरुको माहोल देखिएपछि उनले टेलिभिजनलाई वास्ता गर्नै छाडे । 

२०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनसम्म ‘पर्ख र हेर’को अवस्थामा रहेका लामिछाने काठमाडौँ महानगरपालिकामा वालेन्द्र साह (बालेन) को आगमनपछि उनले टेलिभिजनमा ध्यान दिनै छाडे । सोही वर्ष असारमा औपचारिक रुपमा बाहिरिनुअघि नै उनी पार्टी खोल्ने ध्याउन्नमा लागे । 

ग्यालेक्सी छोडेर राजनीतिमा आउने निर्णयले उनलाई फाइदा त पुर्यायो । तर अर्बौं लगानी गरेर खोलेको ग्यालेक्सी टेलिभिजन भने दिनप्रतिदिन कमजोर बन्दै गयो । अहिले यो टेलिभिजन बन्द भइसकेको छ । 

राजनीतिमा जाने निर्णय गर्नुअघि टेलिभिजनलाई सेफ ल्यान्डिङ गराउनतिर थोरै समय खर्चेको भए पनि अहिले टेलिभिजन बन्द हुने अवस्थामा नपुग्ने एक जना कर्मचारी बताउँछन् । 

अहिले रवि कानूनी रुपमा ग्यालेक्सी फोरके टेलिभिजनको शेयरधनी वा सञ्चालक नभएका कारण उनी प्रतिवादी बनाइएका छैनन् । गोर्खा मिडिया नेटवर्कमा हाल कामयम रहेका दुवै जना डाइरेक्टरहरु जीबी राई र कुमार रम्तेललाई प्रतिवादी बनाइएको बैंकका सूचना अधिकारी सुनिल गोर्खाली बताउँछन् । 

नैतिक र व्यावहारिक रुपमा भने यसको मुख्य दोषी रवि नै भएको टेलिभिजनका पूर्व कर्मचारी बताउँछन् । जुन समयको कारोबारको मुद्दा अदालतमा विचाराधीन छ, त्यो समय टेलिभिजनको मुख्य हर्ताकर्ता नै उनी थिए । 

बैंकबाट पेश्की रकम लिएको पाँच महिना टेलिभिजनमै थिए । सम्झौता बमोजिम कार्यक्रम सञ्चालन हुन नसकेपछि इमानदारीतापूर्वक पैसा फिर्ता गर्नुपर्नेमा रविले नै रकम फिर्ता गर्ने चासो देखाएनन् ।
 



नयाँ