arrow

वित्तीय संस्था र लघुवित्तसँग वित्तीय सहकार्य गर्ने डीएफआईको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १२ बुधबार
worldbank-usaid-adb-eb-sida.jpg

काठमाडौँ । डेभलपमेन्ट फाइनान्स इन्स्च्यिुसन (डीएफआई) ले वित्तीय संस्था र लघुवित्तसँग पनि वित्तीय सहकार्य गर्ने भएको छ । हालसम्म वाणिज्य बैंकसँग मात्रै यस्तो सहकार्य गर्दै आएकोमा यसलाई विस्तार गर्ने भएको हो । 

वित्तीय संस्था अन्तर्गत विकास बैंक र फाइनान्स कम्पनीसमेत पर्छन् । नेपालका लागि स्वीजरल्याण्डकी राजदूत डा. डेनियल मेउलको संयोजनमा रहेको उक्त प्रतिनिधिमण्डलले बुधबार अर्थमन्त्री पुनसँग भेटघाट गरेको थियो । त्यस क्रममा उनीहरुले नेपालमा लगानीको क्षेत्र विस्तारका लागि इच्छुक रहेको भन्दै थप लगानी ल्याउने प्रतिबद्धता जनाए । 

उक्त संस्थाले हालसम्म नेपालमा बैंकहरुमार्फत ऊर्जा, कृषि, महिला उद्यमशीलता र पिछडिएको क्षेत्रमा लगानी गर्दै आएको छ । अहिलेसम्म झण्डै ८० अर्ब रुपैयाँ बराबरको लगानी गरिसकेको छ ।  

प्रतिनिधिमण्डलमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएफसी), एसियाली विकास बैंक (एडीबी), अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफसी), बेलायती सरकारको स्वामित्वमा रहेको ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट, बेल्जियमको बीआईओ इनभेष्टिङका साथै जर्मनी, फ्रान्स, नेदरल्याण्ड, स्वीट्जरल्याण्ड, स्वीडेनका सरकारी स्वामित्वका कम्पनीका प्रतिनिधि संलग्न थिए ।

सन् २००७ मा नेपाल आएको इन्स्टिच्युसनले २०७८ सालमा नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावलीको तेस्रो संशोधन गरेपछि कर्जा लगानी बढाएको हो । चालु आर्थिक वर्षको हालसम्म उक्त संस्थाले नेपालमा करिब १ सय ५० मिलियन अमेरिकी डलर लगानी गरेको छ । 

सो संस्थाले आगामी १६ र १७ वैशाखमा काठमाडौँमा हुने तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा एउटा छुट्टै सत्रको समेत आयोजना गर्दैछ । 

नेपालले आगामी सन् २०२६ सम्ममा अतिकम विकसित मुलुक (एलडीसी)  बाट विकासशील मुलुकमा स्तरोन्नति गर्दैछ । त्यस्तै सन् २०३० सम्म दिगो विकास लक्ष्य (एसडीजी) को उद्देश्य पूरा गर्ने अभियानमा रहेकाले सरकारले वैदेशिक लगानीमा जोड दिने नीति लिँदै आएको अर्थ मन्त्रालयले जनएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ