arrow

इगो केपी–माधवको

प्रचण्ड र केपीलाई टक्कर दिँदै माधव

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १२ बुधबार
prachanda-oli-madhav-80.jpg

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमालेकै पूर्व महासचिव माधव नेपालबीच व्यक्तिगत ‘इगो’ पुनः देखिएको छ । बैशाख यताका केही घटनाक्रम हेर्दा र दुवै नेताको अभिव्यक्ति सुन्दा उनीहरुबीच पुरानो इगो बल्झिएको छ ।

त्यसको असर नेकपा स्थापना दिवस मनाउने क्रममा पनि देखिएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी स्थापनाको हिरक महोत्सवमा नेपाललाई  बोलाए पनि उनी त्यहाँ नगई धुलिखेल हान्निएका थिए । बिहान काठमाडौँको एक कार्यक्रममा एमाले मुख्यालयमै देखिएका उनी दिउँसो भने हिरक महोत्सवमा सहभागी भएनन् ।

‘त्यसदिन पार्टी अध्यक्ष माधवकुमार नेपालको बाहिर काम थियो’, नेकपा एसका कार्यालय सचिव जीवनराम श्रेष्ठले भने । उनले नै माधव नेपाल धुलिखेलको एक भेटघाटमा सरिक भएको बताएका छन् । तर पूर्वप्रधानमन्त्री झलनाथ खनाल भने महोत्सवमा सहभागी भए । 

महोत्सवमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेकपा (माले) का महासचिव सीपी मैनाली, नेकपा एकता अभियानका संयोजक वामदेव गौतमलगायत सहभागी भएका थिए । 

तर १५ वर्ष एमाले हाँकेको र ४० वर्ष आफैँले संगठन गरेको पार्टीले आयोजना गरेको कार्यक्रम भने उनले बहिष्कार गरेर ओलीसँग तिक्तता रहेको संकेत गरेका थिए ।

सोमबार अर्थात बैशाख १० गते नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै सामुन्ने गठबन्धन फेरिरहने उनको प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरे । 

नेकपा स्थापना दिवसका अवसरमा प्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यमा आयोजित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यक्रममा नेपालले अहिलेको गठबन्धन पनि कहिलेसम्म रहने भन्ने टुंगो नभएको बताउँदै यस्तो असन्तुष्टिमात्र प्रकट गरेनन् । 

उनीले आफूहरु कसैको दाससमेत नभएको बताएका थिए । यो भनाइ ओली लक्षित रहेको थियो । ‘परिस्थिति जटिल छ । गठबन्धन कहिले ओल्टो कहिले पोल्टो भइरहेको छ । यो गठबन्धन पनि कति दिन टिक्छ भन्ने टुंगो छैन । हामीले सहज मानिरहेका छैनौं । सहज अवस्था अनुभूत गरिरहेका छैनौं, हामी कसैको धाक धम्की गालीगलौज सहनका लागि जन्मेका होइनौँ । दास बन्ने नियतले राजनीतिमा आएका पनि होइनौँ’, नेपालले भनेका थिए ।

त्यसको ठीक दुई दिनअघि एमाले अध्यक्ष ओलीले मुलुकको राष्ट्रिय राजनीति २९ महिना निकै कष्टकर रहेको बताएका थिए । गोदावरीमा नेकपा एमाले पहिलो राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले एमालेको दशौँ राष्ट्रिय महाधिवेशन यताका २९ महिना देश र र पार्टीको लागि अत्यन्तै चुनौतीपूर्ण र कष्टकर रहेका बताएका हुन् ।  

पार्टी विभाजन, पार्टीलाई सरकारबाट हटाइने कुरा तथा एमाले विरुद्धको साझा गठबन्धन नेकपा एमालेका लागि निकै चुनौतीपूर्ण रहेको ओलीले धारणा थियो । ‘घेराबन्दी, भ्रम प्रचार, आक्रमणका माध्यमबाट नेकपा एमालेलाई समाप्त पर्ने षडयन्त्रलाई चिर्दै हामी आज तुलनात्मक रूपमा अनुकुल परिस्थितिमा आइपुगेका छौँ’, ओलीले भने । 

उनले माधव लक्षित अभिव्यक्ति दिँदै विभाजनको मनोविज्ञान चिर्न, क्रान्तिका कार्यक्रम र कार्यदिशालाई अद्यावधिक गर्न, पार्टीलाई नयाँ ढङ्गले पुनर्गठन र अग्रगति दिन सफल भएको दाबी गरेका थिए ।

यो विषयले गठबन्धनमा तरंग ल्याइसकेको छ । एमाले अध्यक्ष ओलीले कांग्रेससँग निकटता बढाउन खोजेका बेला शेरहादुर देउवा र माधव नेपालबीच भेटघाट भएको थियो । 

सुदूरपश्चिम सरकारको नेतृत्व परिवर्तनको विषयलाई लिएर उनीहरुबीच कुराकानी भए पनि त्यसले गठबन्धनभित्र एक प्रकारको ठूलै हलचल ल्याएको थियो । सुदुरपश्चिम प्रदेशको सरकार निर्माणमा नेकपा एसलाई कांग्रेसलेसमेत सहयोग गर्ने अवस्था देखिएपछि एमाले तत्काल सरकार नगई एसलाई समर्थन गर्ने जनायो । यद्यपि यो विषयमा राष्ट्रिय बहस कायमै छ ।

संघीय सरकार गठनकै बेला चिँढिएका माधव नेपाललाई ओली–प्रचण्डले आफ्नो काबुमा राख्न सकेका छैनन् । केपी ओलीले पार्टीको एउटा आन्तरिक कार्यक्रममा नेकपा एस नामको एउटा समूहले आफूलाई जतिबेला पनि बार्गेनिङ मात्रै गर्न खोजेको भन्दै माधव नेपालको आलोचना गरेका थिए । 

एमाले र माओवादीले आधा–आधा कार्यकाल सरकार चलाउने सहमति गरेको हल्लासँगै नेकपा एसका अध्यक्ष नेपाललाई पनि केही समय दिन सहमति भएको भन्ने विषयमा ओलीले प्रधानमन्त्री भन्ने पद धारामा लाइन बसेजस्तो नभएको भन्दै टिप्पणी गरेका थिए । 

त्यसपछि माधव नेपालले आफ्नो काँधलाई गाठबन्धन जोगाउनका लागि प्रयोग गर्न नदिने भन्दै पार्टीको सचिवालय बैठकहरुमा लगातार बोल्दै आएका छन् । यसको पछिल्लो उदाहरण हो – बैशाख ५ गते बसेको सचिवालय बैठकमा गठबन्धनबाट धोका भएको सहज अनुभूति नभएको बताएका थिए । 

त्यसपछि उनले रौतहट पुगेर देशका ठूला हस्ती राजा वीरेन्द्रदेखि ज्ञानेन्द्रसम्म, गणेशमान सिंहदेखि कृष्णप्रसाद भट्टराईसम्म, गिरिजाप्रसाद कोइरालादेखि प्रचण्डसम्मलाई सामना गरेर आएकाले आफू र आफ्नो पार्टीलाई कमजोर नठान्न ओली–प्रचण्डलाई चेतावनी दिएका थिए । ‘हामी कसैको दास होइनौँ र कसैको इशारामा चल्ने व्यक्ति पनि होइनौँ, त्यसैले यदि हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन वा बेवास्ता गर्यो भने उसले ठूलो मूल्य चुकाउनुपर्छ, हाम्रो आफ्नै स्वाभिमान र महत्व छ । त्यसैले यो कुरा बुझ्यो भने ठीक छ, नत्र सबै उल्टिन्छ र देशमा अर्को उथलपुथल हुन्छ’, उनले भनेका थिए ।

त्यसअघि ओली–प्रचण्डले सुदूरपश्चिम प्रदेशका सरकार निर्माणमा नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री दिन तयार भएपछि गठबन्धनभित्रै ठूलै रडाको मच्चिएको थियो । 

माधव नेपालले नागरिक उन्मुक्तिकै अर्को खेमालाई सहयोग गरेपछि ओलीले जनवर्गीय संगठनहरुको भेलामा नेकपा एसले अराजनीतिक कार्य गरेको टिप्पणी गरेका थिए । 

यसरी उनीहरुबीच दिनानुदिन सम्बन्ध चिसिँदै गएको छ । इलाम र बाजुराको उपनिर्वाचनमात्र होइन राजनीतिक नियुक्ति, राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचनले पनि नेकपा एसलाई गठबन्धनभन्दा टाढा पुर्याउन खोजिरहेको एसका नेताहरुले बताएका छन् । 

उनीहरु तत्कालै गठबन्धन तोड्न भन्दा पनि एमाले र माओवादीलाई ‘साइज’ मा राखेर जतिसक्दो बढी उपलब्धि हासिल गर्न चाहन्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ