- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
वीरगञ्ज । पर्साका रामआशिष पासवानले गलत नियतले चौधरी ग्रुपको बदनाम गर्न सरकारी निकायमा उजुरी गरेको तथ्य खुलासा भएको छ । पर्साको साविकको चोनी गाविस वडा नं १ मा रहेको उनको चार कठ्ठा जग्गा चौधरी ग्रुपले खरिद नगरेपछि उनी सार्वजनिक जग्गा अतिक्रमित भयो भन्दै मिडियाबाजीमा उत्रिएका हुन् ।
उनको जग्गासँगै जोडिएको जमीन चौधरी ग्रुपले खरिद गरेर सीजी लजिस्टिक पार्क खोल्न लागेको हो । पासवानले चलनचल्तीभन्दा दोब्बर मूल्यमा जग्गा बेच्न खोजेका थिए ।
‘उनले महँगोमा जमीन बेच्न चाहेका थिए । चलनचल्तीभन्दा दोब्बर मूल्यमा जमीन कसले किन्छ र ?’, स्थानीय अखिलेशकुमार यादवले भने, ‘त्यो जग्गा किनिदिएको भए यो उजुरीसुजुरी केही हुन्थेन । जग्गा नकिनिदिएपछि उनले यो सबै फट्याइँ गरेका हुन् ।’
वीरगञ्ज महानरगपालिका वडा नं ३२ (साविकको चोनी गाविस वडा नं ५ का स्थानीय पासवानविरुद्ध स्थानीय नै आक्रोशित भएका छन् । पासवानकै कारण उद्योग नखुल्ने हो कि भन्ने चिन्ता स्थानीयले गर्न थालेका छन् ।
‘गाउँमा उद्योग आउने भयो भनेर हामी खुशी थियौँ । हामीले त रोजगारी पनि पाउँथ्यौँ नि । तर यो फटाहाका कारण उद्योग नै नआउला कि भन्ने भयो । यसलाई त सामाजिक बहिष्कार गर्नुपर्ने भयो’, अर्का स्थानीय शम्भु महतोले भने, ‘उसले आफ्नो जग्गा बेच्न खोजेको थियो । चौधरी ग्रुपले किनेन । त्यसपछि उसले चौधरी ग्रुपलाई बदनाम गर्न यो सबै कर्तुत गरेको हो ।’
स्थानीयका अनुसार चौधरी ग्रुपले खरिद गरेको जग्गा न सार्वजनिक नै हो, न त्यहाँ मसानघाट छ ।
‘कतिपय सञ्चारमाध्यममा तथ्य नबुझी पासवानकै कुरालाई आधार बनाएर समाचार प्रकाशित गरेका हुन् । मिडियाले पनि कुरै नुबझी त्यो फटाहाको कुरामा विश्वास गरेर समाचार बनाए’, स्थानीय अनिल मण्डलले भने, ‘त्यहाँ कुनै पनि सार्वजनिक जग्गा मिचिएको छैन ।’
महतोले भने, ‘रामआशिषले भनेको मसानघाट पर्सा जिल्लामा नै पर्दैन । त्यो त बारा जिल्लामा कियासोत खोला पारी पर्छ । आफ्नो जग्गा बिक्री भएन भन्दैमा जे मन लाग्यो त्यही बोल्न त पाइएन नि । यसले हाम्रो गाउँकै इज्जतमा धक्का लागेको छ ।’
महतले अगाडि भने, ‘रामआशिषको आरोपपछि मालपोत कार्यालय, नापी कार्यालय र जिल्ला प्रशासन कार्यालयलेसमेत जग्गाको अवस्थाका बारेमा अध्ययन गरेका छन् । फिल्ड बुकको रेकर्ड र फिल्डमै पुगेर पनि वास्तविकता हेरिसकिएको छ तर कहिँ कतै उनले लगाएको आरोप पुष्टि हुँदैन । जिल्ला प्रशासन कार्यालयले गलत विवरण दिने रामआशिष र सम्बन्धितहरुलाई कारबाहीको प्रकृया पनि अगाडि बढाएको छ । यिनीहरु सबै पैसा धुत्नका लागि पल्किएका पात्र हुन् । अहिले लुकीलुकी हिँडेका छन् ।’